News Portal

रेल चढेर भियतनाम पुगे उत्तर कोरियाका नेता किम

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६७ पटक
काठमाडौं

उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो ऐतिहासिक वार्ताका लागि भियतनाम पुगेका छन् ।

उत्तर कोरियाली नेता किम आफ्नो हरियो र पहेँलो रेलबाट भियतनामको डोङ्ग डाङ्ग रेलवे स्टेशनमा ओर्लिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

किमले रेलबाट ओर्लिँदै गर्दा आफ्नो स्वागतका लागि आएकाहरुलाई अभिवादन गरेका छन् । किम रेलबाट ओर्लिएर मर्सिडिज बेन्ज कारमा चढे ।

किमले राजधानी हानोइसम्मको यात्रा कारमा गर्ने छन् । किम ओर्लिएको रेलवे स्टेसनबाट राजधानी हानोइ १०५ माइलको दूरीमा छ ।

ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच दोस्रो ऐतिहासिक वार्ता हुँदैछ । भियतनामको राजधानी हानोइमा बुधबार र बिहीबार हुने वार्ताको तयारी पूरा भएको जनाइएको छ ।

दुई नेताबिच गएको वर्षको जुनमा सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको थियो । त्यो भेटमा उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम बन्द गर्न सहमत भएको थियो ।

भियतनाममा हुने दोस्रो वार्तामा पहिलो वार्तामा भएका सम्झौता कार्यान्वयनको समीक्षा हुने तथा नयाँ रणनीतिसहितको सम्झौता हुने सम्भावना छन् ।

किमको साथमा उनकी बहिनी किम यो जोङ र उनका प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि रहेका छन् ।

किमसहितको टोली भियतनामका लागि शनिबार अबेर रेलमा प्रस्थान गरेका थिए । किम चीन हुँदै भियतनाम पुगेका हुन् ।

२०७५ फागुन १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्