News Portal

आजदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७७ पटक
काठमाडौं

चैत्र १८ काठमाडौँ – देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।
दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा विमानस्थल बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तनको यो अवधिमा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ ।

मर्मतको अवधि अर्थात (१ अप्रिल २०१९ देखि जुन ३०) सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला हुनेछ । आइतबारसम्म बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा थियो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महिना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनले विमानस्थल मर्मत अवधिमा नियमित उडानमा कुनै कटौती नहुने स्पष्ट पारेका छन् । क्यान अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलका अनुसार अप्रिल १ अर्थात सोमबार रातिदेखि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम सुरु हुनेछ । मर्मतका लागि सम्बन्धित ठकेदार कम्पनीले आवश्यक जनशक्ति र उपकरणका साथ पूर्व सम्भावित जोखिम व्यवस्थापनको तयारीसमेत गरेको निर्देशक पौडेलले बताए । पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनका साथमा राति धावनमार्ग बनाइनेछ ।

लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कँदा पटकपटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना बनाएको हो । देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरि भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको क्यानले जनाएको छ ।

 

२०७५ चैत १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्