News Portal

गाउँबाट भागेर काठमाडौं आएका राईको सफलता, सिँडीको बासदेखि प्रशिक्षकसम्म

रमेश लामिछाने
५५ पटक

काठमाडौं – पछिल्लो समय नेपालमा भलिबल खेल निकै लोकप्रिय बन्दै गएको छ । केही बर्षअघि राष्ट्रिय खेल घोषणा भएपछि त यसको गरिमा अझै बढेको छ। सन् २०१९ मा नेपाली महिला भलिबल टोली साफ गेमको फाइनलसम्म पुगेर उत्कृष्ट पर्दशन गरेपछि त झन यसको चर्चा एकाएक बढेको छ।

महिलाले खेल्नु हुँदैन भन्ने परम्परागत सोच राख्ने नेपाली समाजका कतिपय मानिसहरुसमेत यो खेलपछि खुलेर त्यसको समर्थनमा लागेका छन् । भलिबलको आफ्नै एउटा कभर्ड हलसमेत नभएको देशमा खेलाडी र प्रशिक्षकहरु भने आ – आफ्नो तहबाट यो खेलको विकासका लागि लागिपरेका छन् । भलिबलको विकासमा लागि आफ्ना जीवनलाई समर्पित गरेका व्यक्ति हुन् संखुवासभाका कुमार राई । उनले धेरै राष्ट्रिय भलिबल टिमका खेलाडीहरु जन्माइसकेका छन् ।

काठमाडौं नैकापमा रहेको ‘न्यु डायमण्ड एकेडेमी’ का प्रिन्सिपल उनी खेल क्षेत्रकै विकासका लागि समर्पित छन् । आफ्नो विद्यालयकै नामबाट न्यु डायमण्ड स्पोर्ट्स क्लब दर्ता गरेर विशेषगरी भलिबल खेलमा समर्पित राई हामी पुग्दा आफ्ना छात्रा विद्यार्थीहरुलाई प्रशिक्षण दिइरहेका थिए । सबै उमेर समूहका विद्यार्थी राखेर उनी प्रक्षिक्षण दिँदै थिए। राष्ट्रिय टिमकि खेलाडी तथा उनकै विद्यार्थी प्रतिभा माली कक्षा ५ सम्मका विद्यार्थीलाई सिकाउदै थिइन भने उनी त्यो भन्दा माथिल्लो उमेर समूहकाहरुलाई सिकाउदै थिए। प्रतिभा जस्ता थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गरेको यो एकेडेमीमा सबै खेलाडीहरुले यसैगरी आफ्नो खेल सीप विकास गरेको उनको भनाइ छ।

आजका प्रशिक्षक राई आफूले भने मोजाको बल खेलेर सिकेका हुन् । त्यतिबेला भलिबल नहुँदा उनीहरु मोजामा कपडा र कागज खाँदेर त्यसलाई सिलाएर खेल्ने गर्थे। संखुवासभामा खेतिपातीको काम धेरै भएर काम गर्दा गर्दा थाकेपछि भागेर काठमाडौं आएका राईको संघर्ष र सपनाको पाटो उत्तिकै रोचक छ।

ब्रिटिस लाउरेको परिवारमा जन्मिएका उनी पाँच सन्तान मध्य काँइला हुन् । गाउँमा खन्ने जोत्ने काममा उनको रुची थिएन । उनी गाउँ छोडेर अरु केही गर्ने सोचमा थिए। एसएलसी दिएको बर्ष उनी जसरी पनि काठमाडौं आउने योजनामा लागे र बुबालाइ खुसी पार्न असार ९ गतेदेखी साउन १७ गतेसम्म खेतमा निरन्तर काम गरिरहे। १७ गते रोपाईँको मैजारो गरेपछि उनका बुबाले उनलाई राम्रो लुगा किन भनेर एकहजार रुपियाँ दिए । उनी गाउँ छोड्ने योजनामा भएकाले बजार गएर लुगा किन्नुको साटो प्लेनको टिकट लिएर आए। त्यसको केही दिनपछि घरमा सिलाउन दिएको कपडा लिन जान्छु भनी बजार आए र आफ्ना छिमेकी साथीसँग फाटेको पाइन्ट र चप्पलमा काठमाडौं छिरे।

