News Portal

अटिजम सचेतना दिवस : अटिजम मानसिक समस्या होइन, शरीरको विशेष अवस्था मात्रै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०३ पटक
काठमाडौं

चैत्र १९ काठमाडौं – अटिजम सचेतना दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बौद्धिक अपाङ्गता अन्तर्गत पर्ने अटिजमको बारेमा सचेतना दिने र यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ ।

दिवसको अवसरमा यो वर्ष ‘सहयोगी प्रविधि, सक्रिय सहभागिता’ नारा तय गरिएको छ ।

अटिजम मस्तिष्कको विशेष अवस्था रहेको र यसले व्यक्तिको सञ्चार गर्न सक्ने क्षमता र सामाजिक सम्बन्ध स्थापित गर्न बाधा पु¥याउने गरेको डाक्टरले बताएका छन् । विश्वका हरेक ६८ जना नवजात शिशुमध्ये १ जनामा अटिजम हुने तथ्यांक छ ।

अटिजम बालिका भन्दा बालकलाई हुने सम्भावना पाँच गुणाले बढि हुने देखिएको छ । बालबालिका दुई वर्षको हुँदा नै अटिजम भए–नभएको थाहा पाउन सकिने डाक्टरले बताएका छन् ।

बालबालिका खेलौनासँग नखेले, खेल्ने कुरा लाइन बनाएर राखे, एकोहोरो भए अटिजम भएको हुन सक्छ । अटिजम जन्मजात बच्चामा देखिने एक प्रकारको अपांगता हो । यो जीवनभरसम्म रहने गर्छ । अटिजम हुनुको कारण वंशाणुगत मानिए पनि यसको मुख्य कारण अझै पत्ता लागेको छैन ।

अटिजम भएका बालबालिकाको आवाज नआउने, बोलेको कुरा ठेगान नहुने, छिनछिनमा रुने, हाँस्ने, जिद्दी गर्ने लगायतका बानी हुने भए पनि यो मानसिक समस्या भने नभएको विज्ञले बताउने गरेका छन् ।

अटिजम भएका बालबालिकामा चकचक हुने वा निष्क्रिय हुने, आफैले केही गर्न नसक्ने, अरुसँग नखेल्ने, बोलाए पनि जवाफ नदिने, नसुनेको जस्तो गर्ने, कुनै काम राम्ररी गर्न नसक्ने, एउटै कुरा बारम्बार बोल्ने, घाउ भए पनि प्रतिक्रिया नदिने, हात खुट्टा चलाइरहने लगायतका समस्या हुन्छ । अभिभावकले आफ्नो बालबालिकाको अवस्था बुझ्नु पर्ने उनीहरुको सुझाव छ ।

अटिजमलाई रोगको रुपमा नभएर शरीरको विशेष अवस्था रुपमा लिइन्छ । यसको उपचार नभएकाले बालबालिकाको व्यवहार परिवर्तन गर्ने र उनीहरुको क्षमता बुझेर प्रेरित गर्नु पर्ने विज्ञले बताएका छन् ।

२०७५ चैत १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्