News Portal

गरिवी र अग्रजको अपमानले कवि बनेका प्रज्जवल

रमेश लामिछाने
५४ पटक

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक बर्ष राष्ट्रिय स्तरको कविता प्रतियोगिता आयोजना गर्छ। यो प्रतियोगितामा भाग लिने देशभरका कविहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाउनुका साथै देशभर चिनिने अबसर पनि पाउछन् । यो बर्ष आयोजना भएको सो प्रतियोगितामा कवि भैरवी भुगोल प्रथम, कवि प्रज्जवल अधिकारी द्वितीय भए । यी मध्य तिनै द्वितीय स्थान हासिल गर्न सफल कवि प्रज्जवल अधिकारीको संघर्ष र सफलताको कथा आज हामी प्रस्तुत गर्दैछौं ।

लम्जुङका अधिकारीले जानेरै कविता लेख्न थालेको केही बर्ष मात्र भयो । यद्यपि आफ्नो अबचेतन मस्तिष्कले साहित्य प्रति सानैदेखि रुची देखाएको रहेछु भन्ने उनलाई जब माध्यमिक तह पढ्ने समयको आफ्नो एउटा डायरी पर्छ तब थाहा हुन्छ । सानैदेखि सिर्जनशिल र अध्ययनशिल स्वभावका उनले लमजुङ स्थित सर्बोदय माबिमा प्लस टु टप गरे । त्यसपछि पढ्ने उनको चाहना घरको आर्थिक स्थितिका कारण तत्काल पूरा हुन सकेन। ती दिन सम्झिदै उनी भन्छन्, ‘गाउँमा धेरै घरहरु टिनको छाना सहितको हुँदा पनि हाम्रो भने खरको थियो। बुबाले यता गाउँमै पढ् भन्नुभएको थियो तर मलाइ भने काठमाडौं आएर अबसरको खोजी गर्ने रहर थियो। यसो हुँदा मैले आफ्नो एक बर्ष लस गर्नुपर्यो। अरु साथीहरू स्नातक पहिलो बर्ष पढ्दा म भने गाउँमै अल्मलिरहे ।’ त्यसको १ बर्षपछि भने उनका कान्छा काकाले जागिर पनि लगाइदिने भन्दै उनलाई काठमाडौं ल्याए।

काठमाडौं त आए तर उनले पाइहाल्ने अबसर यो बिरानो सहरमा केही थिएन। पढ्न र सहरमा बाच्नका लागि उनले काम त गर्नैपर्ने अबस्था थियो। एउटा कपडाको काम गर्ने टेक्स्टाइल कम्पनिमा जागिर पाएका उनले त्यहाँ कपडको भारी बोक्ने काम गर्नुपर्ने भयो। पढेर के बन्ने भन्ने खास उदेश्य थाहा नभएपनि राम्रोसँग पढियो भने पछि केही चाहिँ गर्न सकिन्छ भन्ने थियो। त्यसैका लागि उनी दुःख गरेर भारी बोक्ने काम गरे। करिब ५ बर्ष यसरी भारी बोकेका अधिकारीले स्नातक तह पूरा गरे।

अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका उनी आफ्नो मास्टर्सको सम्पूर्ण क्रेडिट आफ्ना भाइलाई दिन्छन् । स्नातक तह पूरा गर्दै गर्दा काठमाडौं आएका उनका भाइले आफै काम गरेर दाइलाई पढ्न पठाए। उनले पढाई पूरा गरेपछि भाइले मास्टर्स पढे र उनले काम गरे। यो अध्ययन पछि अधिकारीले ट्युसन र भाषा कक्षाहरु पढाउने तीर लागे । कतिसम्म भने कुलेश्वर बस्ने उनी ट्युसन पढाउनकै लागि गोङ्गबु पुग्थे। त्यसपछि उनले एउटा अफिसमा काउन्सिलर भएर समेत काम गरे।

