News Portal

वडाअध्यक्षले नातिलाई बोर्डिङबाट निकालेर सरकारीमा भर्ना गरे

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१४९ पटक
काठमाडौं

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले आफ्नो नाति प्रशन्न थापालाई बोर्डिङ स्कूलबाट छुटाएर सामुदायिक बिद्यालयमा भर्ना गरेका छन् । हालसालै पोखराको मदरल्याण्ड बोर्डिङ स्कुलबाट कक्षा ६ उत्तीर्ण गरेका प्रशन्नलाई वडाध्यक्ष थापाले शुक्रबार पोखराकै एक सामुदायिक बिद्यालयमा कक्षा ७ मा भर्ना गराएका हुन् ।

पछिल्लो समय सरकारी बिद्यालयमा बिद्यार्थीहरुको संख्या घट्दै गएको कुरालाई ध्यानमा राखेर त्यस्ता बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गराउन पनि प्रोत्साहन गर्ने उदेश्यले आफ्नो नातिलाई पनि सामुदायिक बिद्यालय शान्त माविमा भर्ना गरेको वडाध्यक्ष थापाले बताए ।

आफु जनप्रतिनिधि भएकाले पनि सरकारी तथा सामुदायिक बिद्यालयको गुणस्तर बृद्धि गराउन पहल गर्नु आफ्नो जिम्मेवारी भएको उनको भनाई छ । बिद्यार्थीका अभिभावकहरुले निजी बिद्यालयमा गर्ने लगानीको केहि प्रतिशत मात्रै सामुदायिक बिद्यालयमा गरेपनि बिद्यालयको शैक्षिक गुणस्तरमा उल्लेखनिय परिवर्तन हुने प्रशन्नका बाबु शिव थापाको भनाई छ । ‘निजी बिद्यालयमा हामीले गरेको आर्थिक लगानीको केहि प्रतिशत मात्रै सामुदायिक बिद्यालयमा लगानि गर्ने हो भने सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा पनि बोर्डिङको भन्दा कम हुँदैन’ प्रशन्नका बुबाले भने ।

यसैबीच, वडा अध्यक्ष थापाको यो कार्यको अहिले चौतर्फी तारिफ भईरहेको छ ।

२०७५ चैत २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्