News Portal

ढाकामा नेपाली व्यवसायीले एकै स्वर ‘निर्यात बढाउने हो भने साझा संस्था अपरिहार्य छ ’

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७६८ पटक
काठमाडौं

माघ १६, काठमाडौं – बंगलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय व्यापार मेलाका सहभागी नेपाली व्यवसायीले निर्यात गर्ने संगठित संस्था नहुँदा निर्यात व्यापारमा उल्लेख्य प्रगति गर्न नसकिएको बताएका छन् ।

ढाकामा रहेको नेपाली राजदूतावासले नेपाली व्यवसायीसँग सोमवार साँझ गरेको छलफलका क्रममा सहभागीले यस्तो बताएका हुन् ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत धनबहादुर वलीले २४ औँ ढाका अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुन आएका नेपाली व्यावसायीलाई राजदूतावासमार्फत निर्यात प्रवद्र्धनमा जोड दिन आफू सदैव तयार रहेको जानकारी गराउँदै प्रधानमन्त्री, अर्थ मन्त्री, वाणिज्य मन्त्री लगायत सिंगो सरकार निर्यात प्रवद्र्धन बढाउने र व्यापार घाटा कम गर्ने कुरामा चिन्तित रहेको नेपाली व्यवसायीहरुसामु बताए । उनले भने, ‘बंगलादेश सरकारले नेपाली उत्पादन ९३ वटा बस्तुको सूची मागे पनि हामीले दिन सकेनौ । ’

राजदूतावासमा आयोजित छलफल कार्यक्रममा रिलायन्स ग्रुपका पवन गोल्यानले निर्यात प्रवर्धन गर्न अलग्गै संस्था आवश्यक रहेको बताए । सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपानेले नेपालले कृषि र सेवा निर्यात गर्न सम्भावना भएको बताए । उनले भने, अव आयात निर्यात एउटै संस्थाबाट सम्भव छैन ।

नेपाल बंगलादेश च्याम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले नेपालबाट निर्यात हुने मुख्य बस्तु कृषि उत्पादन र हस्तकला मुख्य रहेको बताए ।

नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देवीका बुढाथोकीले बंगलादेश नेपाली उत्पादन निर्यात गर्न सकिने राम्रो बजार भए पनि भन्सार र भिषाको कारणले नेपालीहरुलाई समस्या हुने गरेको बताइन् ।

कार्यक्रममा बोल्दै नेपाल हस्तकला कालिगढ संघका अध्यक्ष हरि सेन्च्युरीले नेपाली युवाहरु विदेश जाने तथा दक्ष जनशक्तिको अभावमा हस्तकला उत्पादनमा धेरै समस्या रहेको उल्लेख गरे । नेपाली हस्तकलाको बजारलाई विश्वब्यापीकरण गर्न सरकारले नै विशेष पहल गर्नुपर्ने बताउँदै उनले आगामी दिनमा नेपालका युवाहरुलाई विदेश जानेभन्दा नेपालमै बसेर काम गर्ने नीति बनाउन आवश्यक रहेको बताए । ‘अहिले हस्तकलाको लागि दक्ष र अनुभवी जनशक्ति कम छ, हामीले यसमा लगानी गरेर ध्यान दिन सकेनौं भने आगामी दिनमा यो समस्या टड्कारो रुपमा देखा पर्दैछ ’ उनले भने ।

यस्तै यार्चा गुम्बा लगायतका जडिबुटी निर्यात गर्दै आएका धनबहादुर लामाले जडिबुटी निर्यात गर्न भन्सारको समस्या हुने गरेको बताए । उनले निर्यात बढाउने हो भने भन्सारको सहजीकरण आवश्यक रहेको बताए ।

२०७५ माघ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्