News Portal

अध्यक्ष बस्नेतको कारबाही नमान्ने सिन्धु तरुणको उद्घोष

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६९० पटक
काठमाडौं

काठमाडौं । वर्तमान ओली नेतृत्वको सरकारले १ वर्षसम्म पनि जनताको जिविकासँग प्रत्यक्ष सरोकार राख्ने काम गर्न नसकेको भन्दै सिन्धु तरुण दलले आरोप लगाएको छ ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले बाह्रबिसे बजारमा आयोजना गरेको विरोध सभाका अधिकांश वक्ताहरुले यो सरकार गलत र भ्रमपूर्ण प्रचारमा मात्रै केन्द्रित रहेकोमा आक्रोशसमेत ब्यक्त गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले वाम सरकारले आफूलाई दुई तिहाईको दम्भ देखाउने कामसिवाय अरु केही गर्न नसकेको आरोप लगाए । सभापति बस्नेतले भने, ‘काम गरेर देखाउन सक्ने नेपाली कांग्रेसले मात्रै हो कम्युनिष्टको काम त प्रचारबाजी गरेर जनतामा भ्रम छर्ने मात्र हो, हामी सबैले बुझ्नु जरुरी छ ।’
तरुण दलका जिल्ला अध्यक्ष प्रमोद तामाङले हालै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले जिल्लामा समानान्तर गतिविधि गरेको आरोपमा २२ जना तरुण कार्यकतामाथि गरिएको कारबाही आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताए । उनले आफ्नो नेतृत्वमा रहेको जिल्ला कार्यसमिति नै वैधानिक र आधिकारिक भएको दावी गरे । केन्द्रीय समितिलाई समेत पूर्णता दिन नसक्ने बस्नेतले कारबाही गर्नुको कुनै औचित्य नभएको उनको भनाइ थियो ।

यस्तै नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष सगुन श्रेष्ठले पार्टीले आधिकारिक रुपमा कारबाही गरिसकेको ब्यक्तिलाई अध्यक्ष मान्न नसकिने तर्क गर्दै केन्द्रीय अध्यक्ष बस्नेतले गरेको कारबाहीलाई चुनौती दिन आफुहरु तयार भएको बताए । उनले भने, ‘सिन्धुपाल्चोकमा २२ जना तरुण नेतालाई कारबाही गरेर तर्साउन खोजिएको होला तर हामी सिन्धुपाल्चोकमा अरु २२ सय तरुण एकजुट गरेर अगाडि बढ्छौं, यो कारबाही हामी स्वीकार गर्दैनौं । ’ उनले थपे ‘अध्यक्ष बस्नेत अब २२ सय तरुणलाई कारबाही गर्न तयार भएर बसे हुन्छ ।’

नेपाली कांग्रेसका युवा नेता युधिर पौडेलले कम्युनिष्ट सरकार गठन भएको १ वर्षमा नेपालमा भ्रष्टाचार ह्वात्तै बढेको, महंगी धेरै बढेको, वाइडबडीमा ४ अर्बभन्दा बढीको अनियमितता भएको, निर्मला बलात्कार काण्डमा ढाकछोप गर्ने प्रयास गरेको जस्ता उदाहरुण प्रस्तुत गर्दै अब नेपाली कांग्रेस चुप लागेर बस्न नहुने बताए । विरोध सभामा सुनकोशी गाउँपालिकाका अध्यक्ष विनोद जिसी, नेत्रबहादुर थापा, राजकुमार तामाङ लगायतका नेताहरुले वर्तमान सरकारको कार्यशैलीप्रति तीब्र असन्तुष्टि ब्यक्त गरेका थिए ।

उनीहरुले छिरिङ तामाङको अध्यक्षतामा २१ सदस्यीय बाह्रबिसे नगर समिति समेत गठन गरेको बताएका छन् ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले जिल्लामा समानान्तर समिति गठन गरेर गतिविधि गरेको आरोपमा प्रमोद तामाङको नेतृत्वमा रहेको २१ जना र दोर्जे लामाको नेतृत्वमा उपाध्यक्ष रहेको सगुन श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए । उता प्रमोद तामाङ पक्षीय समुहले भने स्थानीय निर्वाचनको समयमा दोर्जे लामा नेपाली कांग्रेस परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेपछि उनलाई जिल्ला समितिले पार्टीको साधारण सदस्य समेत नरहने गरेर कारबाही गरेको थियो ।

२०७५ फागुन ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्