News Portal

रोनाल्डोले किन लगाउँछन् ७ नम्बरको जर्सी ? यस्तो छ कारण

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३४४ पटक
काठमाडौं

काठमाडौं — क्रिस्टियानो रोनाल्डो आफ्नो ७ नम्बरको जर्सीका पर्यायवाची बनिसकेका छन् ।  उनले म्यानचेस्टर युनाइटेडमा खेल्न थालेदेखि नै ७ नम्बरको जर्सी लगाउन थालेका थिए । रियाल मड्रिड अनि अहिले युभेन्टसमा उनले त्यो परम्परा कायम राखेका छन् ।

पोर्तुगालका यी सुपरस्टारलाई सीआर७ भनी चिनिन्छ । उनले नाम र थरको पहिलो अक्षर अनि जर्सी नम्बर राखेर अन्तर्राष्ट्रिय ब्रान्ड नै बनाएका छन् । उनले अर्को कुनै नम्बरबाट खेलेको याद मुश्किलले मात्र आउँछ ।

यी ३३ वर्षीय खेलाडीले युभेन्टसमा हुआँ कुआद्रादोबाट ७ नम्बर जर्सी लिएका छन् । कुआद्रादोले १६ नम्बर जर्सी पाएका छन् । क्लब र देश दुवै खेलमा रोनाल्डोले ७ नम्बर जर्सी नै लिने गरेका छन् ।

किन त ?

फूटबल करीयरको शुरूआतमा स्पोर्टिङ क्लबमा खेल्दा उनले २८ नम्बरको जर्सी लगाउँथे तर सन् २००४ मा म्यानचेस्टर युनाइटेड आएपछि उनलाई तत्कालीन व्यवस्थापक सर एलेक्स फर्गुसनले ७ नम्बरको जर्सी लगाउन विश्वस्त पारे ।

त्यो जर्सी लगाएका पुराना खेलाडीकै उचाइँमा रोनाल्डो पुग्ने फर्गुसनको विश्वास थियो । त्यसपछि नयाँ युगको शुरूआत भयो ।

उनीअघि डेभिड बेकहम, जर्ज बेस्ट र एरिक क्यान्टोना जस्ता महान् खेलाडीले ७ नम्बरको जर्सी लगाएका थिए ।

हुन पनि रोनाल्डोले प्रिमियर लीगमा तहल्कै मच्चाउँदै विपक्षी टोलीको डिफेन्स तहसनहस पारे । उनले इंग्ल्यान्डमै हुँदा सन् २००८ मा पहिलो बालोन डोर जिते । त्यतिखेर उनले एक सीजनमा ४२ गोल गरेका थिए ।

सन् २००९ मा उनी रियाल मड्रिड आउँदा केही समयका लागि ९ नम्बरको जर्सी लगाए किनकि क्लबका महान् खेलाडी राउलले ७ नम्बरको जर्सी लगाउँथे । राउल साल्के गएपछि रोनाल्डोले ७ नम्बर पाए ।

त्यसपछि रोनाल्डोको ७ नम्बर जर्सी प्रख्यात भयो ।

उनले पोर्तुगाल राष्ट्रिय टोलीमा शुरूमा खेल्दा १७ नम्बरको जर्सी लगाएका थिए । त्यतिखेर उनले सन् २००४ को युरोपीयन च्याम्पियनशिपमा महान् खेलाडी लुइस फिगोसँग खेलेका थिए ।

फिगोले ७ नम्बरको जर्सी लगाएर खेल्थे । फिगो रिटायर भएपछि रोनाल्डोले त्यो नम्बर लिए र अहिलेसम्म पनि प्रयोग गरिरहेका छन् ।

त्यसैपनि पश्चिमी मुलुकहरूमा सात अंकलाई भाग्य र छुकसँग जोड्ने गरिएको छ ।

गोल डट्कमबाट

२०७५ भदौ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्