News Portal

आज सेना दिवस, व्यवसायिक क्षमता वृद्धि गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३१ पटक
काठमाडौं

फागुन २० काठमाडौँ – महाशिवरात्रिका दिन सोमबार नेपाली सेनाले सेना दिवस देशरभर मनाउँदै छ । । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टँुडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने छ ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसको अवसरमा सोमबार आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने छिन् । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

सैनिक मञ्चको समारोहमा परेड (शस्त्राभ्यास) र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम हुनेछन् । सेनाको प्रयोगमा रहेका हात हतियार र उपकरणको प्रदर्शनी तथा सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिएका छन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले उत्कृष्ट कार्यसम्पादन गर्ने गण र गुल्मलाई पुरस्कार तथा नयाँ गण र गुल्मलाई निशान प्रदान गर्ने छन् । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदै छन् ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताएका छन् ।

सेना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकाले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्न अग्रसर हुनुपर्नेमा प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरेका छन् ।

२०७५ फागुन २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्