News Portal

आठ महिनामा ७७ विदेशीलाई देशनिकाला

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०३ पटक
काठमाडौं

पौष २२ , काठमाडाैं- सरकारले वैशाख यता आठ महिनामा ७७ विदेशीलाई देशनिकाला गरेको छ । लागुऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन् ।

गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार भिसाविना नै नेपाल बसेका ३४ विदेशीलाई निकालिएको छ । उनीहरूलाई कम्तीमा एकदेखि तीन वर्षसम्म नेपाल प्रवेश नपाउने गरी निकाला गरिएको छ । त्यस्तै १३ विदेशी बैंकिङ कसुर गरेको अभियोगमा निकालिएका छन् । उनीहरू कम्तीमा तीन वर्षसम्म नेपाल बस्न पाउने छैनन् ।

जाली भिसा प्रयोग गरेर बस्दै आएका १० जनालाई पाँच वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाउँदै निकाला गरिएको छ । यस्तै लागुऔषध तथा बालयौन दुराचारमा संलग्न पाँच विदेशीलाई १० वर्षसम्म नेपाल छिर्न नपाउने गरी कारबाही गरिएको छ ।

धर्म परिवर्तन गराउँदै हिँड्ने तीन जनालाई पाँच वर्षसम्म नेपाल छिर्न प्रतिबन्ध लगाएर निकाला गरिएको छ । यो कसुरमा दुई जापानी र एक अस्ट्रेलियन कारबाहीमा परेका हुन् । खोटा सिक्का अपचलन अभियोगमा तीन विदेशीलाई तीन वर्षका लागि निकाला गरिएको छ भने हुन्डी कारोबारमा संलग्न दुई र सुन तस्करमा संलग्न दुईजनालाई दुईदेखि तीन वर्षसम्म प्रवेश नपाउने गरी पठाइएको छ ।

तथ्यांक अनुसार सार्वजनिक अपराध, वैदेशिक रोजगार कसुर, अपहरण तथा शरीर बन्धक, विदेशी विनिमय अपचलन र सरकारी छाप किर्तेमा संलग्न विदेशी पनि निकाला भएका छन् । उनीहरूलाई एकदेखि १० वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
नयाँ पत्रिकाबाट

२०७५ पुष २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्