
मङ्सिर १३, काठमाडौं – निर्मलाका लागि न्याय र साउथ एसिया प्यासिफिक समिटको क्रममा सवारीका लागि लागु गरिएको जोर–विजोर नियम विरुद्ध उत्रिएका पाँच युवा राजधानीको माइतीघरबाट पक्राउ परेका छन् ।
‘युथ फर नेशन’को आयोजनामा आज काठमाडौंमा निकालिएको र्यालीका क्रममा प्रहरीले युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजु सुनार, मन्जु पुडासैनी, लक्ष्मी दाहाल, मनिका खतिवडा र रघु कार्की छन् । रघु कार्की नेविसंघका केन्द्रिय सदस्य समेत हुन उनकै नेतृत्वमा आजको यो विरोध कार्यक्रम भएको थियो।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तका हत्यारा सरकारले अझै पत्ता नलगाएको भन्दै विरोध स्वरुप युवाहरुले र्याली निकालेका हुन् । यस्तै सरकारले १३ गतेदेखि १६ सम्म चार दिन उपत्यकाको सडकमा जोर–विजोर नियम लागु गरेपछि उनीहरु थप आन्दोलित भएका हुन् ।
२०७५ मंसीर १३ गते प्रकाशित