मास्टर्स पढ्दा नाटक हेर्न थियटर पुगेका उनी नाटक पर्दशन अघि हुने कविताका कार्यक्रमहरुमा सहभागी हुन थाले। आफ्नो कोर्षमा पढेका धेरै कविताबाट प्रभावित उनी यो किसिमको कार्यक्रममा के हुँदो रहेछ बुझ्न सहभागी हुन्थे। खासगरि अङ्ग्रेजी साहित्यका ‘टिएस इलिएट, जोन किट्स, जोन डन’ जस्ता लेखकहरुबाट प्रभावित उनलाई थियटरका कविता कार्यक्रमहरुमा बस्दा म पनि लेख्न सक्छु कि भन्ने लाग्न थाल्यो। यसअघि गितहरु मात्र लेखेका उनलाई अब कवितामा आफूलाई परिक्षण गर्ने रहर पलायो। नेपाली साहित्यमा पनि बिश्व स्तरका कृतिहरु भएको धारणा राख्ने अधिकारी के एउटा नेपाली कविले नोबेल पुरस्कारको सपना देख्नु गलत होर ? भन्ने प्रश्न आफैलाइ गर्न थाले। नेपालमा धेरै सुन्दर र गुणस्तरीय कृतिहरु भएपनि हाम्रो भाषाको संकिर्णताले त्यसको प्रचार हुन नसकेको उनको भनाइ छ।

काठमाडौं आएर पढ्नका लागि मात्रै उनले संघर्ष गरेका होइनन् । आज कवि, गितकार तथा सर्जक भन्ने परिचय पाउनकै लागि पनि उनले उल्लेखनीय त्याग र प्रयासहरु गरेका छन् । लेखनीको सुरुवाती चरणमा उनी कविताका कार्यक्रम राखिएको थाहा पाउने बित्तिकै हरेक ठाउँमा पुग्थे। त्यस्ता कार्यक्रममा बाचन गर्ने अबसर पाइन्छ कि भनेर हरेक कार्यक्रममा अन्तिमसम्म बस्दा पनि लिस्टमा नाम लेखिने तर कहिल्यै बोलावट नहुने तितो अनुभवसँग उनी पटकपटक जुधेका छन् ।

यस्तो समयमा आफूभन्दा अग्रजसँग सम्बन्ध भएमा अवसर पाइन्छ भन्ने उनलाई लागेपछि त्यो प्रयासपनि गरि हेरे। एकजना अग्रजलाई १६ ओटासम्म कार्यक्रममा नमस्कार म प्रज्जवल अधिकारी भन्दा १७ औ पटक पनि तपाईं को रे ? भनेर सोधेपछि उनले निरास हुँदै ‘अब तपाइले सधैं को रे ?’ भन्नू पर्दैन भनेर जवाफ दिदै यो तरिका छोडिदिए। भोको पेट दिनभर बसेर पटक–पटक बाचन गर्न नपाउदा उनलाई एक मनले कविता लेख्नै छोडीदिउ भन्ने नलागेको होइन। तर अर्को मनले निरास हुनुभन्दा गतिलो सिर्जना गर्न लाग्नुपर्छ भन्ने निश्कर्ष निकालेपछि उनी व्यक्ति चिनिने भन्दा आफ्ना सिर्जनाले आफैलाई चिनाउने प्रयासमा निरन्तर लागेका हुन।

बिस्तारै उनका कविताका विषयबस्तुले नै उनलाई परिचित गराउन थाले। उनलाई त्यतिबेला मंचमा उभिएर एउटा कविता बाचन गर्दापनि संसार जितेको अनुभव हुन्थ्यो। यसरी केही साथीहरूसँग सम्पर्क पनि हुँदै गयो।

रेडियो नेपालमा नबराज लम्सालले संचालन गर्ने मधुवन, अच्युत घिमिरेले उज्यालो एफ एममा संचालन गर्ने बुलबुल र कान्तिपुर टिभीको अर्को एक साहित्यिक कार्यक्रममा कविता बाचन गरेपछि भने हिजो उनलाई नबोलाउने र कविता बाचनको अबसर नदिनेले नै उनलाई प्रमुख अतिथि बनाएर बोलाउन थाले। यसलाई पनि उनले सकारात्मक रुपमै लिए। सायद आफू त्यतिबेला लायक नभएरै रिजेक्ट भएको होला भन्ने उनले सोचे।

