News Portal

राष्ट्रिय वाणिज्य बैङ्कले दिएको खुसी (भिडियो सहित)

मोटिभेटन्यूज संवाददाता
१४७ पटक

काठमाडौँ – वार्षिक ४८ प्रतिशत व्याजमा ऋण लिएर व्यवसाय सुरु गरेका कालिकोटका लक्ष्मीप्रसाद तिमल्सिना आफ्नो ५ जनाको परिवारलाई खुसी साथ राखेका छन् । व्यवसायीक माछा पालनका लागि गाउँका साहुहरूबाट आजभन्दा ७ वर्षअघि लिएको चर्को व्याजले थलिएका उनी अहिले खुसी हुनुको रहस्य भने अर्कै छ ।

आजभन्दा ७ वर्षअघि ४८ प्रतिशत व्याजमा १० लाख रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेका तिमल्सिनाले त्यो ऋण तिर्न झन्डै ५ वर्ष लगाए । माछाबाट वार्षिक १० लाखदेखि २० लाखसम्म आम्दानी गर्ने उनी अहिले माछा पालनसँगै व्यवसायीक गाई पालन पनि गरिरहेका छन् ।

मानिसमा केही गरी छाड्ने अठोट भयो भने पैसाले रोकिँदैन भन्ने उदाहरण बनेका तिमल्सिनाले सुरुवातमा ऋण गरेको पैसाले काठमाडौँको बुढानीलकण्ठमा दुई रोपनी जग्गा भाडामा लिएर माछा पालन सुरु गरेका थिए ।

चर्का व्याजमा ऋण काढेर व्यवसाय सुरु गरेको भए पनि अहिले भने उनलाई आनन्द छ । उनीसहित उनको ५ जनाको परिवारलाई खुसीका साथ राखेका छन् ।

आफूसँग पैसा नभएको र खाली बस्न मनले नमानेकाले उनले व्यवसाय गर्नका लागि गाउँकै धनाढ्यसँग चर्को मूल्यमा ऋण लिएका थिए । अहिले उक्त ऋण चुक्ता गरिसकेका छन् ।

उनी खुसी हुनुमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको ठुलो हात रहेको छ । साहुको ऋण चुक्ता गरे पनि उनले अहिले राष्ट्रिय वाणिज्य बैङ्कबाट वार्षिक १ दशमलव ५ प्रतिशतमा सहुलियत कर्जा लिएका छन् । करिब ८ लाख रुपैयाँ ऋण लिएका उनले अहिले सहज रूपमा किस्ता तिर्दै महिनामा २ लाखसम्म आम्दानी गरिरहेका छन् ।

‘विदेशमा भएको भए परिवार एकातिर र आफू एकातिर भइन्थ्यो’ मोटिभेट न्यूजसँगको कुराकानीमा उनले भने, ‘अहिले परिवारसँग बस्न पाइएको छ । मिठो मसिनो खान पाइएको छ । बच्चालाई राम्रो स्कुलमा पढाइएकै छ । म जति खुसी को होला ?’

राष्ट्रिय वाणिज्य बैङ्कको ऋणले ठुलो खुसी दिएको भन्दै वार्षिक १ दशमलव ५ प्रतिशत व्याज तिर्न खासै समस्य नहुने उनको भनाई ।

२०७७ फागुन १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्