News Portal

ओली नेतृत्वको सरकारको एक बर्षे कार्यकालः सरकारप्रति आमजनताका गुनासोको थुप्रो

रामप्रसाद गैरेकाठमाडौं
२४५ पटक
काठमाडौं

फागुन ६, काठमाडौँ – आज केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । बिकाश, समृद्दि र सुशासन कायम गर्ने लक्ष्यका साथ यो बर्तमान ओली सरकार गठन भएको थियो । तर त्यो अनुसार काम हुन नसकेको धेरैको गुनासो छ । संघीयता कार्यान्वयन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने काममा सरकार चुकेको देखिन्छ । सरकारले सुशासन, विकास र समृद्धि कायम गर्नुपर्ने विषयलाई पनि आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आएको छ । यो काम पनि एक बर्षे कार्यकालमा त्यति प्रभावकारी ढंगले हुन सकेन । जसले गर्दा आम जनता निराश छन । जनतालाई बर्तमान सरकारले आशा जगाउने काम गर्नु पर्छ ।

ओली नेतृत्वको सरकारले आमजनताले सोचेअनुसार सफलता हासिल गर्न सकेको छैन । त्यसैले सरकारप्रति आमजनताका गुनासाका चाङ चुलिँदै गएका छन । सरकारका योजना र कार्यक्रम निकै राम्रा छन । तर त्यसको कार्यान्वयन पक्ष निकै फितलो छ । सरकारले ल्याउने गरेका योजना र कार्यक्रमले मूर्त रूप पाउनु पर्छ । प्रधानमन्त्री ओलीले आफ्नो सरकारको कार्यकाल एक वर्ष पूरा भएको अवसरमा गरेको सम्बोधनमा भने विकास निर्माणका काममा उल्लेख्य सफलता हासिल भएको बताउनु भएको छ । सरकारले किसानमाथि रहेको सरकारी ऋण मिनाह गरिएको कुरालाई महत्वपूर्ण उपलब्धि मानेको छ । त्यसै गरी सरकारले कानुन निर्माण तथा संशोधनका कुरालाई सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिएको छ ।

संविधान कार्यान्वयन र संघीयता लागू गर्नका लागि कानुन निर्माणको प्रक्रिया पूरा गरेको विषयलाई सरकारले महत्वपूर्ण उपलब्धि ठानेको छ । यसका साथै आर्थिक सूचकांक निकै आशावादी रहेको र आर्थिक तथ्यांक पनि उकालो लागिरहेको दाबी गरिरहेको छ । देशमा वैदेशिक सहयोग बढिरहेको तथ्यांक प्रस्तुत गरिएको छ । तर, पनि आमजनतामा सरकारप्रतिको भरोसा र अपेक्षा भने बढ्न सकेको देखिँदैन । सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाले धेरैको ध्यान केन्द्रित गरेको छ । यसले कामदार तथा कर्मचारीका लागि निकै सहयोग पु¥याउने विश्वास गर्न सकिन्छ ।

यसैगरी ज्येष्ठ नागरिक बिमा, श्रमिकको ज्याला वृद्धि, जलविद्युत् उत्पादनमा बढोत्तरी, वैदेशिक रोजगारीको अवसरमा वृद्धि, यातायात सिन्डिकेट हटाउने पहल, राष्ट्रिय गौरवका आयोजनामा प्राथमिकता, राजदूत नियुक्तिको मापदण्ड कायम तथा पानीजहाज कार्यालय स्थापना र सञ्चालनलाई सरकारको एक बर्षे कार्यकालको उपलब्धिका रूपमा लिन सकिन्छ । प्रदेश तथा स्थानीय सरकारमा कर्मचारी समायोजन, प्रदेश तथा स्थानीय सरकार सञ्चालनका लागि कानुन निर्माण, देशमा लोडसेडिङको अन्त्यको घोषणा, जस्ता महत्वपूर्ण काम एक बर्षको अवधिमा सरकारले गरेको छ ।

प्रधानमन्त्री कृषि परियोजना, पर्यटन आगमनमा वृद्धि, विद्यालयमा निःशुल्क इन्टरनेटको व्यवस्था, बन्द उद्योग सञ्चालन र विदेशबाट फर्किएकाका लागि सहुलियत ऋण जस्ता यी सरकारका राम्रा काम हुन । यी कुरा सरकारले कतिपयलाई तात्कालीन र कतिपयलाई दीर्घकालीन रूपमा अघि सारेको छ ।सरकारका यी योजना तथा कार्यक्रम निकै आशालाग्दा छन् । तर, तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण सरकार अलोकप्रिय बनेको हो । यसका लागि योजना तथा कार्यक्रम कार्यान्वयनमा सरकारले सार्थकता देखाउनुपर्छ ।

२०७५ फागुन ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्