उनलाई त्यो समयमा धेरैले कविता लेखेर प्रगती गर्दैनस, नलेख भने तर उनले कसैको कुरा सुनेनन्। कविता लेखन व्यावसायिक बन्न नसक्दा र नेपाली समाजले साहित्यलाई हेर्ने नजर परिवर्तन हुन नसक्दा उनी आफैले पनि गाउँ जादा सुरुसुरुमा कविता लेख्छु भन्न सकेनन। यसो भन्दा अब बर्बाद हुने भो, कमाउन छोडेर नचाहिदो काममा लागेछ भन्ने आरोप आउने डर उनीमा थियो

आजपनि हाम्रोमा व्यावसायिक रुपमा लेखक, सर्जक बन्ने वातावरण नबनेको उनको धारणा छ । उनी भन्छन, ‘हाम्रै छिमेकी देश भारतमा कुमार बिस्वास भन्ने एकजना कवि छन जसको सेकुरिटी देखि सेक्रेटरी सम्मको व्यवस्था छ । त्यहाँ पारिश्रमिक लिएर सिर्जनात्मक काम गरिन्छ तर हाम्रोमा यदि मैले पारिश्रमिक लिने भएँ भने अर्कै निःशुल्क बाचन गर्ने कविलाई बोलाउने बिडम्बनापुर्ण अबस्था छ ।’ यसो गर्दा नेपालमा चाहिँ अन्य काम भ्याएर गरिने कविता लेख्ने काम पार्ट टाइम जब बन्न पुगेको छ। त्यसैले नेपालमा पनि यो क्षेत्रमा व्यवसायिकरणको आबस्यकता रगेको उनको बुझाइ छ।

थुप्रै पुरस्कारहरुबाट सम्मानित भइसकेका अधिकारी आफू अझै सफल भने भइनसकेको र बिश्व स्तरमा रुचाइने खालका कृति सिर्जनाका लागि प्रयासरत रहेको बताउँछन् । यी पुरस्कार भन्दा आफूले बाचन गर्ने कवितालाई पाठक/दर्शकले रुचाए र धेरै भन्दा धेरै समालोचकले टिप्पणी गरे भने त्यो आफूलाई सफलता लाग्ने उनको भनाइ छ। आफूले गतिलो सिर्जना गर्न सकेको दिन आफूलाई लाखौं तलब तलव खाने व्यक्तिको भन्दा बढी सन्तुष्टि मिल्ने उनी बताउँछन् । छिटै कविता सङ्ग्रह निकाल्ने तयारिमा रहेका उनले हालसम्म फुटकर कबिताहरु मात्र प्रकाशित गरेका छन् ।

युवा उमेरले भन्दा कामले हुने अधिकारिको भनाइ छ । नेल्सन मण्डेला सोचले बुढेसकालमा पनि युवा थिए। उनी भन्छन्, ‘स्व राष्ट्रकवि माधब प्रसाद घिमिरे मृत्यु सैयामा पनि ऋतम्भरा महाकाव्य लेख्दै हुनुहुन्थ्यो जसले उहाँको सक्रियता देखाउँछ। यदी मेरै उमेरको कोहि युवा दिनभर गेम खेलेर वा च्याट गरेर समय बिताउछ भने उ युवा नभइ वृद्ध हो ।’

उनका अनुसार युवाहरुले नेपालमा अबसर नपाउनुको कारण हाम्रो राजनीतिक नेतृत्व र यहाँको सरकारले गर्ने बेवास्ता हो। युवा सम्बन्धि कुनै विशेष कार्यक्रम ल्याउन नसक्ने यिनिहरु खुलामञ्च र माइतीघर मण्डलामा उफार्नु परेको दिन मात्रै युवाको बारेमा सोच्ने उनको भनाइ छ। यसो गर्दा एउटा चिया/मम पसल बन्द गराएर आन्दोलन गर्दा राज्यलाई कति घाटा पर्छ भनेर उनीहरुले कहिल्यै नसोचेको दुखेसो मोटिभेट न्युजसँग पोख्छन् ।

युवाहरुलाई आफू डोजर बनेरै भएपनि नयाँ अबसरको बाटो बनाउन उनको सुझाव छ । आजका युबाले त्यसो गर्नसके भाबी सन्ततीले त्यही गोरेटोलाई राजमार्ग बनाउने हुँदा सकारात्मक भइ आफ्नो रुचीको क्षेत्रमा इमानदारिता र मेहनतका साथ लाग्न सबै युवालाई उनको आग्रह छ।

२०७७ पुष २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्