काठमाडौं आएर एयरपोर्टमा तिनै साथीका आफन्तको मा बस्न थाले। पढ्न भनी प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पस भर्ना भएका उनको बिस्तारै राजनीतिले ध्यान तान्यो। गरिबको पार्टी भन्ने सुनेर नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनले त्यसलाई निरन्तरता भने दिन सकेनन्। ती दिन सम्झिदै उनी भन्छन्, ‘कम्युनिस्ट हुने बित्तिकै खान पाइन्छ भन्ने लागेर राजनीतिमामा लागिएको थियो तर त्यसको फल पाउन प्रतिक्षा गर्नुपर्ने रहेछ, जुन मेरा लागि सम्भब थिएन ।’ त्यसपछि थानकोट बस्न पुगेका उनलाई एकजना साथीले पढाउने जागिर लगाइदिने प्रस्ताब राखे। त्यहाँबाट औपचारिक रुपमा शिक्षण पेशा अंगालेका राइले त्यसपछि नैकापकै ‘ब्राइट फ्युचर स्कुल’ मा करिब १२ बर्ष पढाए भने त्यहाँ एउटा बलियो भलिबल टिम पनि तयार पारे। त्यसपछि भने उनलाई अब आफैले केही गर्नुपर्छ भन्ने लाग्यो र अन्य ४ जना उस्तै सोच राख्ने साथीहरू सहित सुरु गरे ‘न्यु डायमण्ड एकेडेमी’।

‌उक्त विद्यालय खुलिसकेपछि पनि राइले शिक्षा जतिनै जोड खेलकुदमा दिन थाले। २०६२ सालमा केटाहरुको समूह बनाइ भलिबल प्रशिक्षण सुरु गरेका उनले यो समूहले लय समाउन नसकेकाले निराश हुँदै अथ्लेटिक्स गराउन तिर लागे। उनको रुचीको विषय भलिबलनै भएकाले होला सायद यसले उनलाई सन्तुष्टि दिन सकेन। त्यसपछि २०६४ सालमा बिधिबत रुपमा केटीहरुको समूह बनाइ भलिबलकै प्रशिक्षण सुरु गरे। त्यतिबेला रमिला तण्डुकार, रेश्मा भन्डारी, प्रतिभा माली लगायतको समूह बनेको थियो। अभिभावकहरुले पनि त्यतिबेला सजिलै भलिबल खेलाउन नमानेको स्मरण गर्दै उनी आफूले जिम्मा लिएर, घरसम्म लिन जाने र पुर्याउन जानेसम्मको दुःख गरेको सुनाउछन् ।

आफू दिनभर बारि जोतेर पनि बेलुका एकछिन बल समाउन पुग्ने गरेको स्मरण गर्दै उनी ‘चिल्ड्रेन आर प्लेफुल किड्स’ भन्ने अङ्ग्रेजी भनाई सँग सहमत भएको उनी बताउँछन् । त्यसैले खेल्नु हुँदैन भन्ने मानशिकता परिवर्तन गर्नुपर्ने उनको धारणा छ।

उनको बाल्यकालिन खेलकुद पनि रोचकनै छ। मोजाको बल खेल्ने उनलाई एकदिन एकजना सिङापुरे लाउरेले भलिबल ल्याइदिए। त्यो भलिबल पाउँदाको क्षण साच्चै जीवनमा आफू सबभन्दा खुसी भएको दिन रहेको उनको भनाइ छ। त्यसको केही समयपछि उनलाई अर्का एकजना लाउरेले नेट ल्याइदिए। यी सामानहरु उनले आफ्नो ज्यान भन्दा प्यारो गरि जतन गरेर राख्थे। कक्षा ६ पढ्दादेखि भलिबल खेल्न पाएका उनले तत्कालिन अबस्थामा बिरेन्द्र सिल्ड जस्तो महत्त्वपूर्ण पदक भएको गेम खेल्न पाए। त्यसैले उनी ती बल र नेट दिने लाउरेहरु प्रति आजपनि आभारी छन् ।

भलिबलमा न्यु डायमण्डले एउटा नयाँ आयाम ल्याउन सफल भएको चर्चा गर्दै आफ्नो सपना भने अझै पूरा नभएको उनी बताउँछन् । उनको यो क्लब धेरै दर्शकले माया गर्ने क्लब हो। आजपनि उनीहरु पोखरा लगायतका पश्चिम भेगतिर जाँदा अनगिन्ती खाजाका अफरहरु आउने र त्यो क्षेत्रमा छुट्टै किसिमको सम्मान रहेको उनको भनाइ छ। थुप्रो संघर्ष गरेर आज उभिएको न्यु डायमण्डको कमजोर भौतिक अबस्था परिबर्तन गर्ने उनको अधुरो चाहना छ। यसका अलवा युरोपियन स्टान्डर्डका खेलाडी उत्पादन गर्ने, अन्तर्राष्ट्रिय गेमहरुमा आफ्ना खेलाडीहरु पठाउने र अन्तर्राष्ट्रिय लिगहरु आयोजना गर्ने महत्वाकांक्षी योजना छ उनको। मोटिभेट न्युजसँगको कुराकानीमा सफल हुनु नहुनु फरक पाटो भएपनि आफू अन्तिमसम्म प्रयासरत रहने उनले बताए ।

