News Portal

प्रचण्ड नेपाललाई जसपाको प्रश्न, तपाईहरुको पार्टि कुन हो?

मोटिभेटन्यूज संवाददाता
११५ पटक

काठमाडौँ — नेकपा दाहाल–नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा नेपाल) का नेताहरुबीच पछिल्लो राजीनितिक घटनाक्रमका बारेमा छलफल भएको छ ।

बिहीबार नेकपा कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल र जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानका निम्ति नेकपा दाहाल–नेपाल पक्षले प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए । छलफलमा जसपा नेताहरुले दाहाल–नेपाल पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि महतोले बताए । आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए । उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो । हामीले जिज्ञासा राख्यौं, भने तपाईंहरुको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ?  अलमलमा परियो त्यो प्रस्ट हुनुस् र तपाईंहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा हामी राख्छौं ।’

जसपा नेताहरुले पटक–पटक आफूहरुले गरेको सहमतिमा धोका खाएको पनि स्मरण गराएका थिए । जसपा नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरीलगायतका नेताहरु अझै पनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाइका लागि संघर्ष गरिरहने बताएका छन्
वरिष्ठ नेता महतोले भने, ‘हाम्रा आन्दोलनकारी साथीहरु, निर्वाचित सांसद रेशम चौधरीलगायतले अहिले पनि बन्दी जीवन बिताइरहेका छन् । यी सवालहरु छन् । यी समस्याहरु छन् । त्यसैले आगामी दिनमा हामी यी सवालहरु हाम्रो प्राथमिकताका साथ उठाएका छौं र आगामी दिनमा पनि उठ्ने छौं र यसका लागि संघर्ष गर्छौं । संविधानमा रहेका त्रुटिहरु, कमीकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बने पनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौँ ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्स्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समीकरणका लागि नेकपा प्रचण्ड–माधव पक्षका नेताहरुले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

२०७७ फागुन १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्