News Portal

१९ बर्षिया प्रतिभाको लोभलाग्दो सफलता

रमेश लामिछाने
८५ पटक

काठमाडौं – धेरै नेपाली अभिभावकहरु आफ्ना छोराछोरीले पढेनन् भनेर गुनाशो गरिरहेका हुन्छन् । अझ आफ्ना बालबालिकाले खेलेको देख्दा त उनीहरुलाई समय खेर फालेझै लाग्छ । एकोहोरो रूपमा पढाईलाई मात्र केन्द्रमा राख्दा हामी खेलकुदले उनीहरुको शारीरिक, मानसिक र सामाजिक विकासका लागि खेल्ने भुमिकालाई भने नजरअन्दाज गरिरहेका हुन्छौं ।

खेल्ने मानिस शारीरिक रुपमा तन्दुरुस्त हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीसँगै राम्रो आम्दानी गर्न समेत सफल भएका छन् । यसको मतलब पढाई छोडेर पुरै समय खेलकुदमा लाग्नुपर्छ भन्ने पक्कै होइन । नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको सफलता देखेर खेलकुद प्रति आशावादी बनेको नेपाली समाज सन् २०१९ मा आफ्नै देशमा चेलीहरुले खेलेको रोमाञ्चक भलिबल खेलबाट उत्साहित भयो । नेपाली भलिबल खेलाडीहरुले व्यापक समर्थन पनि पाए । फाइनलसम्मको यात्रा तय गरेको नेपाली महिला भलिबल टोलीको त्यो रहर लाग्दो प्रदर्शनले नेपाली समाजले महिला खेलकुदलाई हेर्ने दृष्ट्रिकोण नै परिवर्तन गरिदियो। त्यहि खेलकि एक सदस्य थिइन् प्रतिभा माली।

नैकाप काठमाडौंकि प्रतिभा माली हाल १९ बर्षकि भइन् । राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उनी आफ्नो स्नातक तहको अध्ययन गर्दै छिन् भने आफ्नो खेल कर्मलाई पनि निरन्तरता दिइरहेकी छिन् । भलिबल खेलेर आफ्नो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सपना भएकि उनी भलिबलनै आफ्नो करियर भएको बताउछिन् । आफू आज सफल खेलाडी बन्नुमा आफ्नो भन्दा धेरै भुमिमा आफ्नो कोच कुमार राइको भएको उनको भनाइ छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो उदेश्य बाट बिचलित नभएका उनका कोचले उनी जस्तै थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन् । उनले आफ्नो विद्यालयकै नामबाट ‘न्यु डायमण्ड स्पोर्ट्स क्लब’ दर्ता गरि भलिबल प्रशिक्षण दिइरहेका छन् ।

प्रतिभाको आजको सफलताको जग तिनै कुमार राइले कक्षा २ मा पढ्दै गर्दा बसाली दिएका हुन् । करिब ७/८ बर्षकि प्रतिभाको अग्लो शारीरिक बनावट देखेपछि उनलाई भलिबल खेलाडी बनाउने रहर कुमारको मनमा पलायो अनि उनले प्रतिभालाई फकाएर भलिबल खेलाउन थाले । सानो उमेरमा जो सुकै पनि खेल्न रुचाउने भएकाले प्रतिभा पनि बिस्तारै रमाउन थालिन् र खेलप्रति आकर्षित भइन् । सानोमा आफू के गरिराछु भन्ने थाहा नभएपनि रमाइलो लागेर खेलेको बताउने उनी बिस्तारै अन्तर विद्यालय प्रतियोगिताहरु जित्दै नेशनल लिग र राष्ट्रिय टिमसम्मको यात्रा गर्न पाउँदा भने गौरवान्वित छिन् ।

