News Portal

के चाहिन्छ सफलताका लागि ? यस्तो छ सुबासको सफलता अनुभव

रमेश लामिछाने
१९६ पटक

काठमाडौं – हामीले सानैदेखि सुन्दै आएको एउटा भनाइ छ, ‘संसारमा शिक्षा महत्वपूर्ण छ र मानिस सफल हुनका लागि पढ्नुपर्छ ।’ त्यसो त शिक्षालाई विकासको पहिलो पुर्वाधार मानिन्छ। मानिस ढुङ्गे युगदेखि आजको बैज्ञानिक समयसम्म आइपुग्न पनि शिक्षा र चेतनाले काम गरिरहेको देखिन्छ ।

नवीनतम सोच र आबिस्कारहरु शिक्षाकै उपज हुन् भन्दा अतिउक्ती नहोला। तर शिक्षा के का लागि लिने ? र किन पढ्ने भन्ने विषयमा सर्वस्विकार्य तर्क पाइदैन । शिक्षाबिद् जोन डिबे भन्छन् , ‘कोक्रो देखि चिहानसम्म मानिसले लिने सबै अनुभव शिक्षा हो ।’ उनका अनुसार यो एउटा जीवनपर्यन्त चल्ने प्रक्रिया हो । व्यक्ति अनुसार शिक्षा लिनुको उद्येश्य फरक हुन्छ । आज हामीले आत्मसन्तुष्टिका लागि लेखपढ गर्ने एक युवाको कथा प्रस्तुत गरेका छौं ।

संखुवासभाका सुबास पराजुली थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कारबाट बिभुसित भइसकेका छन् । नेपालमा बसेर उनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन खेलेको भुमिकाका कारण यी सम्मानहरुको उनी हकदार बनेका हुन् । सुबास खासगरी अङ्ग्रेजी भाषामा आफ्ना सिर्जनाहरु लेख्छन् र नेपालका विभिन्न विषयबस्तुलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने काम गर्छन् ।

साहित्यमा यहि योगदानका कारण उनलाई सन् २०१७ मा फिलिपिन्समा, ‘पेन्टासी बि युनिभर्सल इन्स्पिरेसनल पोइट अवार्ड’, सन् २०१८ मा नाइजेरियामा ‘एपिटोम फर पिस एण्ड लिट्रेचर अवार्ड’, सन् २०१८ मै भारतको ओडिसामा ‘इटर्निटी फर पिस’ र सन् २०१९ मा कोरियामा ‘युथ फर पिस एम्बेस्डर अवार्ड’ प्रदान गरिएको छ। यसका अलवा अन्य थुप्रै उपलब्धिहरु उनले साहित्यको क्षेत्रमा प्राप्त गरेका छन् ।

अङ्ग्रेजी साहित्य र समाजशास्त्रमा मास्टर्स डिग्रीसम्मको अध्ययन गरेका उनी हाल एम्फिलको तयारी गरिरहेका छन् । सानैदेखि लजालु र अन्तर्मुखी स्वभावका उनी पढाईमा भने अब्बल थिए । उनमा शिक्षाक्षेत्रमा केही गर्छु भन्ने सोच सानैबाट थियोे । कक्षा ८ बाट लेख्न सुरु गरेका उनी एउटा कविता प्रतियोगितामा द्वितीय भए । जसले उनीमा म पनि लेख्न सक्छु भन्ने आत्मबिस्वास जन्मायो । कक्षा ९ मा पढदै गर्दा विद्यालयमा गठित रेड्क्रस सर्कलले आयोजना गरेको क्षेत्रिय कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै उनको आजको सफलताको जग बसेको हो। उनलाई अङ्ग्रेजी पढाउने शिक्षक एकदमै अधययनशिल थिए र उनले सुभासलाई सुझाव सल्लाहका साथै आवश्यक मार्गदर्शन र प्रेरणा दिन्थे।

