News Portal

निर्मला हत्या प्रकरण : किन पक्राउ गर्यो प्रहरीले उनकी साथी रोशनी र अनितालाई ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६६४ पटक
काठमाडौं

भदौ ९, कञ्चनपुर – १३ वर्षीय निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले उनकी साथी रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरेको छ । यसअघि तारेखमा राखेपनि शनिबार उनीहरुलाई पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको हो । भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त गृहकार्य गर्न तथा नोटबुक लिनका लागि साइकल चढेर रोशनीको घर पुगेकी थिइन् । बलात्कारपछि उनको गत साउन १० गते हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर एसपी कुबेर कडायतले अनुसन्धानका लागि रोशनीका दिदीबहिनीलाई नियन्त्रणमा लिइएको बताए । भोलि अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धन गरिने उनले जानकारी दिए । पन्तको हत्या भएको एक महिनासम्म पनि प्रहरीले हत्याबारे ठोस अनुसन्धान गर्न सकिरहेको छैन ।

निर्मलाको साथी रोशनि र उनको दिदीलाई किन पक्र्यो यस्तो छ कारण   ?

गएको साउन १० गते साथी रोशनी बमको घरमा विज्ञान विषयको गृहकार्य गर्न गएकी निर्मलाको ११ गते बलात्कार गरी हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला घर नफर्किएपछि सबैको ध्यान रोशनीको परिवारमाथि गएको छ ।  निर्मलाकी आमा दुर्गादेवी पन्त अबेरसम्म नफर्किएपछि छोरी खोज्न रोशनीको घरमा जानुभएको थियो । छोरीको बारेमा रोशनीसँग साथीसँग सोधखोज गर्दा उनकी दिदीले आफूलाई हकारेको दुर्गाको भनाई छ ।

‘तिम्री छोरी कहाँ गई हाम्ले ठेक्का लिएका छौँ’ दुर्गाले भन्नुभयो ‘कतै पोइला गई कि ? आफ्नो माल कस्तो छ हेर्नु छैन । हाम्लाई आरोप लगाउने भन्दै बबिताले मलाई हकारिन ।’ छोरीलाई राख्न आफूलाई झुट बोलेका हुन सक्ने भन्दै आफूले भित्र हेर्न खोजे पनि भित्र पस्न नदिएको उनले बताइन  ।

‘पहिलो पटक एक्लै गएकी थिएँ । रोशनीले त निर्मला गइहाली भनिन्’ दुर्गाले भनिन, ‘भित्र हेर्न त मन थियो तर  बबिताले हकारेपछि त्यसै फर्किएँ ।’ फर्किएर घर पुग्दा पनि निर्मला नआएपछि उनी  फेरि छिमेकीसँग रोशनीको घर पुगिन्  । यो पटक पनि बबिताले त्यसरी नै हकारेपछि उनले रोशनीको घरमा निर्मला भएरनभएको हेर्दिनका लागि नजिकको अस्थायी प्रहरी चौकीमा गुहार माग्न गएको बताइन्  ।

‘मलाई किन–किन छोरी भित्रै छ जस्तो लागेर रोशनीको घरभित्रै हेर्ने मन थियो’, उनले भनिन् , ‘तर प्रहरीले पनि रातिमा अरुको घरभित्र हेर्न मिल्दैन भन्दै टार्यो ।’ सँगै पढ्ने साथी हराउँदा खोज्न जानु त परको कुरा उल्टै परिवारलाई हकारेपछि छरछिमेकीले पनि रोशनीको परिवारमाथि शंका गरेका छन् ।

उनीहरुले साउन ११ गते निम्बुखेडा खोलामा निर्मलाको साइकल भेटिएपछि बबिताले साइकल भेटिए शव पनि त्यहीँ वरपर हुन सक्ने बताएको भन्दै त्यसले अझ सशंकित बनाएको बताएका छन् । निर्मलाको शव भेटिएपछि पनि रोशनी (साथी) र बबिता (साथीकी दिदी) घटनास्थल नगएको परिवार तथा आफन्तको भनाई छ ।

निर्मलाको घटनाको प्रकृति र रोशनी (साथी) र बबिता (साथीकी दिदी) को प्रतिक्रिया पछि परिवार तथा स्थानीय बासिन्दाले उनीहरुमाथि पनि अनुसन्धान गर्नु पर्ने माग गर्दै आएका थिए ।

 

२०७५ भदौ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्