News Portal

नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरूङको घरमा बम बिस्फोट

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८० पटक
काठमाडौं

फागुन २४, काठमाडौ – शुक्रबार साँझ राजधानीको बसुन्धरास्थित नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरूङको घरमा बम बिस्फोट भएको छ।  बिस्फोटपछि भएको आगलागीबाट तीन तले घरको पहिलो तलामा क्षति पुगेको छ। यस्तै पार्किङ गरी राखिएको गुरूङको ल्याण्ड क्रुजर गाडी पनि जलेको छ।

सुरूमा ग्यास सिलिन्डर बिस्फोट भएको अनुमान गरिए पनि बम नै रहेको पुष्टि भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

‘टोलभरि सुनिने गरी बिस्फोट भएको थियो। सुरूमा बम भन्ने यकिन थिएन,’ डिआइजी थापाले भने, ‘प्रहरीले थप अनुसन्धान गरिरहेको छ।’

बम कसले राखेको थियो भन्नेबारे यकिन नभए पनि विप्लव समूहमाथि शंका गरिएको छ।

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि विप्लव समूहले शक्तिशाली बम बिस्फोट गराएको थियो। बिस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए।

यो घटनापछि प्रहरीले विप्लव समूहमाथि कडा छानविन गर्दै आएको छ।

अहिले बिस्फोट भएको बसुन्धरास्थित गुरूङको घर र आइजी सर्वेन्द्र खनालको घर नजिकै छ।

बिस्फोटबाट गुरूङको घरमा रहेको सटर भाडा लिएर बस्ने मणिराम पौडले घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

२०७५ फागुन २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्