News Portal

बिमस्टेक सम्मेलनमा सहभागि हुन आउने मोदी पशुपति, म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्बिनी जाने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४४३ पटक
काठमाडौं

भदौ  ९,  काठमाडौं – बिमस्टेक सम्मेलनमा सहभागि हुन आउने म्यानमारका राष्ट्राध्यक्ष र श्रीलङ्काका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गर्ने भएका छन्।

भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलनमा सहभागि हुन बिमस्टेकमा आबद्ध सातमध्ये ६ देशका सरकार प्रमुख र राष्ट्रप्रमुख नेपाल आउँदैछन्।

सबैभन्दा पहिला म्यानमारका राष्ट्राध्यक्ष यु विन मिन्च भदौ १२ गते मंगलबार नेपाल आउँदैछन्। सम्मेलनको अवसर पारेर मिन्चले नेपालको औपचारिक भ्रमणसमेत गर्न लागेका हुन्।

मिन्च सम्मेलनअघि नै लुम्बिनी जानेछन्। भदौ १३ गते मिन्चले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षी भेटवार्ता गर्नेछन् भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गर्नेछन्।

त्यस्तै श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेनाले पनि लुम्बिनी भ्रमण गर्नेछन्। उनी सम्मेलन सकिएपछि लुम्बिनी पुग्नेछन्। उनी सम्मेलनको एक दिनअघि १३ गते काठमाडौं आइपुग्नेछन्।

१४ र १५ गतेको सम्मेलन सहभागि भएपछि सिरिसेनाको १६ गते लुम्बिनी जाने कार्यक्रम छ। सिरिसेनाको भ्रमण औपचारिक हैसियतमा हुँदैछ। उनले पनि प्रधानमन्त्री ओलीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस्तै राष्ट्रपति भण्डारीसँग पनि भेटवार्ता गर्नेछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस पटकको यात्रामा पनि पशुपतिको दर्शन गर्नेछन्। मोदी सम्मेलनको दिन १४ गते बिहान काठमाडौं आइपुग्नेछन्।

मोदीले १५ गते बिहान पशुपतिको दर्शन गर्नेछन्। त्यँहा उनले भारतीय सहयोगमा निर्मित धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै मोदीले १५ गते भारत उड्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्।

सम्मेलनमा सहभागि हुन आउने राष्ट्रप्रमुख र सरकार प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले १४ गते दिवाभोजको कार्यक्रम राखेकी छिन्। दिवाभोजपछि मात्र बिमस्टेकको कार्यक्रमको औपचारिक उद्घाटन र सम्बोधनको कार्यक्रम हुनेछ।

सोही दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकमा सहभागिहरुका लागि होटल हायातमा रात्रीभोजको कार्यक्रम राखेका छन्।

१५ गते बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिहरुको रिट्रिटको कार्यक्रम छ। राजधानीको गोकर्ण रिसोर्टमा रिट्रिटको तयारी छ। तर, चाबहिल बौद्ध जोरपाटी बाटोका कारण रिट्रिटको स्थानको टुङ्गो भएको छैन।

बिमस्टेक सम्मेलनमा सहभागि हुन थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा १३ गते काठमाडौं आइपुग्नेछन्। त्यस्तै भुटानका अन्तरिम सरकारका प्रमुख एवम् प्रधान न्यायाधीश यम्बो छिरिङ वाङचुक पनि १३ गते नै नेपाल आउनेछन्।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने सम्मेलन हुने दिन १४ गते बिहान काठमाडौँ आइपुग्नेछन्।

२०७५ भदौ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्