News Portal

हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको यस्तो छ पृष्ठभूमि

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३८८ पटक
काठमाडौं

फागुन १५, काठमाडौं – पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

२०७४ चैत २ गते मन्त्रीको पद तथा गोपनियताको सपथ लिँदै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका अधिकारीको बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएको हो । पर्यटन र विमानस्थल सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अधिकारीको विमानस्थल सम्भाव्यता अनुगमन गर्न जाँदा नै निधन हुन पुग्यो । मन्त्री पद सम्हालेको ११ महिना बित्दै गर्दा मन्त्री अधिकारी मंगलबार तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न जानुभएको थियो । फर्कने क्रममा उहाँको हेलिकप्टर दुर्घटनामा परि निधन भएको हो ।

२०२६ वैशाख २२ गते कास्कीको भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीको जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएको थियो ।
गाउँकै ब्रह्मज्योति प्रावि शान्ति पंधेरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि(हालको उच्च मावि) बरपाण्डेथुमबाट माध्यामिक शिक्षा प्राप्त गर्नुभएको थियो ।
माध्यमिक विद्यालयका शिक्षक रहनुभएका बुवाका कारण पनि उहाँलाई शिक्षा हासिल गर्न सहज भएको थियो ।

सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयबाटै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राजनीतिमा लाग्नु भएको थियो । यसका साथै रेडक्रस तथा क्लबमा संलग्न हुँदै सामाजिक काममा सक्रिय रहनुभएको थियो ।

विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायतका मध्यमबाट राजनितिक जागरण सिर्जना गर्न सफल अधिकारी हाइस्कुले जीवनमा विद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित विद्यार्थी हुनुहुन्थ्यो । अधिकारीले विद्यार्थी जीवनमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रममा पनि भाग लिनुभएको थियो ।

विद्यार्थी राजनीति र उच्च शिक्षा

प्रवेशिका उत्तीर्ण गरेपछि अधिकारी वन विज्ञान अध्ययन संस्थानमा भर्ना हुनु भएको थियो । तर केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरू गर्नु भएको थियो । २०४४ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष हुनुभएका अधिकारी त्यसपछि राजनीतिमा छलाङ मार्दै अघि बढ्नुभएको थियो ।

२०४५ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियू सदस्य, २०४५ सालमा नै अनेरास्ववियू कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियू केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको अध्यक्ष बन्न सफल हुनुभएको थियो ।

२०५३ सालमा आइपुग्दा अधिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू सभापतिमा निर्वाचित हुँदै आफ्नो राजनीतिक मैदान फराकिलो बनाउन सफल हुनुभयो । २०५३ सालमा नै स्ववियू काउन्सिल नेपालको संयोजक निर्वाचित हुनु भएका अधिकारी २०५६ सालमा अनेरास्ववियूको केन्द्रीय अध्यक्ष बन्नु भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका अधिकारीले ‘संविधान सभा लोकतन्त्र र पुनर्संरचना’ र ‘समृद्द नेपाल’ नामक दुई वटा पुस्तक पनि प्रकाशित गर्नु भएको छ । विगत दुई दशकदेखि उहाँको अनुसन्धान र राजनीतिक लेखहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका छन् ।

२०४५ मा १ वर्ष माध्यमिक विद्यालयको शिक्षकसमेत बन्नुभएका अधिकारीले मन्त्री हुनु अघिसम्म पनि विभिन्न क्याम्पसहरुमा अतिथि शिक्षकको रुपमा अध्यापन गर्न पुग्नुहुन्थ्यो ।

विद्यार्थी आन्दोलन र जेल

पञ्चायत विरोधी २०४६ को जनआन्दोलनमा क्रियाशील अधिकारीले पञ्चायतकालमा पटक–पटक गरी ६ महिना जेल र हिरासतमा बिताउनु भएको थियो । पोखरामै रहेर विद्यार्थी आन्दोलनको मोर्चा सम्हालेका अधिकारीले सफल नेतृत्व गर्नु भएको थियो । २०४६ को  परिवर्तनपछि विद्यार्थी आन्दोलन रचनात्मक र शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने विचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई कार्यान्वयनमा ल्याउन सफल हुनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियू सभापति हुँदा पुस्तकालय, शैक्षिक वातावरण, शैक्षिक गुणस्तर, खेल मैदान निर्माण, प्रवेश परीक्षा, वरिष्ठ प्राध्यापक हरुको सम्मानजस्ता रचनात्मक कार्यक्रम सञ्चालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले विश्वविद्यालयमा निरन्तर प्राज्ञिक बहस चलाउने काम पनि गर्नुभएको थियो । अर्थशास्त्र विभागका प्राध्यापक टीपी चौधरीलाई वरिष्ठ प्राध्यापकको उपाधि उहाँकै पहलमा सम्भव भएको थियो ।

अधिकारीले विद्यार्थी जीवनमा नै ‘हत्यारा बस्ने दरबारमा होइन, जेलमा हो’ भन्दै पाँच लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने अभियानको पनि अगुवाइ गर्नुभएको थियो ।

यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाको रुपमा विद्यार्थी आन्दोलनमा उहाँको नाम नमेटिने गरी लेखिएको छ ।

पार्टी राजनीति 

२०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनु भएका अधिकारी २०४० मा इलाका पार्टी कमिटीको राजनीतिमा संलग्न हुनुहुन्थ्यो । २०४५ मा पार्टीको संगठित सदस्यता लिनुभएका अधिकारीले २०४६ र ४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहँदै आउनुभएको थियो ।

२०६२/६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमनविरुद्दको आन्दोलनमा पटक–पटक गरी अधिकारीले थप पाँच महिना जेल जीवन विताउनुभएको थियो ।

पार्टीको राष्ट्रिय परिषद सदस्य, अञ्चल कमिटी सदस्य भएर काम गरी सक्नु भएका अधिकारी पछिल्लो समय तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

लगातार तीन पटक निर्वाचित

२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो । संविधानसभा सदस्य हुँदा संविधान निर्माण तथा सार्वजनिक लेखा समितिमा रहेर खेलेको भूमिकाले अधिकारीको व्यक्तिगत जीवन झनै उचो बनाएको थियो ।

त्यसैले २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा पनि अधिकारी भारी मतले निर्वाचित हुन सफल हुनुभएको थियो ।

कास्की क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएका अधिकारीको क्रियाशीलताकै कारण पछिल्लो पटक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने अवसर पाउनुभएको थियो ।

विकासका लागि राजनीति भन्ने मान्यता बोकेका अधिकारी विकासप्रेमी नेताको रुपमा पनि परिचित हुनुहुन्थ्यो ।

स्राेत – http://rabindraadhikari.com

२०७५ फागुन १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्