News Portal

कहिले छुट्छन् विप्लवका १ सय ४४ नेता–कार्यकर्ता, यस्तो छ प्रक्रिया

मोटिभेटन्यूज संवाददाता
९७ पटक

काठमाडौं – नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचमा तीन बुदे सहमति भएको छ । सहमति पछि नेकपाका १ सय ४४ जना नेता–कार्यकर्तालाई रिहाइ गर्ने तयारी थालिएको छ ।

पार्टीमाथिको प्रतिबन्ध फुकुवा, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएपछि प्रक्रिया पुर्याएर सबैलाई रिहाइ गर्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ । फौजदारी कार्यविधि संहिता–०७४ अनुसार राजनीतिक मुद्दा मन्त्रिपरिषद्ले महान्यायाधिवक्तासँग परामर्श गरेर फिर्ता लिने निर्णय गर्न सक्छ । गृह–मन्त्रालयले मुद्दा फिर्ताको प्रस्ताव लगेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर महान्यायाधिवक्ताको कार्यालयलाई निर्णय कार्यान्वयनका लागि लेख्नुपर्ने कानुनी प्रावधान छ । यही प्रावधान अनुसार मन्त्रालयले तयारी थालेको जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार विप्लवका नेता–कार्यकर्ता रहेका सम्बन्धित जिल्लाका सरकारी वकिलले मुद्दा फिर्ताका लागि सरकारको निर्णय सहित निवेदन दिनुपर्छ । सो निवेदन उपर न्यायाधीशले सुनुवाई गरेर राजनीतिक मुद्दा फिर्ताको निर्णय सदरको आदेश गरेपछि मात्रै विप्लवका नेता–कार्यकर्ता रिहा हुनेछन् ।

विप्लव निकट रहेर काम गरिरहेको बरिष्ठ अधिबक्त एकराज भण्डारीका अनुसार मन्त्रिपरिषद्को निर्णय अदालत पठाउनुपर्ने र अदालतले स्वीकृति दिएपछि मुद्दा फिर्ता हुनेछन् । प्रहरी हिरासतमा रहेका १८ जना र धरौटी नतिरेर कारगार चलान भएका केही नेताहरु छिट्टै छुट्ने छन् भने पुर्पक्षका लागि कारागार चलान भएका अरु नेताहरुको रिहाई हुन एक हप्ताभन्दा बढी समय लाग्ने उनको भनाई छ ।

सरकारले प्रतिबन्ध लगाएपछि २ हजार ९८ जना विप्लवका नेता कार्यकर्तालाई प्रहरीले पक्रेको थियो । तीमध्ये, अहिले १ सय २६ नेता जेलमा र १८ जना प्रहरीको हिरासतमा थुनिएका छन् ।

पार्टीको तेस्रो वरियताका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा छन् भने अर्का सचिवालय सदस्य हेमन्त प्रकाश ओली सुदर्शन ललितपुरको नख्खु कारगारमा छन् ।

विप्लवका दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’ चितवन, पार्टीका पूर्व पोलिटव्युरो सदस्य भरत बम ‘रणवीर’ केन्द्रीय कारागार सुन्धारा, केन्द्रीय सदस्य माइला लामा संखुवासभाको जिल्ला कारागार, केन्द्रीय सदस्य चूँडामणि ओली बाजुरा जिल्ला कारागार, केन्द्रीय सदस्य ओम पुनः कैलाली जिल्ला कारागार, नेता भेषराज भुसाल इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका छन् ।

 

२०७७ फागुन २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्