क्याम्पस तह पढ्ने समयमा उनको यो प्रतिभा उल्लेखनीय रूपले विकसित भयो । साथीहरूसँग गफिँदा होस् या अन्य कुनै विषयबस्तुमा, उनी तत्कालै कविता सिर्जना गर्थे र सुनाउँथे। यसरी उनले समय समयमा सुनाएका, फेसबुकमा लेखेका र डायरीमा टिपेका कविताका हरफहरु संकलन गरि उनलाई नै सरप्राइज दिने गरि उनका साथीहरूले पहिलो पुस्तक ‘मिस्टिक मिथ’ प्रकाशित गरिदिए। सन् २०१४ मा पहिलो पुस्तक प्रकाशित भएपछि सन् २०१७ मा उनको ‘सोइल अन पायर’ प्रकाशित भयो भने तेश्रो पुस्तकका रुपमा सन् २०१९ मा ‘सिम्फोनी अफ लाइफ’ प्रकाशित भयो। एउटा लेखकलाई आफ्ना सबै सिर्जना आफ्ना ५ औंला झै बराबर हुने भएपनि आफ्नो दोश्रो कृतिलाई पाठकले बढी मनपराएको र यसले आफूलाई थुप्रै पुरस्कारहरु जिताएकोले यो उनलाई अलि बढी प्रिय छ। आफूले पुस्तक प्रकाशन गर्छु भनेर कहिल्यै नलेखेको तर आत्मसन्तुष्टिका लागि र आफूमा भएका केही भावनाहरु पोखि आफ्ना कठिन समयहरु बिताउनका लागि लेखेको उनको भनाइ छ। यहि क्रममा साथीहरूको मायाले यी पुस्तकहरु प्रकाशित भएको उनले बताए।

आज लेखक, कवि, समालोचक बनेका सुभास कुनै दिन विदेश जाने तयारिमा थिए। तत्कालीन अवस्थाको ट्रेण्डनै त्यस्तै भएकाले विदेश जाने योजना बनेपनि परिवारको जेठो छोरो भएकाले घरायसी जिम्मेवारी बहन गर्नुपर्दा त्यो रहर उनले पूरा गर्न पाएनन् । आज उनलाई त्यतिबेला विदेश जान नपाएकोमा भने दुखेसो छैन। साहित्यिक कार्यक्रमहरुका लागि नै देश विदेश घुमेका उनी विदेश त घुम्ननै जाने ठाउँ रहेछ भन्ने बुझेको र काम आफ्नै देशमा गर्नुपर्छ भन्ने धारणा विकसित भएको बताउँछन् । लेखकका अलवा उनी शिक्षाकर्मी तथा समाजसेवी पनि हुन् ।

उनी सहितको समूहले लगनखेलमा सुरु गरेको एम्स कलेजले गौरवमय २५ बर्ष पूरा गरिसकेको छ। सुरुमा जीवनयापनका लागि एउटा पेशा लिनुपर्ने हुँदा शिक्षण छानेको भएपपनि पछि त्यसमै भिज्दै जाँदा यहि क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेपछि उनी उक्त कलेजको प्रोमोटरका रुपमा क्रियाशिल बनेका हुन् । विभिन्न अतिरिक्त क्रियाकलाप र च्यारिटि सोहरु समेत आयोजना गर्ने यो कलेजले विद्यार्थी तथा आफूहरुसँग आबद्ध इच्छुक विदेशीहरुलाई स्वयमसेवामा संलग्न गराइ उठेको कोषबाट बिपन्न परिवारका विद्यार्थी पढाउने तथा अन्य सामाजिक संघ संस्थासँग समन्वय गर्दै देशका विभिन्न ठाँउमा पुस्तकालय स्थापना गर्ने कार्य गरिरहेको छ।

