News Portal

अचार बनाएरै करोडपति बनेकी बसुमाया दिदीको कथा

रमेश लामिछाने
१०० पटक

काठमाडौं – मानव जीवन सुःख र दुःखको संगम हो । अनेक उतारचढाव झेल्दै अघि बढ्ने क्रममा हामी कति ठाउँमा ठेस लाग्न पुग्छौं भने कति ठाउँमा बाटै परिवर्तन गर्न बाध्य हुन्छौं । आधुनिक मानव जीवन बढ्दो ब्यस्तता र त्यसले निम्त्याएको तनाव, कठिन सम्बन्ध र अनेक सामाजिक आर्थिक समस्याको भुमरिमा जेलिएको छ । यस्तो तनावपुर्ण अबस्थामा पनि बाँच्ने र संसार जित्ने साहस भएका केही पात्रहरु हाम्रो समाजमा छन् । यि पात्रहरुले हामीलाई हरेक पल संघर्ष गर्न र जस्तोसुकै चुनौतीका लागि पनि तयार रहन प्रेरित गर्छन् ।

तपाईंलाई जीवनमा कति दुःख आइपरेको छ ? हामी आफ्ना स–साना समस्यालाई पनि ठूलो चुनौती सोचेर धेरै निरास हुन्छौं । अझ धैर्यताको कमी रहेको पछिल्लो पुस्ताले त साना साना समस्यामै आत्महत्या जस्तो बिकराल बाटो रोज्ने गरेका छन् । यस्ता थुप्रै समस्यहरुलाई पार लगाउदै अघि बढेकी धादिङ कि बसुमाया तामाङको जीवन कथा र व्यावसायिक सफलता बुझ्ने जो कोहिले पनि उनको साहसलाई हृदयदेखि प्रसंसा गर्दै प्रेरित हुने गरेका छन् । आज ५० जना महिलालाई प्रत्यक्ष रोजगारी दिँदै स्वदेशी उत्पादनलाई बिश्व बजारसम्म पुर्याइरहेकी उनी आफ्नै क्षमतासँग पनि अच्चम्मित छिन् ।

एक केजी टिम्बुरको छोप बनाएर सुरु भएको उनको ब्यबसाय आज नेपाली मन उद्योगका रुपमा परिचित बन्न सफल भएको छ । तारकेश्वर नगरपालिका स्थित मनमैजुमा रहेको यो उद्योगले विभिन्न प्रकार र फ्लेवरका ६ थीि अचारहरु उत्पादन गरी युरोप, अमेरिका, अस्ट्रेलिया, जापान लगायतका देशहरुमा निर्यात गर्दै आइरहेको छ ।

कमजोर आर्थिक स्थिति भएको परिवारमा जन्मिएकी उनको बाल्यकाल जति दुःखद थियो त्यति नै दुःखद बन्यो पछिल्लो अवस्था । उनको वैवाहिक सम्बन्ध त्यति सुखद रहन सकेन । ३ छोराछोरीको जिम्मेवारी उनको एकल काँधमा आइपुग्यो । काठमाडौ आएर मोजा बुन्ने, चर्खा काट्ने, बालुवा बोक्ने लगायतका काम उनले गरिन् ।

सफल भइछाड्ने दृढ संकल्प भएकि उनलाई आफैं नयाँ परिक्षण गर्न मन लाग्यो । अरुको सुत्र प्रयोग गर्नुभन्दा नेपाली उत्पादन टिम्बुरलाई प्रयोग गरिहेर्न मन लाग्यो । टिम्बुरको छोप बनाइ केही ग्राहक र छिमेकी साथीहरू लाई चखाएकी उनलाई धेरै राम्रा प्रतिक्रिया र थप बनाउने अनुरोध आयो ।

सुरुवातका दिनहरुमा उनको उत्पादन लिन यहाँका नाम चलेका मार्ट हरुले मानेनन् । आज भने नेपाली मन उद्योगका उत्पादनहरु बिश्वका विभिन्न देश पुगेका अचार पारखी नेपालीहरु माझ लोकप्रिय छ। नेपाली मात्र नभइ नेपाली उत्पादन मन पराउने अन्य देशका नागरिकहरु समेत अचार भेराइटीहरुमा रमाँउछन् । अर्गानिक र आफ्नै देशको उत्पादन प्रयोग गरौं भन्दै आफ्ना उत्पादन नपुगेका ठाउँहरुबाट पनि माग भइरहेको बसुमाया बताउछिन् ।

ब्यबसायका अलवा बसुमाया समाजसेवामा पनि क्रियाशिल छिन् । लायन्स क्लबकि सदस्य उनी अन्य थुप्रै संघ संस्थमा पनि आबद्ध छिन् । गरिब, दुखी र असाहाय हरुको सेवा गर्न नसके मानव जीवन सार्थक नहुने हुँदा सकेको सहयोग आफुले गर्ने गरेको उनले बताइन् । पछिल्लो समय समाज सेवाका नाममा देखावटी बढीरहेको प्रती पनि उनी चिन्तित छिन् ।

आफुले पनि नयाँ अबसरको सिर्जना गरेको दृष्टान्त प्रस्तुत गर्दै आम नेपाली युवाहरूलाई आफै अवसर बनाउने तिर सोच्न उनी आग्रह गर्छिन् । अन्त गएर जुनसुकै काम गर्न तयार रहनुभन्दा यहाँ बाझो बसेको खेत वारि मा कृषिक्रान्ती गर्नतिर लाग्न उनी अनुरोध गर्छिन् ।

हेर्नुहोस भिडियोसहित,

 

२०७७ माघ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्