यो लामो यात्रा अघि झिनो अन्तरले आफुहरुले थुप्रै खेल हारेपनि आफ्ना प्रशिक्षकले कहिल्यै निराश हुन नदिएको उनको भनाइ छ। खेल हो यहाँ हारजित अबस्य हुन्छ भनेर सधै सम्झाउदै सबै खेलाडीलाई एकताको सुत्रमा बाध्ने कुमारले खेल र पढाईलाई सँगसँगै लान उनीहरुलाई सधै प्रेरित गरिरहे ।

छोरी मान्छेले खेल्नु हुन्न भन्ने नेपाली समाजको सोचले तपाईंलाई अफ्ट्यारो पारेन भन्ने हाम्रो प्रश्नमा प्रतिभा भन्छिन्, ‘यस्तो सोच राखिनु पक्कै दुःखद छ। तर मेरो परिवारले कहिल्यै त्यस्तो कुरा गरेन । हजुरबुवाले सुरुवातमा खेलकुद छोरीका लागि होइन भनेपनि पछि मैले खेलेको देखेर मान्नुभयो । बाबा ममिले त मलाइ सधै सपोर्टनै गर्नुभयो ।’ उनका अनुसार अवसर दिने हो भने छोरीहरुले पनि गर्न सक्छन् भन्ने कुरा अहिले प्रमाणित भएको छ।

पछिल्लो समय खेलक्षेत्र पनि व्यवसायिक बन्दै गएकाले खेलाडी भएरै बाच्न सकिने अबस्था सिर्जना भएको उनको बुझाइ छ। धेरै खेलाडीहरुले आज पुलिस, आर्मी र सशस्त्र जस्ता विभागीय टोलीहरुमा खेलाडीकै रुपमा जागिर पाएको उदाहरण दिदै उनी रेफ्रि, कोच भएर अन्य क्षेत्रमासमेत काम गर्न सकिने धारणा राख्छिन् ।

‌हरेक व्यक्तिमा लुकेर रहेका हजारौं प्रतिभाहरु उपयुक्त वातावरण नपाउदा हराएर जाने गरेको उनको बुझाइ छ। आफ्नो प्रशिक्षकको योगदानको प्रसंग दोहोराउदै उनी भन्छिन्, ‘सायद म सँग पनि खेलकुदको प्रतिभा रहेछ क्यारे मैले न्यु डायमण्ड एकेडेमी जस्तो उपयुक्त स्थान र कुमार सर जस्तो कोच नपाएको भए त्यो त्यसैगरी हराएर जान्थ्यो कि ?’ त्यहि हुनाले एउटा बालकमा भएको जन्मजात प्रतिभा बेलैमा चिनेर त्यसलाई प्रस्फुटन गराउन तिर अभिभावकहरु लाग्नुपर्ने उनको भनाइ छ।

यो स्थानमा आइपुग्न उनले केही त्यागहरु पक्कै गरेकी छिन् । सबैभन्दा महत्त्वपूर्ण हरेक बालबालिका स्कुल सकेपछि घर गएर खाजा खाने अनि खेल्ने गर्छन् । उनीहरु बिदाको समयमा विभिन्न नयाँ ठाउँ घुम्न जान्छन् । तर प्रतिभा र उनका खेलाडी साथीहरू भने स्कुल छुटेपछि पनि घर जाने नभइ अबेरसम्म स्कुलमै खेल सिकेर बस्थे। यसरी आज हामीले देखेको सफलताका लागि प्रतिभाले आफ्नो बालापनका रमाइला पलहरु त्यागेकि छिन् भने उनका कोच कुमारले नमान्ने अभिभावकहरुलाई मनाउने र ति साना बालबालिकाको जिम्मा लिइ घर–घर पुर्याउने पनि काम गरेका छन् ।

