News Portal

आजदेखि आईपीओ बिक्रीमा ल्याएको इन्फ्रास्ट्रक्चर बैंकको कस्तो छ वित्तिय अवस्था ?

मोटिभेटन्यूज संवाददाता
४२ पटक

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) आज शुक्रबारदेखि बिक्री खुला गरेको छ । बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको सेयर निष्काशनमा ल्याएको हो ।

यो नेपाली धितोपत्र बजारमा हालसम्मको सबै भन्दा ठूलो आईपीओ हो । ८ करोड कित्ता साधारण शेयरमध्ये ० दशमलव २० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने सक्नेछन ।

माघ ६ गतेसम्मका लागि आवेदन खुला गरिएको आईपीओको लागि तोकिएको अवधिभित्र पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिने बैंकको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आबेदन गर्ने सबैले शेयर पाउने पक्का छ ।

बैंकको वित्तिय अवस्था

आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले खुद नाफा २६ दशमलव ४१ प्रतिशतले बढाउन सफल भएको छ। बैंकले खुद नाफा ८४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले ६७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यो मुनाफा ९६ करोड १२ लाख रुपैयाँमा सीमित थियो ।

यस अवधिसम्म बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद ब्याज आम्दानीबापत आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले खुद ब्याज आम्दानीबापत १ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको थियो ।

बैंकले समीक्षा अवधिसम्म २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले २० करोड निक्षेप संकलन गरी ७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले रिजर्भको आकार १०६.९७ प्रतिशतले बढाउँदै १ अर्ब ६३ करोड रुपैयाँको बनाएको छ। अघिल्लो वर्ष बैंकको रिजर्भ ७८ करोड ९८ लाख रुपैयाँको थियो ।

२०७७ माघ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्