News Portal

दुई–चार लाख कमाउनका लागि विदेशिनु पर्दैन

रमेश लामिछाने
६७ पटक

काठमाडौं – उद्यमी युवाहरुका कथा र समस्याहरु केलाउदै उनीहरुसँगै उभिने क्रममा आज हामीले अर्को एउटा रोचक सफलताको कथा लिएर आएका छौं । यो कथा आफ्नै लगाव र मेहनतले सफल एक कृषकको कथा हो। नेपालमा अवसर नदेखेर दिनहुँ हजारौं युवाहरु विदेश पलायन भइरहेका बेला केही युवाहरु भने नेपालमै सकिन्छ भनेर लागिपरेका छन्। आफ्ना लागि आफैले अवसर र रोजगारी सिर्जना गरेका यी युवाहरु मध्य एक हुन् कालिकोटका धर्मराज उपाध्याय ।

काठमाडौंको बुढानिलकण्ठमा ‘रकेट कृषि तथा पशुपन्क्षी फर्म’ संचालन गरिरहेका तिमल्सिना हाल कुखुरा तथा गाई पालन गरिरहेका छन् । सानैदेखि देशमै केही गर्नुपर्छ भन्ने सोच बोकेका उनी कृषिमा लाग्नु आफ्नो रहर र बाध्यता दुबै भएको बताउँछन् ।

समूहमा खेती गर्न भनेर काठमाडौं आइसकेपछि बोइलर कुखुराबाट उनले आफ्नो व्यावसायिक कृषि पेशाको सुरुवात गरे। सुरुका दिनहरुमा राम्रै प्रतिफल दिएपनि त्यसले उनलाइ पुर्ण सन्तुष्टि भने दिन सकेन। बिबिध समस्याहरु आइपर्ने र बजारबाट पैसा उठाउन कठिन हुने आदी कारणले उनले कुखुरा पालनबाट अपेक्षित लाभ लिन सकेनन् ।

उनको अनुभवमा करिब तीन हजार कुखुरा पाल्नका लागि कम्तिमा २० लाख रुपैयाँ खर्च हुन्छ । यसरी लगानी गरेर उत्पादन गर्दापनि किसानले चल्लाखरिद गर्दा देखिनै बिबिध समस्या भोग्नुपर्ने उपाध्यायको भनाइ छ ।

त्यसबाहेक बजारीकरण नेपाली किसानको अर्को ठूलो समस्या हो । बाहिरबाट आयात गरेर ल्याइएका सामानहरु नेपाली उपभोक्ताले प्रयोग गरिरहदा पनि उचित प्रणाली नहुदा नेपाली उत्पादनले भने उचित बजार र मूल्य नपाउने समस्या छ ।

यी र यस्ता विविध समस्याहरुका बापजुद पनि कृषि आफ्नो मुख्य पेशा भएकाले निरन्तर लागिरहेका तिमल्सिनाको फार्ममा आज १० वटा गाई र केही कुखुरा पालेर मनग्य आमदानी गरिरहेका छन् । दैनिक उत्पादन हुने करिब १ सय ५० लिटर गाइको दुधनै हाल फार्मको मुख्य आम्दानीको स्रोत हो । उनको गाइपालन पनि पूर्णरुपमा समस्यामुक्त भने छैन ।

नेपाल सरकारले कृषकहरुलाई अनुदान पनि दिन्छ रे भन्ने सुनेका तिमल्सिना आफूहरुलाई भने सधै त्यसबाट टाढा राखिएको बताउछन् । वास्तविक किसान र काम गर्ने मान्छेको यस्ता अनुदानहरुमा पहुँच नपुग्ने र पहुँच हुने सुकिला मुकिलाले कृषि कर्म नगर्ने हुँदा त्यो अनुदानको खास अर्थ छ जस्तो उनलाइ लाग्दैन।

व्यावसायिक कृषि पेशामा होमिएका धर्मराज जस्ता धेरै नेपाली किसानको अर्को समस्या हो तालिम र प्रबिधिको अभाव । बिश्व बजारमा आइरहेका नयाँ र सहज प्रबिधीको पहुँच नहुनुका साथै उनीहरुलाई पेशाका लागि चाहिने अति आधारभुत जानकारी पनि छैन। त्यसो त धर्मराज आफैले पनि आफूले देखेको जानेको भरमै आजसम्म फार्म संचालन गरेका छन् ।

यसरी तालिमको प्रयाप्त अबसर नहुनु, भएका पनि शहर केन्द्रित हुनु, बाजारिकरणमा समस्या हुनुका अलवा उत्पादनले पाउने बजार मूल्यमा पनि नेपाली किसान पीडित छन् । बिचौलियाले ठूलो हिस्सा खाइदिदा उपभोक्ता र उत्पादक बिच मुल्यको ठूलो दुरी हुने र दुबै मारमा पर्ने गरेका छन् ।

यदी दूध र मासुजन्य उत्पादनलाई प्रसोधन गर्ने उपयुक्त व्यवस्था मिलाउने हो भने किसानका यस्ता समस्या धेरै हदसम्म कम हुनुका साथै उत्पादिन सामान खेर जाने अवस्थाबाट पनि मुक्ती पाउन सकिने उनको भनाइ छ।

कृषिजन्य सामाग्री पुर्याउन नेपाल सरकारले उपयुक्त कृषि सडकको व्यवस्था गरिदियोस् भन्ने पनि उनको चाहना छ। बर्खाको समयका लागि चाहिने दाना लगायतका अन्य सामाग्रीहरु बर्खाले बाटो बिग्रनु अघि नै धेरै लिनुपर्ने बाध्यता उनीहरुको छ। यसो गर्नका लागि एक त किसानहरुसँग पैसाको अभाव हुन्छ भने अर्कोतिर ती सामानहरु ड्यामेज हुने सम्भावना पनि उतिकै रहन्छ ।

यी सबै समस्याहरुलाई छिचोल्दै स्थानिय स्तरका सामग्री र बिश्व बजारका प्रबिधि प्रयोग गर्दै अघि बढ्ने आगामी योजना रकेट कृषि फर्मको छ ।
नेपाल सरकारले व्यवसायीक कृर्षिलाई प्रोत्साहन गर्न उपयुक्त योजना ल्याउने हो र सबै युवा उद्यमशिल बन्ने हो भने दिनानुदिन विदेशीने युवा लस्करलाई देशमै रोक्दै चालिस कटेसी रमाउने सपना देख्नु पर्ने थिएन कि ?

२०७७ फागुन ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्