News Portal

आमाको ‘एक शब्द’, जो डा. सुभाषका लागि मोटिभेशनल क्याप्सुल बन्यो

रमेश लामिछाने
४६१ पटक

काठमाडौं – आज दाँत तथा दन्तरोगीहरुका लागि एउटा बिश्वासको केन्द्र बनेको छ काठमाडौंको चाबहिलमा रहेको ॐ समाज डेन्टल हस्पिटल । कुनै एक समय यस्तो थियो जब नेपालमा दात तथा मुखको समस्या भएकाहरु यो उपचार महगो छ भनेर उपचार गराउदैनथे।

केही सिमित पैसा भएका नेपाली विदेश गएर उपचार गराउँथे भने अन्यले रोग पालेरै बस्नुपर्ने बाध्यता थियो। महंगी मात्र कारण नभई नेपालमा मुख तथा दन्त रोगको उपचारका लागि उपयुुक्त उपकरणहरु समेत नहुदा समस्या थपिएको थियो। यसैको समाधान खोज्दै बर्दिबासका डाक्टर सुभाष घिमिरेले ‘जस्को दाँत सबल, उस्को जिबन सफल’ भन्ने थिम सहित सुरु गरेका हुन् ॐ समाज डेन्टल हस्पिटल ।

हरेक व्यक्तिलाई सफल बनाउन त्यहाँको समाजको अहम भुमिका हुने बिश्वास राख्ने घिमिरे आफूलाई पनि यहि समाजले डाक्टर बनाएको बताउँछन् । ‘यदि यो समाजले गाउँमा स्कुल नखोल्देको भए मैले पढ्न पाउदिनथे, मेरो बुबाले आफै मेडिकल कलेज खोलेर त मलाई डाक्टर बनाउन सक्नुहुन्नथ्यो ।’ डाक्टर सुभाष भन्छन्, ‘त्यसैले समाजप्रतिको यहि उत्तरदायित्व निभाउन सुरु गरिएको हो समाज डेन्टल हस्पिटल।’

आफूलाई समाजप्रति हरेक नागरिकले योगदान गर्नुपर्छ भन्ने लागेपछि आजपनि समाजकै सेवामा हस्पिटल मार्फत लागिरहेको उनको भनाइ छ। नेपालमा दन्त उपचार सरल हुन नसकेको त्यो परिप्रेक्षमा खुलेको हस्पिटलले आफ्नो स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न स्वास्थ्य शिबिरहरु गर्दै आएको छ ।

ॐ समाज डेन्टल कसरी खुल्यो भन्ने बुझन भने हामी उनको युवाबस्था तिर फर्किनुपर्छ। भारतबाट बिडिएसको अध्ययन सकेपछि उनी नेपाल फर्किए। उनको दुर्भाग्य नेपालमा उनले पढेको संस्थाको डिग्रीको मान्यता नहुने भयो। उनीभन्दा अघिल्लो ब्याचसम्मले त्यहिँबाट पढेर मान्यता पाएपनि उनको व्याचमा भने भारतमा मात्र त्यसको मान्यता रहने भयो। नेपाल आउनुअघि उनले करिब ७ महिना आफ्ना गुरु डा. एमएस राजुसँग उनको हस्पिटलमा काम गर्दै प्रयोगात्मक शिक्षा हासिल गरेका थिए। यहाँ आएर लाइसेन्स लिइ जागिर खान नमिल्ने भएपछि उनले आफ्नो त्यहि ज्ञान प्रयोग गर्दै उपचार गर्न थाले । त्यसपछि सुरु भयो ॐ समाज डेन्टल हस्पिटल ।

त्यतिबेला उनको लाइसेन्स नभएको र त्यसरी उपचार गरेको विषयले ठूलो चर्चा पायो। ती दिन सम्झिदै डा. घिमिरे भन्छन्, ‘मलाइ लाइसेन्सको समस्याले यति पिरोल्यो कि कसैले फोन नम्बर सोध्दा पनि लाइसेन्स नम्बर सोधे जस्तो लाग्थ्यो ।’ पछि त्यो पूरा ब्याचले भारतको अदालतमा मुद्धा लडि जित्यो र त्यो उनको डिग्रीले मान्यता पाउने भयो। उनको त्यो अफ्ट्यारो समयमासँगै उभिने साथी नहुदा सुरुमा एक्लै पनि हस्पिटल चलाउन लागि परे। यो जटिलसमयमै उनलाई आफ्नो अध्यन सक्नुपर्छ र अझै ज्ञान लिनुपर्छ भन्ने लाग्यो र चीन गएर आफ्नो एमडिएसको अध्ययन पूरा गरे। पछि उनी त्यो लामो समय प्रतिक्षित लाइसेन्स पनि लिन सफल भए।

