News Portal

ट्याक्सी चाकलले अब अनिवार्य रुपमा पहेँलो ज्याकेट लगाउनुपर्ने, अटेर गरे कारबाही गरिने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९३ पटक
काठमाडौं

भदौ ६, काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट ट्याक्सी चाकलले अनिवार्य रुपमा पहेँलो ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने भएको छ । चालकको कोडको रुपमा पहेँलो रंगको ‘फ्लोरेसेन्ट’ ज्याकेटलाई सरोकारवाला निकायको समन्वयमा आजदेखि प्रयोगमा ल्याइएको हो । यो ज्याकेट रातिको समयमा पनि चम्किने र यसले यात्रुको सुरक्षा, चालकको पहिचान र अपराध न्युनिकरणमा पनि सहयोग पुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्तकुमार पन्तले बताए ।

बुधबार सुन्धारामा ५ सय ट्याक्सी चालकलाई ज्याकेट वितरण गरिएको छ । संघले व्यवस्था गरेको ज्याकेट ट्याक्सी चालकले खरिद गर्नुपर्नेछ । ‘‘ज्याकेटले चालकलाई पेशाप्रति थप जिम्मेवार र यात्रुलाई पनि ज्याकेटबाटै चालक हो होइन भन्ने कुराको पहिचान गर्न सजिलो हुन्छ,’’ एसएसपी पन्तले भने ।

ज्याकेट अनिवार्य रुपमा लगाउन पहिलो चरणमा चालकलाई सचेत गराउने र अटेर गरे कानुनी दायरामा ल्याइने एसएसपी पन्तले बताए । उपत्यकामा ११ हजारबढी ट्याक्सी चालक रहेको महाशाखाले जनाएको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पनि एक महिनाभित्र सबै चालकले अनिवार्य लगाउनुपर्ने व्यवस्था रहेको बताए ।

२०७५ भदौ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्