News Portal

प्रहरी कर्मचारीहरुलाई क्रियाशील भएर काम गर्न आइजिपी खनालको निर्देशन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६८ पटक
काठमाडौं

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुलाई क्रियाशील भएर काम गर्न निर्देशन दिएका छन्। प्रहरी निरीक्षक पदमा बढुवा भएका प्रहरी अधिकृतलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्दै आइजिपी खनालले भने, ‘सुरक्षा नभई विकास हुँदैन, क्रियाशील भएर काम गर्नुस्।’

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तह, नागरिक समाज र विद्यालयस्तरसम्म गएर प्रहरीले नजिकबाट काम गर्नुपर्ने उल्लेख गर्दै आइजिपी खनालले सुरक्षा नभई विकास हुँदैन भन्ने कुरा जनस्तरमा बुझाउन अझ बढी क्रियाशील भएर काम गर्न निर्देशन दिएका थिए।

कार्यालयमा आउने सेवाग्राही तथा समुदायसँग सुमधुर सम्बन्ध स्थापना गर्न र अपराधीसँग भिड्न भने पछि पर्न नहुने चर्चा गर्दै उनले अझै बढी स्प्रिटमा अगाडि बढ्नुपर्नेतर्फ जोड दिएका थिए।

आइजिपी खनालले प्रहरी कर्मचारीहरू सांगठनिक नीति, दृष्टिकोण र प्रचलित ऐन कानुनको अक्षरसः पालना गरेर काम गर्नुपर्ने बताए। प्रहरी कर्मचारी राष्ट्र, समाज र नागरिकको सेवामा निष्ठापूर्वक समर्पित हुनुपर्ने उनको भनाइ थियो। हरेक प्रहरी कर्मचारीले निस्वार्थ सेवा/समर्पणभावले इमानदारीतापूर्वक र पूर्वाग्रहरहित भएर काम गर्नुपर्नेमा आीजपी खनालले जोड दिएका थिए।

आइजिपी खनालले संगठनको मेरुदण्डका रुपमा रहेको प्रहरी निरीक्षकको दर्जा, नागरिकले समेत बढी विश्वास गर्ने भएकोले त्यो विश्वास कायम राख्न पुरानो सोच परिवर्तन गरी काम गर्नुपर्ने उल्लेख गरे। अनेक दुःख र पसिना बगाई गरेको काम यदाकदा हुने गलत अभ्यास र व्यवहारले ओझेलमा पर्ने भएकोले कमजोरी सच्याएर उत्कृष्ट काम गर्दै संगठनको श्रीवृद्धि बढाउनेतर्फ लाग्नुपर्नेमा उनको जोड थियो।

प्रहरी संगठन अझै राम्रो बनाउन, स्तरोन्नति गर्न र नियमित कामका साथै ठोस उपलब्धि हासिल गर्न धेरै कुरा परिवर्तन भइरहेको चर्चा गर्दै आइजिपी खनालले संगठनले सुरु गरेको कामलाई सफल पार्न निर्भीक भई काम गर्नुपर्ने बताए।

खनालले कार्यक्षेत्रमा अन्य निकायसँग समन्वय गर्दै स्वस्थ्य वातावरणमा रहेर राम्रोसँग काम गर्नुपर्नेमा जोड दिँदैं संगठनको मर्यादा बढाउनेतर्फ लाग्न आग्रह गरे। कार्यालय व्यवस्थापन, शौचालय सरसफाईलगायत सबै आयाम पूरा गर्न र सक्दो राम्रो गर्न समेत उनले सचेत गराए।

जेष्ठता, कामको मूल्यांकनलगायतका मापदण्डको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले संख्या कम भएका कारण राम्रो अधिकृत पनि छुट्न सक्ने संकेत गरेका थिए। बढुवाले ठूलो जिम्मेवारी दिएकोले कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै संगठनले लिएको नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्न कटिबद्ध हुनुपर्ने बताएका थिए।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूका तर्फबाट मन्तव्य राख्दै प्रहरी निरीक्षक कृष्णबहादुर धितालले जिम्मेवारी थप भएको अवस्थामा संगठनको नीति अनुरुप जिम्मेवार भई संगठनको गरिमालाई उच्च राख्न कर्तव्यनिष्ठ भई काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पदोन्नति भएका ५८ जना प्रहरी निरीक्षकमध्ये ५६ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।

१ जना हाल संयुक्त राष्ट्र संघीय मिशनमा कार्यरत र १ जना स्वास्थ्य उपचारको क्रममा रहेकाले उनीहरु सो समारोहमा उपस्थित थिएनन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।

२०७५ पुष १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्