News Portal

२ करोड ‘घुस’ माग्ने सीइओको जागीर ‘चट’

मोटिभेटन्यूज संवाददाता
५७७ पटक

काठमाडौं – दुई करोड घुस मागेको अभियोग लागेका मध्य भोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जागिर चट भएको छ । आयोजनाका सीइओ मणि काफ्लेको जागिर चट भएको हो ।

केही दिनअघि चिनियाँ ठेकेदारका दोभाषे प्रतिनिधि गोविन्द पौडेलसित २ करोड रुपैयाँ मागेको टेप सार्वजनिक भएको थियो । त्यसपछि विवादमा परेका काफ्लेले राजीनामा दिएपछि उनको जागिर चट भएको हो ।

उनले बिहीबार मध्य भोटेकोसी कम्पनीको व्यवस्थापनसमक्ष दिएको राजीनामा स्वास्थ्यको कारण देखाएको कम्पनीका अध्यक्ष हरराज न्यौपानले बताए । ‘उहाँले आफ्नो राजीनामामा स्वास्थ्यको कारण देखाउनुभएको छ,’ न्यौपानेले भने, ‘आयोजना प्रमुखसँग पनि उहाँको कुरो मिलेन ।’

सार्वजनिक भएको टेपमा चिनियाँ सिभिल ठेकेदार कम्पनी ग्वाङ्सीका दोभाषे गोविन्द पौडेलले ठेकेदार काफ्लेलाई दुई करोड दिने भनेका छन् । टेपमा काफ्ले आफैले पैसा मागेको स्पष्ट हुँदैन ।

चिलिमेको सहायक कम्पनीका रुपमा १० वर्षअघि स्थापित मध्यभोटकोसीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजना प्रमुख सुनिल लामा र सीइओ काफ्लेबीचको अन्तरसंघर्षले आयोजनाले गति लिन सकेको छैन । सन् २०१६ को डिसेम्बरमै पूरा भइसक्नुपर्ने यो आयोजना भूकम्प र नाकाबन्दीभन्दा पनि व्यवस्थापनका कर्मचारीबीचको विवाद र झगडाले गति लिन नसकेको हो ।

विद्युत् प्राधिकरणको १०, चिलिमेको ३८, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुका १९.५, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १०, सर्वसाधारणको १५, प्रवद्धक कम्पनीका कर्मचारीहरुको ३.५, कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १ प्रतिशत शेयर छ ।

आयोजनाको सुरु अनुमानित लागत १२ अर्ब २८ करोड रुपैयाँ थियो । आयोजना निर्माणमा ढिलाई हुँदा गत वर्ष नै यसको लागत १४ अर्ब ८४ करोड रुपैयाँ कटिसकेको थियो ।

२०७७ मंसीर २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्