सकारात्मक सोचका धनी घिमिरे हरेक अफ्ट्यारो आफ्नो सफलताको सिढी बनेको बताउँछन् । ‘लाइसेन्स सुरुमै भएको भए म कतै जागिर खान्थे होला । आज मेरो समाज डेन्टल मार्फत सेवा गर्ने यो मौका हुदैनथ्यो ।’उनी भन्छन्, ‘त्यसैले त्यो पनि राम्रो भयो ।’

आफुलाइ धेरैले एमडि नगर्न सुझाब दिएको सम्झिदै उनी अगाडि भन्छन्,‘मलाइ तेरो तल्लो डिग्रीनै मान्यता नपाएर धरापमा परेको छ, अर्को लिएर के गर्छस् भनेर थुप्रै प्रश्न गरियो। म आफूमा दृढ बिश्वास र संकल्प भएका कारण म गएँ र पूरा गरेपछि मसँग धेरै खुसी एकैचोटी भयो ।’ मानिसले आफ्नो कर्म मात्रै गर्ने तर त्यसको नतिजा उसको हातमा नहुने घिमिरेको भनाइ छ। यहि सोचसहित आफू अगाडि बढ्दै गएको र आज यो नतिजा पाएको उनी बताउँछन् । एउटा रुखमा मिठो फल लागेको रहेछ भने त्यसमा सबैले ढुङ्गा हान्ने दृस्टान्त सुनाउदै उनी भन्छन् ,‘यदि चुनौती आयो र कुनै काममा बाधा भयो भने म सफलताको नजिक छु भनेर बुझ्नुपर्छ ।’ जहाँ नराम्रो छ त्यहा मात्रै राम्रोको अस्तित्व भएजस्तै यदि दुख आएन भने सुख पनि नहुने उनको धारणा छ।

दैनिक करिब १८ घन्टासम्म मेहनत गरेको अनुभव उनीसँग छ। यति गरेर आम्दानी राम्रै हुँदा पनि उनी पेशाबाट पूर्णरुपमा सन्तुष्ट हुन भने सकेका छैनन् । हरेक नेपालीको दन्त तथा मुखरोगको उपचारमा पहुँच पुर्याउने र विदेश जानुपर्ने बाध्यतालाई रोक्दै उचित शुल्कमा उपचार गर्ने उदेश्यको साथ खुलेको हस्पिटलले अझै धेरै गर्न बाँकी भएकाले आफू सन्तुष्ट हुने प्रक्रियामा मात्रै रहेको उनको भनाइ छ। यसका अलवा मुख स्वास्थको बारेमा व्यापक जनचेतना जगाउनु पनि हस्पिटलको अर्को लक्ष्य हो।

एउटा मानिस जन्मेदेखिनै मुखमा निर्भर हुने, बाच्नको लागि पनि मुखको प्रयोग गर्ने र हिन्दु संस्कार अनुसार मरेपछि पनि मुखबाटै दागबत्ती दिइने प्रसंग जोडदै उनी भन्छन्, ‘हामीलाई लाग्ने करिब ९० प्रतिशत रोग खानपान र मुखको उचित प्रयोगमा ध्यान दिए ठिक पार्न सकिन्छ भन्ने कुरा जब हरेक नेपाली माझ पुर्याउन सक्छु त्यहि दिन म पेशाबाट पूर्ण सन्तुष्ट हुनेछु ।’ दन्त उपचार महगो छ भन्ने भ्रम चिर्नु, आम जनसमुदायमा रोग लाग्ने कारण र बच्ने उपाय बताइ साबधान बनाउनु र रोग लागिहाले सर्वसुलभ उपचार गराउनु आफूहरुको मुख्य अभिप्राय रहेको उनले बताए।

