News Portal

बिष्णुको वाणीले बनायो ‌सरस्वतीलाई राष्ट्रिय खेलाडी

रमेश लामिछाने
२९ पटक

काठमाडौं – तपाईं आफ्नो जीवनमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ? कि तपाईसँग आफ्नो जीवनलाई लिएर थुप्रै गुनासाहरु छन् ? सबैकुराले सन्तुष्ट मानिस भेट्टाउन कठिन यो समयमा धेरै मानिसहरुले आफ्नो शारीरिक बनावट माथि असन्तुष्टि राखेका थुप्रै उदाहरणहरु पाइन्छ ।

तपाईँ एकछिन आफैलाई वा आफ्ना साथीहरूलाई सम्झिनुस् त । कोहिलाई आफ्नो दाँत, कोहिलाई कपाल त कोहिलाई आफ्नो आँखा अनि कोहिलाई आफ्नो तौलमा असन्तुष्टि रहेको हुन्छ। अझ ‘ब्युटी कन्सस’ व्यक्तिहरुमा यसको विशेष प्रभाव रहने गर्छ ।

त्यसो त हामीले कमजोरी ठान्ने त्यही चिज हाम्रो असली पहिचानसमेत बन्न सक्छ। बिश्वमा यसका थुप्रै दृष्टान्तहरु पाइन्छन् । आफ्नो हाइटका कारण साथीहरूले जिस्काउँदा यसैगरी असन्तुष्ट एक युवती आज त्यही हाइटलाई आफ्नो ‘बेस्ट क्वालिटी’ मान्छिन र त्यसैका कारण सफल छिन् महिला राष्ट्रिय भलिबल टिमकि ओपन स्पाइकर सरस्वती चौधरी ।

धनगढीकि चौधरीको भलिबलमा हान्ने सट साच्चै रहरलाग्दो छ। आफ्ना कोच बिष्णुले ‘तिमी अग्लि छ्यौ भलिबल खेल’ भनेर दिएको सल्लाहले सानै उमेरबाट भलिबल खेल्न प्रेरित गर्यो । लजालु र कम बोल्ने स्वभावकि उनी आफू त्यही उमेरका अरुभन्दा धेरै अग्लो भएकाले साथीहरूले लम्बु भनेर जिस्काउदा हैरान हुन्थिन् । आज त्यही उचाइले उनलाई आफ्नो मातृभुमीकै उचाइ बढाउने अबसर दिएको छ।

कोचकै प्रेरणाका कारण भलिबलमा लागेकि उनलाई सानोमा खासै यसप्रति रुची भने थिएन । धनगढीमा छोटो समय खेलेपछि उनी पोखरा आइन। त्यहाँ सिनियरहरुले खेलेको रहरलाग्दो खेल देखेपछि भने उनमा आफू पनि त्यस्तै बन्ने रहर पलायो। अनि उनी पनि समर्पित भएर ट्रेनिङमा लागिन। पोखरामा पलाएको त्यही सफल हुने रहरलेनै आजको सरस्वतीको सफलताको जग बसालेको हो ।

हाल बिबिएस चौथो बर्ष अध्ययनरत चौधरी भलिबलमा लाग्नुको खासै उदेश्य नभएको बताउछिन् । सानैबाट लागेको हुँदा किन लाग्ने भन्ने नै थाहा नभएको उनको भनाइ छ। सानोमा उनी यतिसम्म लजालु थिइन् कि उनले एकदिन विद्यालयको प्रतिनिधित्व गर्दै आफूले भाग लिएको ‘लङजम्प’ मा खेल्न ठिक परेपनि लाजकै कारण खेल्न सकिनन्। ट्रेनिङ पछि पोखरामा ५ बर्ष खेलेकि उनी हाल बिभागिय टिम एपिएफबाट खेल्छिन् । उनले यो टिमबाट खेल्न थालेको पनि ७ बर्ष भयो।

सन् २०१९ को साग गेमपछि नेपाली महिला भलिबलले नयाँ आयाम लिएको बताउदै आफूहरुमा त्यो गेमले कन्फिडेन्ट बढाएको सरस्वतीको भनाइ छ। उनी भन्छिन्, ‘भारत जस्तो टिमसँग खेल्दै कास्य पदक जित्नु पनि हाम्रा लागि राम्रो हो तर यो भन्दा धेरै बेटर गर्न सकिन्थ्यो’ गोल्ड मेडलका लागि बलियो दाबेदारी दिएको नेपाली टोली पछिल्ला सेटहरुमा थोरै सम्हालिन नसक्दा स्वर्ण पदक गुमेपनि त्यसले हामी पनि सक्छौ है भन्ने बिश्वास आफूहरुमा बढाएको उनको भनाइ छ । सो खेलमा खेलकुद सचिवदेखि उपराष्ट्रपतिसम्म दर्शकको रुपमा आउँदा र होम ग्राउण्डमा हजारौं नेपाली खेलप्रेमीहरुको समर्थनले खेलाडीहरुलाई सम्मान र उच्च मनोबल मिलेको पनि उनको बुझाइ छ। यद्यपि सानो सानो कमजोरिका कारण जित्ने खेल हारेकाले ती दर्शकलाइ स्वर्ण पदक दिलाउदै देशको शिर उच्च पार्नबाट आफूहरु चुकेको उनको धारणा छ।

