News Portal

अन्ततः १४ जना पदाधिकारी रहनेगरी नेपाली कांग्रेसको विधानमा सहमति

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०८ पटक
काठमाडौं

पौष ६ काठमाडौं – अन्ततः १४ जना पदाधिकारी रहनेगरी नेपाली कांग्रेसको विधानमा सहमति भएको छ । केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले १४ जना पदाधिकारी राख्नेगरी विधान संशोधन गर्ने प्रस्तावलाई पारित गरेको हो ।

उक्त प्रस्तावसहितको संशोधित विधान महासमिति बैठकमा अनुमोदनका लागि लगिनेछ । सहमतिअनुसार कांग्रेसमा अब एकजना सभापति, दुईजना उपसभापति, दुईजना महामन्त्री, ८ जना सहमहामन्त्री र कोषाध्यक्ष एकजना रहनेछन् ।

कोषाध्यक्षबाहेक १३ जना प्रत्यक्ष निर्वाचित हुनुपर्नेछ भने सहमहामन्त्रीहरु संविधानले व्यवस्था गरेको ‘क्लस्टर’को आधारमा निर्वाचित हुनेछन् ।

शीर्ष नेताहरुको तहमा सहमति भएपछि केन्द्रीय समितिबाट नयाँ सहमति पारित गरिएको हो । विधानमा सहमति जुट्न नसक्दा पुस ३ गते नै सम्पन्न हुनुपर्ने महासमिति बैठक अझै सकिएको छैन ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संविधानले व्यवस्था गरेका सबै प्रक्रिया पूरा गर्ने राजनीतिक दलकारुपमा कांग्रेस पहिलो भएको दाबी गरे ।विधानको छपाइ भएपछि महासमिति बैठकमा पेस गरिने भन्दै उनले महासमितिमा पर्याप्त छलफल गरेरमात्रै पारित गरिने बताए ।

यसअघि, शुक्रबार बिहान बसेको महाममिति बैठकमा बोल्ने बहुसंख्यक प्रतिनिधिले तत्काल विधान उपलब्ध गराउन माग गरेका थिए ।यस्तै, महाममिति बैठकमा हिन्दुराष्ट्र बनाउनुपर्ने मागसहितको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

बन्दसत्रमा बोल्दै डडेल्धुराका सभापति कर्ण मल्लले महासमितिका बहुमत सदस्यले हस्ताक्षर गरेको हिन्दुराष्ट्रको प्रस्ताव महासमितिबाट पारित गर्नुपर्ने माग गरे ।

प्रस्तावमा ७०० बढी महासमिति सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

२०७५ पुष ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्