News Portal

सकारात्मक सोचको जादु, हेर्नुहोस् नकारात्मक सोचले कहाँ पुर्याउछ ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४८९ पटक
काठमाडौं

काठमाडौँ – साधुले घुम्दाघुम्दै एउटा शहरमा पुगेर धुनी लगाए । संयोगवश त्यो स्थानको नजिकै नगरवधूको घर थियो । त्यहाँ मान्छेको आउने जाने क्रम चलिरहन्थ्यो । साधुले धुनीमा बसीबसी ती मान्छेको गणना गर्न थाले ।

कुनै नयाँ मान्छे नगरवधूको घरमा पस्नासाथ साधु एउटा ढुङ्गा आफनो छेउमा राख्थे । यसो गर्दागर्दै उनको अगाडि ढुङ्गाको थुप्रो लाग्यो । कुचिन्तनको प्रभावले साधुको मन पनि बिस्तारै–बिस्तारै नगरवधूतिर आकर्षित हुन थाल्यो । नगरवधूको घरभित्र हुने रमझमको चिन्तन गर्दै साधुको मन पनि त्यस्तै कल्पनामा डुब्न लाग्यो ।

उता नगरबधूको मन भने साधुले गरेको पूजा–पाठ आदिमा जान्थ्यो । एक दिन नगरवधू कतै जान घरबाट बाहिर निस्कँदै थिई । साधुले बोलाएर ढुङ्गाको थुप्रो देखाउँदै भने, ए पापिनी, हेर्, यो तेरो कृत्यको थुप्रो । तँैले कति मान्छेलाई भ्रष्ट पारिस् । तँैले अन्तकालसम्म नरकमा कुहिएर बस्नुपर्छ ।

साधुका कुराले नगरवधू काँप्न थाली । ऊ डराएर घरभित्र गई । पश्चात्तापको अगिलने उसको मन डढ्न लाग्यो । ऊ ओछ्यानमा पल्टेर हिक्क–हिक्क गर्दै भगवानसंग प्राथना गर्न थाली, हे भगवान । म पतित हुँ । तर, हजुर त पतितपावन हुनुहुन्छ । ममाथि दया गर्नुहोस । मैले बाध्यताले यो काम गरेकी हुँ । मेरो मन त महलबाहिर बस्ने, हजुरको भजन गर्ने साधुकै चरणकमलमा लागिरहन्थ्यो । हे प्रभु । मैले आजसम्म कसैको कुभलो पनि सोचेको छैन ।्

नगरवधूले यसरी भगवान्सँग प्रार्थना गर्दै थिई । त्यसैबेला उसको प्राण छुट्यो ।

त्यसै समय उता साधुको पनि प्राण छुट्यो । साधुले प्राण त्याग्ने बेलामा पनि नगरवधूको घरमा हुने कुकृत्यको नै चिन्तन गर्दै प्राण छाडे । यमदुतले आएर उनलाई नरक हिँड भने ।
साधुले भने, शायद तिमीहरु झुक्किएजस्तो छौ । म त साधु हुँ । तिमीहरु नगरवधूलाई लिन आएको हुनुपर्छ ।

यमदुतले भने, अन्तिम समयमा पश्चात्तापपूर्वक भगवान्सँग प्रार्थना गर्दै शरणमा परिरहेकै बेला उसको प्राण छुटेर नगरवधू त भगवानको धाम वैकुण्ठ गइसकी । तर, तिमीले आजीवन कुकृत्यको चिन्तन र अर्काको दोष दर्शन मात्र ग¥र्यौ । तिमी साधु भएर पनि भगवान्को सट्टा वेश्याको चिन्तन गर्दै प्राण छाड्यौ । साधुको भेषमा पनि अर्काको दोष मात्रै खोज्ने काम ग¥यौ । त्यसैले तिमीले नरकमा नै जानुपर्छ ।

सुचिन्तनका कारण नगरवधू वैकुण्ठ गई । कुचिन्तका कारण साधुले नरक जानुपर्यो ।

तसर्थ, मान्छेले जहिले पनि राम्रो कुराको मात्रै चिन्तन गर्नुपर्छ । अर्काको दोष दर्शनको पनि सजाय भोग्नुपर्छ ।

२०७५ चैत १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्