News Portal

गाउँबाट भागेर काठमाडौं आएका बोहोरा यसरी बने मन्टेश्वरी स्कुलका प्रिन्सिपल

रमेश लामिछाने
१०५ पटक

काठमाडौं – एउटा मानिसले आफ्नो उद्देश्य प्राप्तिका लागि कतिसम्म त्याग गर्न सक्छ होला ? ती उद्देश्य प्राप्त गर्न हिड्ने बाटोभरी अबरोध आएमा उसले कतिसम्म सामना गर्न सक्छ होला ?

समस्यामाथि समस्याको चाङ लाग्दै अबरोधमाथि सृजना भएका अबरोधलाई पन्छाउँदै अगाडि बढ्न सक्ने मानिस नै अन्त्यमा सफल सावित हुन्छ । त्यही समस्यासँग जुध्दै, अबरोधको सामाना गरेर मौलिक संघर्ष गर्दै सफल भएका व्यक्ति हुन काभ्रेका कृष्ण कुमार बोहरा ।

काठमाडौंको मण्डिखाटारमा रहेको, ‘ह्याप्पी किड्स मन्टेस्वरी होम’ संचालक/प्रिन्सिपल उनी ‘राइजिङ स्टार प्राइमरी स्कुल’ तथा ‘ह्याप्पी किड्स किन्डरगार्रडेन’ लाई पनि नेतृत्वदायी भुमिका दिइरहेका छन् ।

निम्न मध्ययम बर्गिय किसान परिवारको ७ सन्तान मध्यका कान्छा उनी गाउँकै एक स्कुलबाट एसएलसी दिए। आफ्नो परिवारको एकमात्र पढेलेखेको सदस्य भएका कारण उनका बुबा उनलाई शिक्षक बनाउन चाहन्थे। एसएलसी सक्ने बित्तिकै उनका बुबाले उनले पढेकै स्कुलमा कुराकानी मिलाएर जागिर लगाइदिए । विज्ञापन पनि भएको र स्थानियलाई प्राथमिकता दिने योजना अनुरुप उनले जागिर त खाए तर केही महिनापछि आएको एसएलसीको नतिजाले उनलाई त्यो जागिरमा निरन्तरता दिन दिएन ।

एसएलसीमा गणित बिषय कटाउन सकेनन् । १५ दिने छुट्टी लिएर बनेपा आइ परीक्षा दिएर फर्केपछि त्यहाँ उनलाई पढाउने शिक्षकहरुले उनलाई यो दुई हजारको जागिर भन्दा तिम्रो पढाई ठूलो हो भनेर सम्झाए। उनलाई पनि कसरी आफ्नो आर्थिक अबस्था उकास्न सकिएला भनेर सानैदेखि लाग्थ्यो। एकदिन शुक्रबारको आधा छुट्टी पछि उनी स्कुलबाटै भागेर काठमाडौं छिरे ।

भाग्न त उनी भागे तर खल्तिमा जम्मा एक सय रुपैयाँ मात्र थियो। चप्पल लगाएर भागेका उनलाई अब आफ्नो गन्तव्यसम्म त्यही हालतमा पुग्नु थियो। उनका दुई दाजुहरु धेरै अगाडि देखि काठमाडौं वस्थे र उनीहरु स्थापित पनि थिए। तर उनीहरु भाइ गाउँमै बसोस् र जागिर खावोस भन्ने चाहन्थे। यसो गर्दा गाउँमा रहेका बा आमालाई सहज हुने उनीहरुको धारणा थियो। अब उनलाई ती दाइहरुको कोठामा गयो भने फेरी घर पठाइदिन्छन भन्ने डर भयो । त्यसैले दाप्चा भन्ने बजारमा आइसकेपछि महाराजगन्ज बस्ने आफ्नी दिदीलाई फोन गरे। त्यतीबेला ट्रन्क कल भनिने कल सार्है महँगो थियोे । दुई चोटी आवाज नबुझिएर फोन काटियो। उनले मात्र ‘आइजोन कान्छा’ भनेको बुझ्दा ३५ रुपैयाँ खर्च भयो । अब बाँकी रहेको ६५ रुपैयाँले पुगिन्न कि सोचेर उनी खाजासमेत नखाइ काठमाडौं आइपुगे । गाडी भाडा तिरेर उनीसँग जम्मा १५ रुपैयाँ बाँकी बस्यो।

