News Portal

आफ्नै बच्चा अस्पतालमै छोडेर भागीन पूर्वसांसद साह

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६१९ पटक
काठमाडौं

काठमाडौँ – पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ जन्मिएको थाहा लागेपछि बच्चा अस्पतालमै छोडेकी छिन्। अस्पतालको लापरबाहीले त्यस्तो (शारीरिक विकास कम) हुने बच्चा जन्मिएको भन्दै उनले मेडिसिटी अस्पतालमा बच्चा छोडेकी हुन्।

फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी साहले दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहेकै अवस्थामा छोडेर हिडेकी हुन्।

उनले बच्चाको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेकी छन । ‘तीन र पाँच महिनामा बच्चाको शारीरिक परीक्षण गर्दा केही देखिएको थिएन,’ साहले भनिन्, ‘तर, जन्मेपछि यस्तो बच्चा आएपछि मैले अस्पतालको जिम्मामा छोडेकी हुँ।’ गर्भवतीलगत्तै उनले मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरेकी थिइन्।

लामो समय एनआइसियुमा राखी बच्चाको रगत परीक्षण गर्न भारत पठाइएको थियो। भारतबाट आएको रिपोर्टमा ‘डाउन सिन्ड्रोम’ देखिएपछि साहले अस्पतालमै बच्चा छोडेकी हुन्।

‘यस्तो बच्चा जन्माउन हुँदैन भन्ने राष्ट्रियरअन्तर्राष्ट्रिय कानुन छ, तर उहाँहरूले लापरबाही गरेकाले यस्तो बच्चा जन्मिन पुग्यो,’ उनले भनिन्, ‘त्यो भन्दा आठ महिनाअघि पनि त्यस्तै बच्चा रहेको थाहा पाएपछि मैले गर्भपतन गराएकी थिएँ।’

आफूले सो घटना पनि डाक्टरलाई बताएको तर डाक्टरले लापरबाहीपूर्वक बच्चाको शारीरिक जाँचमा त्रुटि गरेको आरोप उनले लगाइन्।

के भन्छ अस्पताल ?

बच्चा अहिले अस्पतालमै उपचारमा छन्। अस्पतालले भने लापरबाही नगरेको भन्दै सो बच्चा साहले नै जिम्मा लिनुपर्ने बताएको छ। ‘उहाँले केही असहमति राखेर बच्चा नलिने अडान राख्नुभएको छ, तर यस विषयमा कुराकानी भइरहेकै छ, उहाँले छोडिसक्नुभएको चाहिँ हैन,’ अस्पतालकी सूचना अधिकृत मनिता पोखरेलले भनिन्, ‘उहाँहरूसँग कुराकानी भइरहेको छ।’

साहले भनेजस्तो जाँच १४–१८ हप्तामा गर्नुपर्छ। साहको नियमित स्वास्थ्य परीक्षण गरिरहेकी मेडिसिटीकी डाक्टर मीरा सिंह श्रेष्ठले ‘डाउन सिन्ड्रोम’ टेस्ट नगरिएको बताइन्।

‘डाउन सिन्ड्रोम जाँच गर्ने नेपालमा कुनै प्रविधि छैन, प्रोटोकल नै छैन,’ श्रेष्ठले भनिन्, ‘उहाँहरूलाई पीडा परेकाले त्यस्तो लाग्नु स्वाभाविक हो।’

उनले नेपालका कुनै अस्पतालमा ‘डाउन सिन्ड्रोम’ परीक्षण नहुने बताइन्। ‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको स्वास्थ्य नीतिमा पनि यो परीक्षण जरुरी रहेको भनिएको छैन,’ उनले भनिन्।

२०७५ चैत २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्