News Portal

कञ्चनपुरमा पुनः कर्फ्यु

राससकाठमाडौं
३५४ पटक
काठमाडौं

भदौ १०, कञ्चनपुर – कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान १० बजेपछि पुनः कर्फ्यु लगाइएको छ । भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कर्फ्यु लगाइएको हो । उक्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्याको घटनाले यहाँको स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले लगाउँदै आएको हो ।

यहाँको वातावरण केही सामान्य बनेकाले आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएकोमा अर्को आदेश नभएसम्म कर्फ्यु जारी रहने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए।

जनैपूर्णिमाको दिन भएकाले यहाँका सर्वसाधारण कर्फ्यु खुलेको समयमा बजारमा किनमेलका लागि निस्केका थिए । निर्मला काण्डमा प्रहरीले हत्यारालाई बचाउन खोजेको भन्दै एक सातादेखि स्थानीयवासी आन्दोलनमा छन् । शुक्रबार आन्दोलनरत पक्ष र प्रहरीबीच  झड्प हुँदा प्रहरीले चलाएको गोली लागेर भीमदत्तनगरपालिका–१८ का १४ वर्षीया बालक शनी खुनाको मृत्यु भएको थियो । शनिबार साँझ सरकारले मतृक शनीलाई शहीद घोषणा गर्दै परिवारलाई  दश लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई पनि  दश लाख दिने र आन्दोलनमा घाइते भएकाको निःशुल्क उपचार तथा अङ्गभङ्ग भएकालाई पनि सहयोग गर्ने बताइकाले वातावरण सहज हुने आकलन गरिएको छ ।

२०७५ भदौ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्