News Portal

आफ्नै गाउँमा भैँसी पालेर लोभलाग्दो सफलता हात पारेका एक कृषकको कथा

रमेश लामिछाने
१६४ पटक

काठमाडौं- आज तपाईंले नेपाली टिनएजरहरुलाई भबिष्यमा के गर्छौ भनेर सोध्नुभयो भने जवाफ एउटै आउँछ:- बिदेश । गुणस्तरीय उच्च शिक्षा अध्ययनको चाहना होस् या राम्रो काम गरेर सोचेजस्तो जीवन बिताउने सोच दुबैले नेपाली युवालाई आकर्षित गरिरहेकै छ। त्यसो त मध्यम स्तरको अर्थतन्त्र हुनु र पर्याप्त रोजगारीका अवसर नहुनु पनि दिनहुँ बिदेशीन बाध्य हजारौं युवाहरूको कारण हो। आज हामिले यहाँ प्रस्तुत गर्ने सफलताको कथा भने एउटा यस्तो ब्यक्तिको कथा हो जस्ले अवसर नदेखेर बिदेशिने योजना बनाएका युवाहरूलाई देशमै अवसर मात्रै देखाएनन् उनीहरुको ओठको मुस्कानको कारण पनि बने।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० का भिम प्रसाद दुलाल तिनै ब्यक्ती हुन् जस्ले परम्परागत रुपमा गर्दै आएको कृषिमा परिवर्तन ल्याइ ब्यवसायिक बनाए भने त्यसैलाई आफ्नो आर्थिक स्तरोन्नतिको कारण बनाए। बिदेश जाने सोच भएका युवालाई समेत देशका विभिन्न भागमा रहेका कृषि फार्महरुको भ्रमण गराइ उनले तिनै युवाको साथ लिइ इन्द्रावती पशुपालन तथा कृषी फर्म संचालन गरे।

पारिवारिक ब्यवसायका रुपमा निर्वाहमुखी कृषि गर्दै आएको परिवारमा जन्मिएका उनी सानैदेखि पशुपालनमा विशेष रुचि राख्थे। गाई, बाख्रा, भैसी थोरै पाल्दै खेतीपाती गर्दा त्यसले छाक टार्ने बाहेक अरु केही नभएपछि उनले ब्यवसायिक पशुपालन सुरु गरेका हुन् ।

सुरुवात गर्नका लागि उनीसँग न ठूलो पुँजी थियो न त उपयुक्त प्राबिधिक ज्ञान नै । तरपनि केही गरिछाड्ने उनको दृढ संकल्पलाई यस्ता चुनौतीले रोक्न सकेन। अन्य एक दुई ठाउँमा फार्म अवलोकन गरेपछि उनले आफ्नै अनुभवले संरचना तयार गरे।

यसअघि गाउँमा दूध संकलन गर्ने डेरि चलाउदै गर्दा २०६७ सालतिरै उनलाइ ब्यवसायिक पशुपालन गर्नुपर्छ भन्ने सोच आएको थियो। पारिवारिक समस्याले त्यो पूरा हुन नसकेपछि उनले गाउँको दूध संकलन कार्य छोडेर मेलम्ची बजारमा त्यही काम सुरु गरे।

२०७६ सालमा १२ ओटा भैसिबाट सुरु भएको फर्ममा आज ५० वटा भैंसी र ७ वटा गाई छन् । बिदेश जाने सोच भएका तिनै आफ्ना भाइ भन्जालाइ सहकर्मी बनाइ उनी आज यो फार्म संचालन गरिरहेका छन् । उनको केही बर्षभित्रै २०० भैंसी यो फार्ममा पाल्ने लक्ष्य छ।

उनले दूध संकलनको कामलाई अझैपनि निरन्तरता दिइरहेका छन् । ३ लिटर दूध संकलन गरेर सुरु गरेको यो यात्रा आज दैनिक ३००० लिटर सम्म पुगेको छ। आफ्नो डेरि ब्यवसायको यात्रालाई उनी यसरी सम्झिन्छन् ।

आज उनले `मिल्क चिलिङ भ्याट’ सहितको संकलन केन्द्र मेलम्चीमा संचालनमा छ भने उनले अन्य विभिन्न ठाउँबाट संकलन गरेर करिब ७५ क्यान दूध संकलन र बिक्रि गर्छन् ।

हाल उनको फार्मबाट दैनिक ३०० लिटर दूध उत्पादन भइरहेको छ भने संकलित दुध काठमाडौंका उपभोक्ता सम्म पुग्छ। दुध उत्पादन र बिक्रीमा पनि अन्य क्षेत्रमा जस्तै बिचौलिया हाबी भएको उनको भनाइ छ।

आफै उत्पादक र संकलक भएर दोहोरो भुमिका निभाउँदा यी दुबैका समस्या के रैछ भन्ने हाम्रो प्रश्नमा उनले यसरी ब्यवहारिक जवाफ दिएका छन् ।

हाल उनको फर्मले ७ जनालाइ प्रत्यक्ष रोजगारी दिइरहेको छ। उनिभने दिउँसोको समय संकलित दूध बजार पठाइसकेपछि मात्रै फर्म हेर्न भ्याउँछन् ।

भाडाको जग्गा लिएर संचालित यो फार्ममा उनले १०० रोपनी क्षेत्रफलमा घाँस खेती गरेका छन् । गाई भैसिलाइ घाँस अपरिहार्य भएको हुँदा विभिन्न जातका घाँस उनले लगाएका छन् ।

हरेक काममा अवसर र चुनौती बराबर हुने हुँदा पशुपालनमा पनि चुनौती रहेको दुलालको भनाइ छ। ब्यवसायिक पशुपालनका अवसर र चुनौतीलाई उनी यसरी उल्लेख गर्छन् ।

नेपाल सरकारले दिएको कृषिको केही अनुदान पाएको भएपनि ठूलो संख्यामा त्यो सुबिधा पाउने चाहिँ वास्तविक किसान भन्दा पनि झोले किसान भएको उनको भनाइ छ। नगरपालिकामा फार्ममा पहिलो लागेर गुहार्न पुगेका उनलाइ नगरपालिकाले कुनै वास्ता गरेन।

सरकारले पैसा दिने भन्दा पनि अनुदानमा गाई भैंसी वा काम गर्न चाहिने उपकरण दिनुपर्ने र सहुलियत दरमा कृषि ऋणको ब्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

दुधको गुणस्तर कायम रहोस् र त्यसमा अस्वस्थता नहोस् भनेर सधै सजग रहने दुलालले त्यसका लागि विभिन्न प्रयास गरेका छन् । त्यसका लागि उनले फार्मको सरसफाइमा विशेष ध्यान दिन्छन् भने संकलन केन्द्रहरुमा चिलिङ भ्याट पनि राखिदिएका छन्

नेपाली युवाहरू विदेश गएर जे गर्नपनि तयार हुने तर नेपालमा काम गर्न गार्‍हो मान्ने गरेकाले अवसर नपाएको उनको भनाइ छ। एउटा लक्ष्य लिएर निरन्तर धैर्य सहित काम गर्ने हो भने परिवार सँगै बसेर रमाउन सकिने भन्दै आम नेपाली युवाहरूलाई सृजनशिल र सकारात्मक भएर देशमै काम गर्न उनी आग्रह गर्छन् ।

भिडियो हेर्नुहोस:

 

 

२०७७ चैत २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्