News Portal

विकट पलाता गाउँपालिका कालिकोटले नागरिकलाई कर बिनै सेवा सुविधा दिने घोषणा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४४० पटक
काठमाडौं

भदौ ५, कालिकोट — देशभरका स्थानीय तहले मनपरी कर वृद्धि गरेको गुनासो आइरहँदा यहाँको विकट पलाता गाउँपालिकाले स्थानीय नागरिकलाई कर बिनै सेवा सुविधा दिने घोषणा गरेको छ । साउन ३० गते थिर्पूमा बसेको विशेष गाउँ सभाबाट निर्णय गरेरै पलाताका नागरिकलाई मर्का पर्ने गरी कर नलिने घोषणा गर्दै जन्म, मृत्यु, विवाह दर्ता, बसाई सराई, पिछडिएको क्षेत्र सिफारिस, नाता प्रमाणित, नागरिकता सिफारिस जस्ता सेवा नि:शुल्क दिने निर्णय गरेको हो।

पलाता कालिकोटको सबैभन्दा विकट क्षेत्रको स्थानीय तह हो। यहाँका नागरिक वर्षेनी खाद्य संकटको मारमा पर्ने गर्छन्। ज्याला मजदुरी गरेर परिवार पाल्ने पलातावासीलाई खेतबारीको उत्पादनले ३ महिना पनि खान नपुग्ने अवस्था छ।

गाउँपालिकाका ४६ मध्ये ४३ सदस्यको सहभागिता रहेको विशेष गाउँसभाले कर छुट, पालिकाको केन्द्र धौलागोह २ लोडेमा तोक्ने र ३८ वटा सामुदायिक तथा कबुलीयती वनका चौकीदार नियुक्ति लगायतको निर्णय गरेको छ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमको प्रस्तावमा गाउँ सभामा उपस्थित सबै सदस्यले समर्थन जनाएपछि पलाता करमुक्त पालिका बनेको हो। ‘गाउँपालिकामा अधिकांश विपन्न नागरिक मात्र छन्।’ अध्यक्ष बमले भने, ‘विपन्न नागरिकबाट लिएको करले पालिकालाई केही पुग्दैन।’ सिफारिसमा लाग्ने रकम बचत हुँदा विपन्नलाई नून, तेल किन्न पुग्ने अध्यक्ष बमले बताए।

 

२०७५ भदौ ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्