दिदीकोमा बस्ने व्यवस्था मिलाएर उनले आइए पढ्नका लागि प्रदर्शनिमार्ग स्थित आरआर कलेजमा भर्ना भए । आफ्नो पकेट खर्च व्यवस्थापनका लागि जागिर खोज्ने क्रममा उनले बाँसभारी स्थित छाला जुत्ता कारखानामा काम पाए। त्यहाँ उनले जुत्ता सिलाउने, फिनिसिङ दिने, पालिस लगाउने काम गर्थे। यो जागिरले उनलाई आर्थिक रुपमा अपेक्षित सहायता त दिन सकेन तर काठमाडौंको जीवन कस्तो हुन्छ बुझ्ने मौका र एउटा टेक्ने ठाँउ दियो।

करिब ३ बर्ष यसरी काम गरेपछि दिदीकै चिनेको सम्बन्धबाट उनलाई थाइ एम्बेस्सीको एकजना अफिसरको घरमा गेट पालेको काम मिल्यो । त्यहाँ बिहान बेलुका उनले काम र अन्य सहयोग गरिदिए बापत उनलाई त्यही खाने बस्नेसहित तलबसमेत दिने सहमती भयो । भर्खरै परिक्षा सकेका र नतिजाको प्रतीक्षामा रहेका उनले कलेज जाने समयसमेत दुई तिर काम गर्न थाले। यसले उनलाई आर्थिक रुपमा टेवा दियो।

स्नातक तहको पढाई सुरु गर्ने बेलातिर उनलाई आफ्नै क्षेत्र रोज्न मन लाग्यो र जुत्ता कारखानाको जागिर छोडिदिए। शिक्षा क्षेत्रमा लाग्नका लागि उनी नजिकका बोर्डिङ स्कुलहरु धाउन थाले । तत्कालीन समयका स्थापित स्कुलहरुले अनुभव नभएकाहरुलाई जागिर नदिने बुझेपछि भर्खरै सुरु भएको नयाँ स्कुल खोज्न थाले। खोज्दै जादा धापासीमा रहेको ‘हिमालयन हार्ट एकेडमी’ मा प्राथमिक तहको विज्ञान विषयको विज्ञापन भएको थाहा पाए। उनलाई मिल्ने विषय नभएपनि म जसरीपनि गर्छु भन्ने बिश्वास व्यवस्थापनलाई दिलाएर उनी जागिर सुरु गरे । नयाँ खुलेको विद्यालय, धेरै तलब दिन नसक्ने हुँदा सस्तो टिचर खोजीरहेको स्कुलले उनलाई एउटा अवसर दियो। उनी किताबहरु घरमै लगेर रातभर पढेर भोलिपल्ट पढाउँथे।

१ बर्ष यसरी पढाउँदा के पढाएँ भन्दा पनि आफैले चाहिँ धेरै सिकेको र आफैलाई सक्षम बनाएको उनको भनाइ छ । त्यसपछि भने आफ्नो त्यही अनुभव प्रयोग गरेर आर्थिक अवस्था उकास्न अलि राम्रो स्कुलको खोजीमा उनी लागे। ‘सेन्ट जोसेफ इङलिस एकेडेमी’ गोल्फुटारमा प्राथमिक तहकै विज्ञापनका लागि आबेदन दिएका उनले धेरै लामो समयपछि छनोट भएको निर्णय पाए। विज्ञान उनले पढेको बिषय नभएपनि उनको प्रयोगात्मक र सिर्जनात्मक शिक्षण शैलीले उनलाई यहाँ जागिर दिलाएको पछि थाहा पाए। त्यहाँ ३ बर्ष काम गरिसकेपछि अब आफ्नै विषयतिर लाग्नुपर्छ भनेर के सोच्दैथिए अवसरले उनकै ढोका ढकढक्याउन आयो। सेयर होल्डरहरुको बिबादका कारण एकजनाले त्यो स्कुल छोडेर ‘जोसेफ इन्टर्नेसनल’ नामको अर्को स्कुल खोले । जहाँ उनालाई सहायक प्रधानाध्यापकको अफर आयो। त्यहाँ करिब साढे तीन बर्ष काम गरेका उनले व्यवस्थापनको पाटोमा गतिलो अनुभव हासिल गरे। स्कुलको पनि राम्रो प्रगती भयो र निम्नमाध्यमिक तहसम्म पुग्न सफल भयो। उनले यहाँबाट पनि पैसा भन्दा काम गर्ने सिप धेरै कमाए।