नेपाली खेलकुद क्षेत्र बिस्तारै आशावादी बन्दै गएको भएपनि केही ठूला कमजोरीहरु अझै रहेको प्रतिभाको बुझाइ छ। १२ औ दक्षिण एसियायी खेलकुदमा आफूहरुले कास्य पदक जितेको भएपनि त्यसपछि भएको एसियायी खेलकुदमा आफूहरुलाई सहभागी नगराइएको उनको दुःखेसो छ । सायद बजेटको कारण यसो भएको होला भन्ने उनलाई लाग्छ। त्यसबाहेक अन्तर्राष्ट्रिय लिगहरु खेल्न नपाउनु पनि नेपाली खेलाडीहरुका लागि दुःखद भएको उनको भनाइ छ । भलिबलकै तालिमको लागि नेदरल्यान्डस् पुगेकि उनी त्यहाँबाट फर्केपछि अझै बढी आशावादी भएकि हुन् ।

नेपाल सरकारले भर्खरै नियुक्त गरेका खेलकुद मन्त्रीले अब भलिबलको विकासका लागि के गर्नुपर्ला भन्ने मोटिभेट न्युजको प्रश्नमा उनी भन्छिन्, ‘पहिलो कुरा त भलिबलको आफ्नै कभर्डहल छैन, त्यो बनाउनुपर्यो, विद्यालय स्तरका प्रतिस्पर्धाहरु एकदम कम भएका छन् त्यसलाइ बढाउनुपर्यो, विभिन्न समूहका अन्डरएज टिमहरु बनाइ प्रतिस्पर्धा गराउनु पर्यो ।’ राष्ट्रिय खेल घोषणा गरिएपपनि देशमा कतिपय ठाँउमा भलिबल के हो ? र यो कसरी खेलिन्छ भन्ने समेत जानकारी नभएको हुँदा तालिम प्राप्त कोचहरु ती स्थानहरुमा पठाएर प्रशिक्षण दिन पनि उनी सरकारलाई सुझाव दिन्छिन् ।

जनस्तरमा भने पछिल्लो समय खेल र खेलाडीलाई माया र सम्मान गर्ने ट्रेण्ड बस्दै गएको उनको बुझाई छ। केही समय अघिसम्म खेलाडीको घाइते भएपछि भविश्य सकिने हुँदा पूर्णकालिन रुपमा खेलकुदमा लाग्नु हुदैन भन्ने गलत मान्यता भएपनि अहिले त्यो नरहेको उनको भनाइ छ। आफ्नै उदाहरण दिदै उनी अगाडि भन्छिन् ‘२०७६ साल माघ महिनामा ५ औं एनभिए च्याम्पियनसिप खेल्दै गर्दा म इन्जुअर्ड भएँ र मैले सर्जरी गर्नपर्ने भयो। त्यतिबेला खेलप्रेमीहरुले म प्रति देखाउनुभएको माया र सहानुभूति देखेर साच्चै खेलाडी अब सम्मानित हुने दिन आएछ्न् जस्तो अनुभव भयो ।’ जति धेरै प्रतिस्पर्धा भयो त्यति राम्रो टिम बन्ने बिश्वास राख्ने प्रतिभा देशब्यापी रुपमा खेलहरु आयोजना हुनुपर्ने भनाइ राख्छिन् ।

बर्तमान समयमा नेपाली युवायुवतीहरु ‘इलेक्ट्रोनिक ग्याजेट्स’ मा मात्रै रमाउने भएको हुँदा उनीहरुको शारीरिक मानसिक विकासमा असर परेको उनी बताउछिन् । यसरी यी चिजहरुमा भुलिनुको सट्टा आफूलाई मनपर्ने कुनै एक क्षेत्र लाल्ग उनी आग्रह गर्छिन् । उनी संगीत, नृत्य, खेलकुद वा अन्य कुनै क्षेत्रमा लाग्न युवाहरुलाई सल्लाह दिन्छिन् । नवप्रबेसी खेलाडीहरुलाई उनी यो क्षेत्रमा सफल हुन उपयुक्त खानपान, सयन, निरन्तरको मेहनत र खेलका स्किलहरु बुझ्न सुझाव दिन्छिन् । यो सानो उमेरमै यति ठूलो सफलता हात पारेकी उनको जीवन जो कोहिलाई पनि प्रेरणाको स्रोत हुनसक्छ ।

२०७७ पुष १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्