
काठमाडौं– कोरोना प्रभावित उद्योग–व्यवसायका पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पुर्याउन अर्थ मन्त्रालयले प्रक्रिया सुरु गरेको छ ।
उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले कोभिड–१९ का कारण क्षति भएको अर्थतन्त्रको पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको पहुँच लक्षित वर्गमा पुर्याउने निर्णय गरेको हो । बैठकले लक्षित वर्गमा कर्जा पुर्याउनका लागि नेपाल राष्ट्र बैँङ्क र नेपाल बैङ्कर्स एसोसिएसनले आवश्यक वातावरण मिलाउने र प्रवाह गरिएको कर्जाको विवरण नियमित रूपमा सार्वजनिक गर्ने बताएको छ ।
बैठकले नेपाल राष्ट्र बैङ्कलाई सहुलियतपूर्ण कर्जाको प्रभावकारिताको अध्ययन गरी अर्को बैठकमा पेस गर्ने निर्णय गरेको छ । बैठकमा १५औँ योजनाले तय गरेको लक्ष्यअनुरूप प्रगति हासिल भएनभएको बेहोरासहित प्रस्तुति गर्ने निर्णय पनि भएको छ ।
बैठकले समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि ल्याइएका नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि सरोकारवाला निकाय र सङ्गठनमार्फत आएका गुनासाको सुनुवाइ गर्न राष्ट्र बैङ्क, बैङ्कर्स एसोसिएसन र सम्बद्ध व्यावसायिक सङ्घ–सङ्गठनबीच छलफल गरी समाधान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
बैङ्किङ पहुँच नपुगेका चार स्थानीय तहमा यथाशीघ्र तोकिएको बैङ्कको शाखा स्थापना गर्ने व्यवस्था नेपाल राष्ट्र बैङ्कले अनिवार्य रूपमा मिलाउने, नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएको हालको प्रवृत्ति, यसको स्थायित्व र यसले समग्र पुँजी बजारमा पार्ने प्रभावको सूक्ष्म रूपमा विश्लेषण गरी नियमित रूपमा अद्यावधिक गर्ने निर्णय पनि गरेको छ ।
२०७७ पुष १८ गते प्रकाशित
