News Portal

नेकपा नेता ‘रणवीर’को कारागार सरुवा

मोटिभेटन्यूज संवाददाता
१७९ पटक

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य भरत बम ‘रणवीर’को तेस्रो पटक कारागार सरुवा गरिएको छ । पुर्पक्षका लागि बर्दिया कारागारमा रहेका बमलाई पछिल्लो पटक केन्द्रीय कारागार सुनधारामा सरुवा गरिएको हो ।

बर्दिया कारागारमा भएको अनियमितताको विषय उठाउँदा उनलाई बिहीबार राती कारागार सरुवा गरिएको हो । उनले बर्दिया कारागारका जेलरले विभिन्न विषयमा अनियमितता गरेको र अत्यावश्यक औषधि समेत उपलब्ध नगराएपछि जिल्ला प्रशासन कार्यालय बर्दियालाई औषधि उपलब्ध गराउन आग्रह गरेका थिए ।

जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलाई भेटेर तत्काल औषधिको व्यवस्था गर्न आग्रह गरेका थिए । उनले एक हप्ताको अल्टिमेटम दिँदै माग पुरा नभए कारागारभित्रै अनसन बस्ने चेतावनी दिएका थिए । जिल्ला प्रशासन कार्यालयले उनको माग पुरा गरिदिएपछि जेलरको साता गएको र जिल्ला प्रशासन कार्यालयलाई अरू पनि अनियमितता विषयहरूको जानकारी दिने डरले सरुवा गरिदिएको उनको भनाई छ ।

कारागारमा भएका अनियमितताका विषयहरू बाहिर आउन थालेपछि जेलरलाई समस्या पर्ने भएर आफूलाई रातारात सरुवा गरिएको उनले बताए । मोटिभेट न्यूजको टोलीसँग केन्द्रीय कारागारमा बोल्दै उनले बर्दिया कारागारमा फिनेलदेखि ठूलो टेन्डरसम्म भ्रष्टाचार हुने गरेको थाहा भएपछि त्यसको उजागर हुन डरले सरुवा गरेको बताए ।

दुई वर्ष अघि प्रहरीले उनलाई नेपालगन्जबाट पक्राउ गरी नक्कली हतियार राख्न लगाएर बाँके जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै रणवीरलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । पुर्पक्षका लागि नेपालगन्ज कारागारमा रहेका उनलाई कारागारभित्र लागु औषध दुर्व्यसनी रोक्न माग गर्दा सामान्य झडप भएपछि बर्दिया कारागार सरुवा गरिएको थियो ।

बर्दिया कारागारमा रहँदा पनि उनले जेलमा रहेको बन्दीहरूको पक्षमा आवाज उठाएपछि उनलाई काठमाडौँ सरुवा गरिएको हो । अहिले उनलाई सुनधारा केन्द्रीय कारागारमा राखिएको छ ।

२०७७ फागुन २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्