News Portal

सिंहदरबारको पश्चिम गेटको छेउमा ११ तले होटेल खुल्दै, गुप्तचर मुख्यालयलाई जोखिम

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०७ पटक
काठमाडौं

माघ १४ काठमाडौँ – देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको पश्चिम गेटको छेउमा ११ तले होटेल खुल्दैछ । होटेलबाट छेउमा रहेको राष्ट्रिय अनुसन्धान विभागको सम्पूर्ण कार्यालय निगरानी गर्न सकिन्छ भने सिंहदरबार नै ‘सुरक्षा जोखिम’ मा परेको छ ।

होटेल निर्माण सुरु भए लगत्तै राष्ट्रिय अनुसन्धान विभागले तत्काल रोक्नुपर्ने भन्दै गृह मन्त्रालयमार्फत सरकारलाई प्रस्ताव गरेको थियो । सिंहदरबारका अन्य निकायले पनि यसले असुरक्षा निम्त्याउने आवाज उठाएपछि केही समय निर्माण रोकियो । तर निर्माणकर्ता विशाल पण्डितले पछि लबिङ गरेर होटेल निर्माणलाई निरन्तरता दिएका थिए । अहिले होटेल सञ्चालनको तयारी भइरहेको छ ।

होटेल सञ्चालनको तयारी भइरहँदा प्रमुख प्रशासनिक केन्द्रमा निम्त्याउन सक्ने जोखिमप्रति सुरक्षाका अधिकारी चिन्तित छन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी सिंहदरबारको गेटमै अग्लो भवनमा होटेल सञ्चालन हुनु गलत भएको बताउँछन् । ‘यो विषयमा हामी पनि चिन्तित छौँ,’ उनले भने, ‘धेरै पहिले त्यो होटेल सञ्चालनका लागि अनुमति दिएको बुझिएको छ, सिंहदरबार जस्तो संवेदनशील ठाउँको अगाडि कसरी अनुमति दिइयो ? त्यो गलत छ ।’

होटेलबाट राष्ट्रिय अनुसन्धान विभागभित्र भइरहेका गतिविधिहरू निगरानी गर्न सकिन्छ । यसबाट काम गर्न निकै गाह्रो हुने विभागका अधिकारीहरू बताउँछन् । ‘होटेलमा विदेशी गुप्तचरदेखि आतंककारीसमेत बस्न सक्छन् । उनीहरूले देशको मुख्य प्रशासनिक केन्द्रको सजिलै निगरानी र अवलोकन गर्न सक्छन् । होटेलबाट सिंहदरबारलाई ठूलो जोखिम हुन सक्छ,’ अनुसन्धानका अधिकारी भन्छन् । महानगरपालिकाले सिंहदरबारको गेटमा ११ तले होटेल बनाउने स्वीकृति दिनु नै गलत भएको उनीहरूको भनाइ छ । होटेल निर्माणकर्ता पण्डित पहुँचवाला भएकाले आफूहरूले रोक्न नसकेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
नयाँ पत्रिकाबाट

२०७५ माघ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्