एउटा व्यक्तिलाई लेखक बन्न के के चाहिन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘धेरै चिज चाहिन्छ, पहिलो कुरा त तपाई अध्ययनशिल हुनुपर्छ, कुनै पनि विषयमा पर्याप्त अनुसन्धान नगरी लेख्न सकिन्न । सँगै बजार व्यवस्थापनको समेत सीप हुनु जरुरी छ ।’ आफूजस्ता अङ्ग्रेजी भाषाका लेखकलाई अझ धेरै समस्या रहेको उनी बताउँछन् । ‘द्वितीय भाषाको रुपमा बोलिने हुँदा सबैसँग त्यो भाषाको पहुँच हुदैन । त्यसैले त्यसको मेसेज डेलेभरीमा समस्या आउँछ’, उनले अगाडि भने। आफूले ४/५ वटा नाटक तयार पारेपनि भाषाको यहि समस्याका कारण मन्चन गर्न नसकेको उनको भनाइ छ।

यसका बापजुद आफूले एउटा उपन्यास लेखिरहेको र सन् २०२२ सम्ममा त्यो तयार गर्ने पनि उनले जानकारी दिए। भाषाको यो समस्याले गर्दा विदेशमा उनलाई जतिले चिन्छ्न् त्यतिले स्वदेशमा नचिन्ने समेत समस्या छ। पछिल्लो समयमा भने पठन संस्कृति बढदै गएकाले उनी सुनौलो भविश्यप्रति आशावादी छन् ।

भद्र र शालिन स्वभावका सुभास यत्तीलाई आफ्नो सफलता मान्न भने तयार छैनन् । आफूले अझ धेरै गर्न बाँकी रहेको र शिखरसम्म नपुगी आफू सफल भएको नसोच्ने उनको भनाइ छ। तर पनि आत्मसन्तुष्टिका लागि लेख्ने व्यक्ति भएको हुँदा पूर्णरुपमा पेशाबाट उनी सन्तुष्ट छन् । एउटा लेखक सफल हुनचाँही के गर्नुपर्छ भन्ने मोटिभेट न्युजको प्रश्नमा उनी भन्छन्, ‘बाढी आएझै सिर्जना गर्नुभन्दा पर्याप्त अनुसन्धान गरेर, समय लिएर गुणस्तरिय पुस्तक निकाल्नु राम्रो हुन्छ ।’

सस्तो लोकप्रियताका लागि लेख्दा केही समयमै हराइने तर ‘एस्थेटिक व्युटी’ लाई ध्यानमा राख्दै पुस्तक तयार गरे त्यसले राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याती दिलाउने र कालान्तरसम्म जिवित राख्ने उनको भनाइ छ।

साहित्यलाई आफूले कहिल्यै कमाउने पेशाको रुपमा नलिएको हुँदा मुलपेशा शिक्षणलाई निरन्तरता दिइरहेको उनको भनाइ छ । यसो गर्दा कहिलेकाँही लेख्न पर्याप्त समय नहुने, साथीभाइ तथा अन्य अवसर गुमाएको जस्ता समस्या र अनेक तितामिठा अनुभव बटुलेको उनको भनाइ छ। तर केही नगुमाइ केही पाइन्न भन्ने भनाइसँग सहमत हुँदै उनी अघि बढेका छन् । जे भएपनी नेपाली साहित्यलाई आफूले थोरै भएपनि अन्तर्राष्ट्रिय स्तरमा लान सकेकाले उनी खुसी छन् ।

जीवन कहिले ‘मिथ अफ सीपीस’ को चरित्र जस्तो त कहिले ‘अल्केमिस्ट’ र ’राइड टु द सी’को चरित्र जस्तो लाग्ने हुँदा यो अनुभव पनि समयअनुसार फरक फरक हुने उनको धारणा छ। युवाहरूलाई देशको गहनाको संज्ञा दिने उनी अब युवाहरुले संस्कृतिक क्रान्ति गर्नुपर्ने बताउँछन् । इकोटुरिजम, कल्चरल टुरिजम जस्ता नयाँ आइडियाहरुको उदाहरण दिदै उनी सम्भावनाको देशमा आफूहरु रहेकाले त्यसलाई समात्न युवाहरुलाई आग्रह गर्छन् ।

२०७७ पुष १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्