News Portal

अधिकारीको निधनमा प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५१ पटक
काठमाडौं

फागुन २१, काठमाडौं । संसदको प्रतिनिधिसभा बैठकले पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकले तत्कालिन एमालेका तर्फबाट तीन पटक प्रत्यक्ष निर्वाचित सांसद अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो। उनी २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित भएका थिए। यसैगरी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि अधिकारी सांसद चुनिएका थिए। अधिकारीको निधनमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको शोकप्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

अधिकारी २०७० सालको संविधानसभामा एमालेकै तर्फबाट समानुपातिक सदस्य थिए। उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४६ मा गठन भएको संविधान सुझाव आयोगको सदस्यसमेत रहेका अधिकारी लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको प्रतिनिधिसभाले पारित गरेको शोक प्रस्तावमा उल्लेख छ। अधिकारीको उपचारका क्रममा फागुन १८ गते निधन भएको हो। ८३ वर्षीय अधिकारीले राज्यका लागि पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै प्रतिनिधिसभाको बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

२०७५ फागुन २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्