अब भने उनलाई आफैँले केही गर्नुपर्छ भन्ने लाग्यो र नेपालमा भित्रिदै गरेको मारिया मन्टेश्वरी तथा प्रयोगात्मक शिक्षण पद्धतिलाई अंगाल्ने निर्णय गरे। मन्डिखाटार स्थित एकताबस्तीमा एक फ्ल्याट भाडामा लिएर मन्टेश्वरी स्कुल सुरु गरेका उनलाई लगानी जुटाउन त ठूलो चुनौती भयो नै । त्यो भन्दा अझै बढी महिनैपिच्छेको खर्च धानेर त्यसलाई चलाउन समस्या भयो । सात हजार भाडा र स्टाफ खर्च व्यवस्थापन गर्नुपर्दा उनलाई ‘पौडिन नजानेको मान्छेले पोखरीमा हाम फालेझै’ गरिएछ भन्ने लाग्यो। कतिसम्म भने खर्च जोगाउन ३ जना स्टाफको काम उनी आफै गर्थे। ती दिन सम्झिँदै उनी भन्छन्, ‘मैले सुरुवातका दिनहरुमा कतिदिन आफै खाना बनाएर खुवाएको छु । बच्चाहरुलाई टोइलेट गराउने कामसमेत आफै गरेको छु ।’ कम्तीमा भाडा तिर्ने पैसा व्यवस्था होस् भनी उनी राती अबेरसम्म बसेर ‘बुक ट्रान्स्लेट’ गर्ने काम गर्थे। त्यस्तै बिहान बेलुका होम ट्युसन पढाउनसमेत जान्थे।

यसरी ६ महिनासम्म उनलाई आफ्नो संस्था टिकाउन एकदम गार्हो भयो। उनले त्यतिबेला ६ दिने जाडो बिदामा ३ दिन खाने चिज नभएपछि स्कुल नजिकैको किराना पसलबाट दालमोठ चिउरा उधारो लगेर त्यहीमात्र खाएर पनि बस्नुपर्‍यो । त्यसपछि भने बिस्तारै बढ्दै गएको अभिभावक आकर्षण र विद्यार्थी संख्याले उनलाई बाच्ने वातावरण बनाउन थाल्यो । दोश्रो बर्षको आधातिर एउटा फाइनान्सबाट ऋण निकालेर एउटा पुरानो मारुती भ्यान निकाले। करिब ३ लाख ऋण दिन फाइनान्सले सजिलै पत्यायन किनभने अझै उनको व्यवसाय धेरै कमाएर तिर्न सक्ने भएको थिएन । भ्यान किनेर ड्राइभर राखेका उनी आफूपनि स्कुलको चौरमा गाडीलाई अगाडि पछाडी गर्न थाले। एक महिनामै ड्राइभरले ८ हजार तलबमा काम गर्न नसक्ने बतायो। उनको त्यो भन्दा बढी तलब दिनसक्ने स्थिति थिएन। त्यसैले आफै गाडी चलाउने निर्णय लिए।