एउटा सामान्य किसानको छोरो, बर्दिबासबाट काठमाडौं आउनुनै चुनौती हुने समयमा आएर आफूले यति गर्न सकेकोमा भने उनी खुसी छन् । आफ्नो बाल्यकाल स्मरण गर्दै उनी त्यो बेला देखि युवावस्थासम्म अनपढ रहेको बताउँछन् । कक्षा ६/७ सम्म नि उनी राम्रोसँग अक्षर चिनदैनथे। जिनतेन पास हुनेमात्र गर्थे। एकदिन उनको जिन्दगी एउटा मोडमा गएर ठोक्कियो अनी उनलाई पढ्नुपर्छ भन्ने लाग्यो।

‘कक्षा ७ मा पढ्दै गर्दा मेरी आमा सिकिस्त विरामी पर्नुभयो । दुखाई सहन नसकेर बेस्मरी रनुहुन्थ्यो ।’ ती दिन सम्झिदै उनले सुनाए, ‘म पनि आमाको छेउमा गएर रुन्थेँ । त्यतिबेला मलाई लाग्थ्यो म आमाको पीडा कम गर्न सक्थे भने…।’ त्यतिबेलै आमाले उनलाई ‘तँ धेरै पढेर डाक्टर बन्नुपर्छ है’ भनेको कुरा हरेक दिन सम्झिन्छन् । यसले उनलाई पढ्नुपर्नेरहेछ भन्ने त लाग्यो तर प्रयास गर्दापनि केही आउदैनथ्यो। दिन रात गरेर घोक्दै, नयाँ शब्दहरु सिक्दै उनले आफ्नो शैक्षिक स्तर सुधारे। युवाबस्थामा पनि त्यो अल्लारे बानीको केही अवशेष बाँकी भएको उनी सम्झिन्छन। सिनेमा हेर्न जाने, रमाइलो गर्ने, साथीसँग झगडा गर्ने आदि युवाबस्थामा पनि रहिरह्यो । तर आमाको शब्द सम्झिएपछि भने उनलाई आफूले के गरेँ भनेर पछुतो हुन्थ्यो । आइएससी पढ्न थालेपछि उनले यी सबै बानी त्यागेर पढाइमा ध्यान दिन थाले।

समाजप्रति आफू सधै ऋणि रहेको सोच राख्ने घिमिरे सामाजिक सेवामा उतिकै रमाउछन् । कोरोनाको महामारी पछि देशव्यापी रुपमा लकडाउन भएर बिरामी हस्पिटल जान सक्ने अबस्था नभएपछि उनी आफ्नो मोबाइल भ्यान लिएर बिरामीको घर घर पुगि निःशुल्क सेवा प्रदान गरे। सुरुमा एक्लै हिंड्नुपरे पनि पछि भने अरु डाक्टरहरुले समेत उनलाई साथ दिन थाले। यसरी कोहि निस्कन नसकेको अबस्थामा पनि घिमिरे आफ्नो सेवामा निरन्तर लाग्दै अझैपनि विभिन्न ठाँउमा आयोजना हुने स्वास्थ्य सिबिरहरुमा पुग्छन् ।

एकजना युवा युवाजस्तै भएमात्रै देश बन्ने उनको धारणा छ। हाम्रा युवाहरु बुढो जस्तै भएको र चलाएमान हुन नसकेको उनी बताउँछन् । आफ्नो अनुशासनमा रहेर निरन्तर मेहनत, संघर्ष गर्दै युबाहरु अघि बढ्नुपर्ने धारणा राख्छन् । युवाले अबसर छैन भन्नू भन्दा आफै बनाउनपर्ने उनको भनाई छ ।

‘कसैले नहिँडेको बाटोमा आफूले बन्मारा र झार मात्रै कुल्चिने हो भने पछि तपाईँको अनुकरण गर्दै सबै त्यहिँबाट हिड्छन् र त्यहि मुलबाटो बन्छ ।’ युवालाई सम्झाउँदै डा. घिमिरे भन्छन्, ‘तपाईं निरन्तर त्यहि कुरामा धैर्यपूर्वक लागिरहनुपर्छ । बाटोमा पक्कै काँडा हुन्छ, त्यसले कोर्छ तर तिनीहरु क्षणिक हुन्छन् र तिनैले मानिसलाई सफलताको बाटो देखाउने गर्छन् ।’

२०७७ मंसीर २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्