
काठमाडौं – शाखा अधिकृत छैटौं तहका एक जना सरकारी कर्मचारीले कति कमाउन सक्छन होला ? उक्त तहको कर्मचारीको मासिक तलव स्केल करिब ३१ हजार पाँच सय छ । तर भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत (छैटौं तह) मानप्रसाद विकले भने वार्षिक ५१ लाखभन्दा बढी कमाउँने गरेको तथ्य अत्तियारले फेला पारेको छ ।
२०६६ साल असोज २२ गते नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको पदमा नियुक्त भएका विकले अहिलेसम्म तीन करोड १० लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको अख्तियारले जनाएको छ । अख्तियारले उनले गरेको खर्च तथा लगानीका आधारमा सम्पत्ति गणना गरेको हो ।
यस अवधिमा विकले जग्गा बिक्री तथा व्यापारबाट एक करोड २७ लाख रुपैयाँ वैध आम्दानी गरेको खुलाएका अख्तियारले जनाएको छ। विकले आफ्नो तथा श्रीमती आइतमाली विकका नाममा समेत जग्गा खरिद गरेको अख्तियारले जनाएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थामा दम्पतीको नाममा रकम मौज्दात रहेको पनि अख्तियारले फेला पारेको थियो।
अख्तियारले विक दम्पतीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। उनको सबै अवैध आर्जन जफत गर्न माग समेत अख्तियारले गरेको छ।
२०७५ चैत २८ गते प्रकाशित
