News Portal

मन्त्रीको काम सन्तोषजनक नदेखिएकाले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, को को हट्दैछन् , को को आउँदै छन् ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७८ पटक
काठमाडौं

चैत्र ३ काठमाडौँ – दुई तिहाइ बहुमतको सरकार हुँदा समेत मन्त्रीको काम सन्तोषजनक नदेखिएकाले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी प्रधानमन्त्रीले गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली निकटका उच्च स्रोतले दिएको जानकारी अनुसार काठमाडौंमा हुने लगानी सम्मेलनपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, खानेपानीमन्त्री विना मगर, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनाल लगायत कमजोर देखिएको स्रोतको दाबी छ ।

यसैगरी अर्थमन्त्री डा युवराज खतिवडालाई पदमुक्त गर्न नेकपाभित्र चर्को दबाब बढेको छ । तर खतिवडालाई प्रधानमन्त्री आफैंले ल्याएकाले उनी पदमुक्त हुने सम्भावना न्यून रहेको छ । यस्तै खानेपानीमन्त्री मगर अध्यक्ष दाहालको बुहारी भएकाले उनलाई पनि हटाउन प्रधानमन्त्री ओलीलाई सकस छ ।

शनिबार जनकपुर पुगेका भौतिक पूर्वाधारमन्त्री महासेठले मन्त्री पदबाट हट्न लागेको संकेत दिएका छन् । जनकपुरको मुजेलीयास्थित राधाकृष्ण सार्वजनिक पुस्ताकलयका नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई शपथग्रहण कार्यक्रममा मन्त्री महासेठले आफ्नो मन्तव्यका क्रममा आफू मन्त्री नरहे पनि सांसद पदमा रहिरहने भन्दै जनकपुरको विकासका लागि निरन्तर लागि पर्ने बताएका छन् ।

उनले आफू मन्त्री नरहँदा पनि जनकपुरसहित हरेक क्षेत्रको विकासका लागि निरन्तर लागि परेको दाबी गर्दै पूर्वाधारसहित हरेकक्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । मन्त्री महासेठले मन्त्री फेरबदलबारे पार्टीमा कुनै किसिमको विवाद नरहेको पनि स्पष्ट पारे । उनले मन्त्री बनेर मात्रै जनकपुर क्षेत्रको विकास सम्भव नरहेको समेत जिकिर गरेका थिए ।

यसैगरी उद्योगमन्त्री यादवले समेत मन्त्री नरहने संकेत दिइसकेका छन् । दुई दिनअघि काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री यादवले मन्त्री हेरफेर हुन लागेको संकेत गर्दै जनताको सेवामा सधैं लागि रहने बताए ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सो मन्त्रालय खाली छ । नेकपा स्रोतका अनुसार रिक्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा योगेश भट्टराईलाई लैजानेबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचमा छलफल भएको छ । तर त्यो भन्दा अगाडि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लैजाने र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई विष्टको ठाउँमा लैजाने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।
राजधानीबाट

२०७५ चैत ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्