आफू आजसम्म भलिबलमा मात्रै लागेर अन्य केही नगरेकाले यसलाई छोड्न नसक्ने उनको भनाइ छ। उनी भन्छिन्, ‘सायद म अब धेरै बर्ष खेल्न त सक्दिन होला तर भलिबलको विकासका लागि आबस्यक सपोर्ट र जे गर्नुपरे पनि जुनसुकै बेला तयार हुन्छु’ । आफ्नो मेहनतले आफू राष्ट्रिष् टिममा पर्न सफल भएकाले कडा मेहनत बाहेक अरु संघर्ष गर्नु नपरेको भएपनि आफूजस्ता मोफसलबाट आएका खेलाडीहरुलाई सुरु सुरुमा परिवारसँग बिछडिएर बस्नु पर्दा बहुत गार्हो हुने उनी बताउँछिन । उनले भनिन्, ‘मलाइ त्यसरी नै बहुत गार्हो भयो तर खेल्दै जादा अरु खेलाडी देखेर र उनीहरुको मायाले बिस्तारै त्यो अभाब पूरा हुँदै गयो। त्यसले बिस्तारै खेल र आफ्नो उदेश्यप्रति अझै आकर्षित गरेको उनको भनाइ छ।

भलिबलले बिस्तारै माया र साथ पाउदै गएको भएपनि अझैपनि व्यावसायिक खेलाडी भएर बाच्न सक्ने अबस्था बनिनसकेको उनको भनाइ छ। आफूजस्ता बिभागिय खेलाडीहरुले तलब सुबिधा पाउने भएपनि बाहिरबाट खेल्ने खेलाडीलाई जीवन धान्न बहुत कठिन भएको उनको बुझाइ छ । साग गेमकै समयमा पनि राष्ट्रिय टिममा पर्न सफल प्रतिभावान खेलाडिहरु जीवन धान्नकै लागि विदेश पलायन हुनु दुःखद रहेको भन्दै उनी सरकारलाई त्यसतर्फ सोच्न आग्रह गर्छिन् ।

कोभिडले आफूहरुको ट्रेनिङ र फिटनेस दुबैमा असर पारेको उनको भनाइ छ । खेलाडीहरुको खेलस्तर यो समयमा घट्यो कि भन्ने संका पनि उनलाई छ । फरक प्रसंगमा उनी चीनमा हुन गइरहेको ‘एसिएन च्याम्पियनसीपमा’ महिला भलिबल टिमले खेल्न नपाउनु दुःखद भएको भन्दै आफूलाई त्यो स्तरको गेम खेल्ने र देशलाई भलिबल मार्फत पनि बिश्वमा चिनाउने अधुरो चाहना रहेको बताउछिन् । खेलकुदको समग्र विकासका लागि ध्यान दिन अनुरोध गर्दै उनी नेपाल सरकारका नबनियुक खेलकुद मन्त्रीलाई भलिबलमा राष्ट्रिय खेलाडी छनोट अघि अली लामो समय ट्रेनिङ र त्यो अबधिमा खेलाडीलाई कम्तिमा बाच्न पुग्ने तलबको ब्यबस्था आदि मिलाइदिन अनुरोध गर्छिन् । त्यस्तै विभिन्न प्रतियोगिताको समयमा खेलको दर्शकको रुपमा उपस्थित भइ खेलाडीहरुको हौसला बढाउन पनि उनलाई आग्रह गर्छिन।

अबसर पाइएन भनेर युवा युवती विदेश जानू राम्रो नभएको भन्दै देशमै केही गर्न उनी आग्रह गर्छिन् । आम नेपाली छोरीहरुलाई उनी आफ्नो राष्ट्रिय खेल भलिबलमा यदी रुचि भए र राम्रो खेलाडी बन्ने सोच भए मेहनत गरेर लाग्नुस् भन्ने सुझाव दिन्छिन् । यो युगमा छोरीहरु पनि अघि बढे मात्र नेपाली समाज विकास हुने उनको भनाइ छ

२०७७ पुष २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्