News Portal

तीज नजिकिएसंगै बजारमा किन भयो सुनको अभाव ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५६ पटक
काठमाडौं

भदौ ६, काठमाडौं – बजारमा सुन तोकिएको मूल्य भन्दा प्रतितोला तीन हजार देखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उद्देश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकारहरु बताउँछन् । सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् ।

बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको सेन्चुरी कमर्सियल बैंकका टे«जरी विभाग प्रमुख झविन्द्र खत्रीले बताए । ‘बैंकले सदा झैं दैनिक २० किलो सुन आयात गरिरहेका छन्,’ उनले भने, ‘अभाव हुनु नपर्ने हो तर भइरहेको छ ।’

बजारमा सुनको मूल्यमा अत्यधिक गिरावट आएकाले किनेर राख्ने प्रवृत्ति बढ्दा अभाव देखिएको उनको भनाइ छ । ‘सुनको मूल्य ओरालो लाग्दा किनेर राख्ने र बढ्दा बेच्ने परिपाटीले अभाव जस्तै भएको हो,’ उनले भने, ‘नजिकिँदै गरेका चाडपर्वमा सुनको भाउ बढ्छ । अहिले सस्तोमा किनेर त्यस बेला बेच्दा फाइदा हुने भएकाले सुनको कृत्रिम अभाव सिर्जना गरिएको हो ।’ अभाव भएको भन्दै व्यापारीले सकेसम्म ढिका सुन बिक्री गर्दैनन् । बेच्नै परे बजार मूल्य भन्दा प्रतितोला तीन हजार रुपैयाँ भन्दा बढी लिएर दिने गरेका छन् ।

कृत्रिम अभाव सिर्जना गरेर ठूला व्यवसायीले कालो बजारमा सुन बेचेर अवैध नाफा कमाइरहँदा ग्राहकले भने नोक्सानी बेहोर्नु परेको छ । तीज नजिकिँदै आउँदा सुनको माग बढेर प्रतिदिन ४० किलो पुग्न लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । बैंकले बिक्री गर्ने २० किलो र अतिरिक्त पाँच किलो सुन पुराना गहना बेच्नेबाट आए पनि १५ किलो नपुग भएको शाक्यले बताए । ‘सुन सस्तिएको र चाडपर्व सुरु भएकाले माग ह्वात्तै बढेको हो,’ शाक्यले भने, ‘दैनिक साढे सात करोड रुपैयाँको सुन अपुग छ ।’
नागरिकबाट

२०७५ भदौ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्