लाइसेन्स त परको कुरा १ महिनाको यो अबधिमा उनी भ्यानलाई सामान्य हिडाउन मात्र सक्ने भएका थिए। एकचोटी एउटा साघुरो मोडमा एउटा स्कुल बससँग भेट भयो। उनले निकै समय लगाउदा पनि आफ्नो गाडी छिराउन सकेनन् । अनी त्यही गाडी ड्राइभरले आएर उनको गाडीलाई मोड कटाइदिए । यसरी उनले घर घरमा आफै गाडी लिएर गएर बच्चा संकलन गर्दा अझ अभिभावकको बिश्वास बढ्यो र विद्यार्थी संख्या पनि।

जोसिलो हुँदै उनी भन्छन्, ‘६ बर्ष यसरी चलाउदा पनि न मेरो गाडिले कसैलाई हान्यो न कसैले मेरोलाइ’ पूर्ण दक्ष नभएको हुदा त्यसले कुनै पनि काममा सजगता बढाउदो रहेछ भन्ने उनको भनाइ छ। त्यसको केही समयपछि तेस्रो प्रयासमा उनले लाइसेन्स पनि निकाले। त्यसपछि भने उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन। आज उनसँग राम्रो विद्यार्थी संख्या, राम्रो आम्दानी र पेशागत सन्तुष्टि छ।

यो लामो यात्रामा सबैभन्दा स्मरणीय के रह्यो भन्ने हाम्रो प्रश्नमा उनी पुनः बिगततिर फर्किन्छन। ‘करिब डेढ बर्ष दिदीकोमा बसेपछि दाइको घरमा बस्न म बालाजु गएँ । सधैं चेलीबेटीकोमा बस्न स्वाभिमानले पनि दिएन। त्यो समय गाडी भाडा तिर्ने पैसा नहुदा म बालाजुबाट आरआर क्याम्पस हिँडेर पुग्थेँ। अनि हिडेरै महाराजगन्ज हुदै पुनः बालाजु ।’

२ बर्ष पढ्नकै लागि यति लामो बाटो हिडेका उनी आरआर क्याम्पसमा सबै उस्तै उस्ता साथी हुँदा मेरो मात्रै अबस्था यो होइन रहेछ भनेर मोटिभेटेड भएको सुनाउछन् । आरआर क्याम्पस नजिकैको पुस्तक पसलमा प्रथम बर्षको पुस्तक दिएर केही रकम थपी दोश्रो बर्षको त्यसैगरी बेचिएको पुस्तक लिएको पनि उनलाई स्मरणीय लाग्छ।

त्यस्तै यो क्षेत्रमा लागेर उनले आफ्नो चरम चाहना हुदाहुदै पनि कलाकारितालाई निरन्तरता दिन सकेका छैनन् । उनले केही म्युजिक भिडियो र फिल्ममा स–साना रोलहरु गरिसकेका छन् । शिक्षा क्षेत्रमा बनाएको परिचयले पनि यता लाग्न असहज भएको उनको भनाइ छ।

अहिलेका युवाहरु भबिस्यप्रती चिन्तित नरहेको उनको भनाइ छ। उनी भन्छन्, ‘अहिले विदेश नै जाने ट्रेण्ड रहेको र यहाँ रहेका अवसर बेवास्ता गर्ने युवाहरुमा समस्या छ।’ कृषि र पर्यटनमा अबको नेपालमा सबैभन्दा ठूलो अवसर रहेको बताउने उनी निकट भबिस्यमा आफ्नो पनि त्यतातिर केही गर्ने सोच रहेको बताउँछन् । सबै युवाहरूलाई सरकारले पनि सहुलियतपूर्ण कर्जा मार्फत प्रोत्साहन गरिरहेकाले यस किसिमका अवसरहरुलाई समयमै समात्दै देशमै केही गर्ने सोच राख्न उनी आग्रह गर्छन् ।

प्रि स्कुलहरुको छाता संगठन अपेनका केन्द्रिय सदस्यसमेत रहेका बोहरा यसको बाग्मती प्रदेश अध्यक्ष पनि हुन् ।

२०७७ माघ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्