
भदौ ११ , काठमाडौं – सरकारी टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेर एकजना व्यापारीलाई पक्राउ गरेको हो । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो ।
व्यापारीहरुले सरकारी टोलीमाथि अभद्र व्यवहार र हुलहुज्जसमेत गरेपछि त्यहाँका व्यापारी रवि साहलाई पक्राउ गरिएको आपूर्ति मन्त्री मातृका प्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलले जानकारी दिएका छन् ।
यसअघि २०७३ असारमा अनुगमनमा पुगेका तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनसहितको टोलीमाथि त्यही बजारमा व्यापारी साहसहितले बन्दगोभी लगायत तरकारीले हानेका थिए ।
बल्खु तरकारी बजार कम्पनी ऐन अन्तरर्गत खोलिए पनि त्यहाँको अधिकांश कारोबार अवैध पाइएको हो । यसअघि सरकारले कालिमाटी तरकारी बजारमाा हस्तक्षेप गरेर त्यहाँ बिचौलियाले चलाएका ९८ वटा स्टल खारेज गर्ने निर्णय गरेको थियो ।
२०७५ भदौ ११ गते प्रकाशित
