News Portal

RBCL को १२० प्रतिशत लाभांश बीमा समितिबाट अस्वीकृत

मोटिभेटन्यूज संवाददाता
२२३ पटक

काठमाडौं – राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रस्ताव गरेर स्वीकृतीका लागि बीमा समिति पठाएको लाभांश अस्वीकृत भएको छ । कम्पनीले आर्थिक बर्ष २०६८/६९ बाट आर्जित मुनाफाबाट १२० प्रतिशत लाभांश प्रस्ताव पेस गरेर स्वीकृतीका लागि बीमा समिति पठाएको थियो ।

कम्पनीको चुक्तपुँजी पुर्याउन पर्ने र अरु आर्थिक बर्षको पनि नाफा नक्सान हेर्न पर्ने भएकाले लाभांश प्रस्ताव अस्वीकृति भएको हा बीमा समितिले जनाएको छ । बीमा समितिले अस्वीकार गरेपछि राष्ट्रिय बीमा कम्पनीले दोस्रो पटक प्रतिवेदन बीमा समितिमा पठाएको थियो । दोस्रो पटकको प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएको कम्पनीले जनाएको छ । दोस्रो प्रतिवेदनमा लाभांश वितरण गर्ने विषय हटाइएको राष्ट्रिय बीमा कम्पनीका एक अधिकारीले बताए ।

बीमा समिति स्रोतका अनुसार राष्ट्रिय बीमा कम्पनीलाई बीमा समितिले नै १२० प्रतिशत लाभांश हटाएर प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि पुनः दोस्रो पटक आर्थिक प्रतिवेदन पेश गरिएको थियो । राष्ट्रिय बीमा संस्थानमा हुँदा राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको मुनाफाबाट हाल कायम रहेका शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिएको थियो । सो प्रस्ताव हटाएपछि उक्त वित्तीय प्रतिवेदन बीमा समितिले स्वीकृत गरेको र अब आर्थिक वर्ष २०६९/०७० को प्रतिवेदन पेश गर्न निर्देशन दिइएको बीमा समितिले जनाएको छ ।

उक्त दुई आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको साधारणसभा हुने जनाइएको छ । बीमा संस्थानबाट छुट्टिएको राष्ट्रिय बीमा कम्पनीले बीमा संस्थानको साधारणसभा हुन नसकेका कारण कम्पनीको समेत साधारणसभा रोकिएको छ ।

राष्ट्रिय बीमा संस्थानमा हुँदासमेत छुट्टै कारोबार गर्दै आएको संस्थाले २०७१ सालमा नयाँ कम्पनीको रुपमा राष्ट्रिय बीमा कम्पनी संस्थापना गरिएको हो । नेपाल सरकार, सरकारको स्वामित्व रहेका कम्पनीहरु, तथा सर्वसाधारण समुहको शेयर लगानी रहेको छ । कम्पनीको कूल चुक्ता पुँजि २६ करोड ६६ लाख २६ हजार ५०० रुपैयाँ रहेको छ ।

बीमा समितिले भने पुरानो कम्पनी भएको र धेरै वर्षअघिको मुनाफा विभिन्न कारणले एकिन हुन नसकेकाले वितरण गर्नुअघि कम्पनीको पछिल्लो आर्थिक विवरण समेतबाट प्रमाणित गर्नुपर्ने अडान राख्दै आएको छ ।

कम्पनीले आर्थिक बर्ष २०६९/७० र ७०/७१ को बार्षिक प्रतिवेदन बीमा समितमा पेश गरेको छ । उक्त प्रस्ताव पनि स्वीकृत भए कम्पनीले छिट्टै बार्षिक साधारण सभा गर्नेछ । उक्त सभाबाट लगानीकर्ताका लागि २८० प्रतिशत बोनस पारित गरि कम्पनीको चुक्तापुँजी १ अर्ब पुर्याउने छ ।

२०७७ मंसीर १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्