News Portal

लगानी सम्मेलनमा माइक्रोसफ्ट र अमेजन पनि सहभागी हुने, अरु को – को छन हेर्नुहोस

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९७ पटक
काठमाडौं

काठमाडौँ – भोलीदेखि काठमाडौंमा सुरू हुने लगानी सम्मेलनमा विश्व प्रसिद्ध कम्पनीहरू पनि सहभागी हुने भएका छन्।

विदेशी लगानीकर्तालाई नेपालको बजार र व्यवस्थाका बारेमा जानकारी दिन भन्दै सरकारले आयोजना गरेको उक्त सम्मेलनमा अमेरिकी कम्पनीहरू माइक्रोसफ्ट र अमेजनले पनि सहभागिता जनाउने लगानी बोर्डले जानकारी दिएको छ।

कम्प्युटर अपरेटिङ सिस्टममा एकल साम्राज्य खडा गरेको माइक्रोसफ्टका प्रतिनिधि उक्त सम्मेलनमा सहभागी हुनेछन्। त्यस्तै, अनलाईन सपिङ जायन्ट अमेजनका प्रतिनिधिले पनि भाग लिने बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार सम्मेलनमा चाइना रेल्वे, पावर चाइनाका प्रतिनिधि पनि आउने छन्।

विश्वभरका ४० देशबाट ६ सय बढी प्रतिनिधि आउने सम्मेलनमा थुप्रै प्रसिद्ध कम्पनीका उच्चपदस्थहरू सहभागी हुने अधिकारीले जानकारी दिए।

विश्वभरबाट आएका लगानीकर्तालाई नेपालको लगानीसम्बन्धी कानुनी व्यवस्था, बजारको अवस्था तत्काल लगानी मिल्ने आयोजनाका बारेमा विस्तृत जानकारी लगानी बोर्डले दिनेछ। दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा विभिन्न क्षेत्रगत सेसन चल्नेछन्।

लगानी बोर्डकाअनुसार म्यानमारका विदेश आर्थिक सम्बन्धन मन्त्री यू थाङटुन २८ जनाको प्रतिनिधि मण्डलसहित आउने छन्।

त्यस्तै, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, बहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकाय(मिगा)का प्रमुख कार्यकारी केइको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष पिटर लंकेस, एसियाली पूर्वाधार विकास बैंकका उपाध्यक्ष डोङली सहभागी हुनेछन्।

चीनबाट सबभन्दा बढी प्रतिनिधि आउँदै छन्।

२०७५ चैत १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्