News Portal

सलमान अली बने ‘इन्डियन आइडल’ को १० औँ संस्करणको विजेता

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७६२ पटक
काठमाडौं

हरियाणाको मेवातका सलमान अली भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ को १० औँ संस्करणको विजेता बनेका छन् ।

आइतबार राति भएको फाइनलमा अरु चार प्रतिस्पर्धीलाई पछि पार्दै सलमान अलीले इन्डियन आइडल १० को ट्रफी उचालेका हुन् । आइतबार भएको फिनालीमा भएको लाइभ भोटिङ्ग तथा अघिल्लो हप्ता र शनिबार प्राप्त भएको भोटको आधारमा अली पहिलो भएका हुन् ।

हिमाञ्चल प्रदेशका अंकुश भारद्वाज दोस्रो भए । उपाधि जितेको सलमान अलीले २५ लाख भारतीय रुपैयाँ र एउटा कार उपहारमा पाएका छन् । यस्तै दोस्रो भएका अंकुशले पाँच लाख भारतीय रुपैयाँ र अरु उपहार पाए ।

बहुचर्चित बनेको इन्डियन आइडलको यो सिजनको सेकेण्ड रनरअप अर्थात तेस्रो स्थानमा १६ वर्षकी निलान्जन रे रहिन् । यस्तै नितिन कुमार र विभोर प्रासर चौथो र पाँचौँ स्थानमा रहे ।

निलान्जनाले पाँच लाख भारतीय रुपैयाँ र अरु उपहार पाइन् भने नितिन र विभोरले तीन–तीन लाख भारतीय रुपैयाँका साथ उपहारहरु पाए । फिनालीमा कुल दुई करोड ५५ लाख भन्दा बढी भोट प्राप्त भएको जानकारी दिइएको थियो ।

फिनालीमा चलचित्र ‘जिरो’ को टिम पुगेको थियो । शाहरुख खान, कटरिना केफ तथा अनुष्का शर्माले फाइनलिस्टलाई शुभकामना दिएका थिए । विशाल ददलानी, नेहा कक्कड तथा जावेद अली निर्णायक रहेको शो सन् २०१८ को जुलाई ७ देखि सुरु भएको थियो ।

सोनी टेलिभिजनको शो दर्शकको मायाका कारण लामो समय चलेको हो । फिनालीमा वरिष्ठ गायकहरु सुरेश वाड्कर, बप्पी लहेरी तथा अलका याग्निकसहित उपस्थित थिए ।

यस्तै शिल्पा सेट्टी र कोरियोग्राफर गीता कपुरले आफूहरुको आउँदै गरेको शो सुपर डान्सर च्याप्टर थ्रीको प्रमोशन पनि गरे ।

इन्डियन आइडलको यो सिजन उत्कृष्ट प्रतिस्पर्धीका कारण निकै चर्चित रह्यो ।

यस्तै शोका नियमित निर्णायक अनु मलिकले बिचमै शो छोडेको विषय पनि चर्चामा रह्यो । मलिकमाथि मी टू अभियान अन्तर्गत यौन हिंसाको आरोप लागेको थियो र उनले शो छोडेका थिए । मलिकको ठाउँमा जावेद अली आए ।

२०७५ पुष ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्