News Portal

फेकन निर्वाचन : ‘छोरो पाउनु कहिले कहिले भोटो सिउनु अहिले’

मोटिभेटन्यूज संवाददाता
१५७ पटक

काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)मा विवाद चर्किएको छ । आगामी कार्यसमितिमा अध्यक्षका लागि दुई जनाले प्यानलै बनाएर चुनावी मैदानमा होमिएका बेलामा उनीहरु बीचको विवाद झन चर्किएको हो ।

‘काँहि नभएको जात्रा हाँडिगाउँमा’ भने जस्तै भर्खरै उदाउँदै गरेको परामर्श क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था फेकनमा विधानमा हुँदै नभएको उपाध्यक्ष पद बाँडिएको छ । भुपाल तामाङको प्यानले विधान विपरित उपाध्यक्षमा ४ जनाको उम्मेदवारी घोषणा गरेको छ । अमित बाबु ढुङ्गाना, रामशरण ढकाल, पवन मैनाली र दिपक सिलवाललाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

विधानमा दुई जनालाई मात्र निर्वाचित गर्न सकिने व्यवस्था भएपनि तामाङ प्यानलले ४ जनालाई नै उम्मेदवार बनाएको हो । यस विषयमा अध्यक्षका प्रत्यासी तामाङसँग कुरा गर्दा सबैलाई मिलाउनका लागि ४ जनालाई उपाध्यक्षका रुपमा घोषणा गरिएको बताए ।

उनका अनुसार दुई जनालाई मनोनित गर्ने अधिकार निर्वाचित अध्यक्षलाई हुने भएकाले मनोनित गर्ने उपाध्यक्षहरुको नामावली अहिले नै सार्वजनिक गरिएको बताए । उनको भनाईमा उनी अध्यक्षमा निर्वाचित भएपछि ४ जना मध्यबाट दुई जनालाई मनोनित गर्ने छन । ‘छोरो पाउने कहिले कहिले भोटो सिउनु अहिले’ भनेझै तामाङ प्यानलले अहिले नै दुई जनालाई मनोनित गरिसकेको छ । तामाङ अध्यक्षमा निर्वाचित भएको खण्डमा त उनले ४ जनामध्ये दुई जनालाई मनोनित गर्लान तर उनी यदी पराजित भएभने भित्ताका उपाध्यक्षहरुले के गर्लान त्यो भने हेर्न बाँकी नै छ ।

निर्वाचनका बेलामा उपाध्यक्षहरुको मनोनित गरेर चुनावलाई प्रभावित पार्न खोजेको अध्यक्षका अर्का प्रत्यासी बासु नेपालले आरोप लगाएका छन । विधानमा नभएको व्यवस्थालाई प्रयोगमा ल्याएर संस्थाकै बदनाम गर्न खोजेको उनको भनाई छ ।

अहिलेनै उपाध्यक्ष बाँडेर अध्यक्षमा आफ्नो जितलाई सजिलो बनाएको व्यवसायीहरुको आरोप छ । ‘हार्ने निश्चित भएपछि फण्डा गरिएको हो’ फेकनका एक सदस्यले भने, ‘जीतका लागि त विधानसम्मत काम गर्न पर्छ । जस्केलाबाट छिराउन खोज्नेहरुको पत्तासाप निश्चित छ ।’

फेकनको विधानको धार १३ मा निर्वाचित एक अध्यक्ष, निर्वाचित दुई उपाध्यक्ष, मनोनित दुई उपाध्यक्ष, निर्वाचित दुई सचिव र १ सहसचिव मनोनित गर्ने व्यवस्था छ ।

२०७७ फागुन ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्