News Portal

बडादशैंको आज आठौं दिन महाअष्टमी ! हिन्दु नेपालीहरुले महागौरीको पूजाआरधना गरी मनाइदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८१ पटक
काठमाडौं

काठमाडाैं – हिन्दु नेपालीहरुको महान चाड बडादशैं अन्तरगत आज महाअष्टमी अर्थात नवरात्रिको आठौं दिन, महागौरीको पूजा गरीदैँछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरीन्छ । आज देवी दुर्गाका स्वरूपमध्ये आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा हुन लागेको हो । गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुंगाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दशैंघर अनि मन्दिरमा विशेष घुँईचो लाग्ने गर्छ । महागौरीको पूजा आरधना गर्नाले ज्ञानको प्राप्ती, धनको प्राप्ती तथा रोग निवारण हुने शास्त्रीय मान्यता रहेको ज्योतिष पण्डित बद्री पुडासैनीले बताए।

आज मध्यरात अर्थात नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान गरिन्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरुको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ । शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन बलिदिने चलन छ । यसरी बलि दिंदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र वलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा बलि दिने गर्दछन् ।

आज घरघरमा राखिएका वा कलकारखानामा रहेका हतियारलाई धोइपखाली महादेबी दुर्गाको हतियारको रुपमा स्थापना गरि पुजा गर्ने गरिन्छ । आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दशैं घरमा ५४ वटा राँगा र ५४ वटानै बोकाको वलि दिइन्छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । आजपनि काठमाण्डौ उपत्यकासहित देशभरीका दुर्गा मन्दिर तथा शक्तिपीठहरुमा पूजा आराधना गरी बलि चढाउनेहरुको बिहानैबाट घुइँचो लागेको छ ।

२०७५ असोज ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्