करियर बनाउने क्रममा भुइँमा सुत्नुपरेको दुखान्त पनि राईसँग छ। बुबाले आफूलाई जहिल्यै ‘कुमार शहरमा पैसा चाहिँ सापटी नदिनु है’ भनेको भएपनि अर्काको दुःख देख्न नसक्ने वानीले धेरै दिन आफू भोकै बस्न बाध्य परेको उनी सम्झिन्छन। भागेर काठमाडौ आएका उनलाई मित दाइले परिवारसँग कुरा गरेर केही सहज वातावरण बनाइदिए। आकाशवाणी मार्फत पढ्न आएको रैछ होस् पढोस् मित्बुबा भनेर खबर पठाएपछि मितेरी साइनोलाई बहुतै आदर गर्ने उनका बुबाले उनलाइ पैसा पठाइदिन थालेका थिए।

भोजपुर तिरका एकजना राई भेटेपछि उनलाई आफ्नो मावली भोजपुर भएकाले मामाकै छोराजस्तो व्यबहार गर्न थाले। उनकै कोठामा केही दिन खाने बस्ने भएपछि ती साथीले बुबाले पठाएको दश हजार रुपियाँ २ दिनका लागि भनेर मागे । कुमारले पैसा दिएको पर्सिपल्ट कोठा सरेर ती साथी अन्तै भागेपछि उनको विचल्ली भयो। ‘न खाने बस्ने व्यवस्था, न पैसा’ करिब ३ महिनासम्म उनले बहुत दुःख गरेर कहिले साथीको मा खाने कहिले भोकै बस्ने गर्नुपर्यो। ती पैसा लिएर भाग्ने दाइसँग उनको धेरै समयपछि भेट भयो । त्यो पनि वीर अस्पतालमा । उनकि श्रीमतीलाई त्यहाँ भर्ना गरिएको थियो । उनको आर्थिक अवस्था नाजुक थियो । त्यसवला कुमारलाई त्यो पैसा फिर्ता माग्नुभन्दा बरु भए थोरै सहयोग गर्नपाए हुन्थ्यो भन्ने लाग्यो। यसरी उनले यो विरानो शहरको चिसो रात र भोको पेटकोसमेत अनुभव लिएका छन् ।

राष्ट्रिय भलिबल टोलिकि स्पाइकर प्रतिभा माली भेट्न डायमण्ड एकेडेमी पुगेका हामी उनलाई भेटेर, उनको कथा सुनेर साच्चै आफै उत्प्रेरित भएका छौं । अरुको दुख देख्न नसक्ने उनी आजपनि कति विद्यार्थीलाई निशूल्क शिक्षाका साथै भलिबल प्रक्षिक्षण पनि दिइरहेका छन् । सुरुवातमा प्रयास गरिदिने व्यक्ति जहिल्यै ओझेलमा पर्ने गुनासो पनि उनीसँग छ। हामीलाई इङ्कित गर्दै उनले भने, ‘तपाईँहरु पनि खास प्रतिभालाई नै भेट्न यहाँ आइपुग्नुभएको हो। खास यहाँ ठूलो लगानी गरेर प्रतिभा जस्ता खेलाडी उत्पादन गरेको म र मेरो भुमिका त डुङ्गा तार्ने माझी जस्तै न हो।’ उनको यो भनाइमा सत्यता पनि छ।

हामीले पनि प्रतिभाकै मुखबाट उनको योगदानको कुरा सुनेपछि उनीसँग कुरा गरेका थियौं । तर पनि कुमार आफूबाट प्रशिक्षित खेलाडीले गर्ने हरेक प्रगतिलाई नै आफ्नो प्रगती मान्छ्न् । ‘हरेक छोरीलाई जन्मने, बिबाह गर्ने र छोराछोरी पाउने काम जसले नी गर्छ’, कुमार भन्छन्, ‘एकचोटी पाइने यो मानव चोलामा केही फरक र देशले नै गर्ब गर्ने काम गर्नपर्छ ।’

साँच्चै कुमार जस्ता अरुपनि निस्वार्थ सेवा गर्ने र आफ्नो देशलाई माया गर्दै देशमै केही फरक काम गर्ने व्यक्तिहरु अरु पनि हुँदा हुन् त यो समाज कति सुन्दर हुन्थ्यो होला ?

२०७७ पुष १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्